काठमाडौं । सरकारका काम कारबाहीप्रति विपक्षी दलहरु रुष्ट भइरहेकाबेला प्रधानन्यायाधीस सिफारिसले न्याय क्षेत्रलाई समेत तरंगित बनाएको छ । संवैधानिक परिषद्को बहुमतले गरेको निर्णयलाई विभिन्न कोणबाट बहस भइरहँदा रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिरक्षामा उत्रिएका छन् ।
फागुन २१ को निर्वाचनपछि गठित रास्वपा नेतृत्वको सरकारको पहिलो निशानामा परे सुकुम्बासी बस्ती । हठात् काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलेपछि देशैभरका सुकुम्बासीहरु सडकमा उत्रिरहेका छन् । सर्वोच्च अदालतले समेत सुकुम्बासी बस्तीमा नभत्काउनु भनी अन्तरिम आदेश नै जारी गरेको छ ।
उता, अध्यादेश जारी गरेर कर्मचारी ट्रेड युनियनदेखि विद्यार्थी संगठनहरु पनि खारेज गरिएका छन् । अझ संवैधानिक परिषद् बैठकमा बहुमतको निर्णयले चौंथो बरियताका न्यायाधीसलाई प्रधानन्यायाधीसमा सिफारिस गरिएपछि न्याय क्षेत्रसमेत तरंगित बनिरहेको छ । कायममुकायम प्रधानन्यायाधीसले नै कार्यपालिकाको दबदबा स्वीकार्य नहुने भन्दै कार्यपालिकासँगको लडाईँ बाँकी नै रहेको भनी सार्वजनिक अभिब्यक्ति दिइन् ।
प्रधानमन्त्री बालेन र रास्वपा सभापतिबीच नै मतैक्य रहेको आशंका भइरहँदा रवि लामिछाने बालेको प्रतिरक्षामा उत्रिएका छन् ।
आइतबार आफ्ना सांसदहरुलाई प्रशिक्षण दिँदै उनले संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्दा परम्परा र विधि मिचेको भन्ने तर्कको खण्डन गरेका छन् । यदि यो विधि गलत हो भने संविधान संशोधनको बहस चलिरहेको भन्दै लामिछानेले वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने भनी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन् ।
न्यायालयको परम्परा अनुसार नै विगतदेखि हुने गरेको राजनीतिक भागबण्डालाई सरकारले तोडेको लामिछानेको तर्क थियो । आफूहरुलाई भागबण्डामा विश्वास नभएकाले यस्तो गरिएको रविको तर्क छ । उनले कायममुकायम प्रधाननयायधीस प्रधानको अभिब्यक्तिको समेत प्रतिवाद गर्दै चुनौतिसमेत दिएका छन् ।
डोजर आतंकको पनि प्रतिरक्षामा उत्रिए रवि
सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक मच्चाएको भनी सरकारको विरोध भइरहँदा रास्वपा सभापति रवि लामिछानले डोजर आतंकको पनि प्रतिरक्षा गरेका छन् । संविधानमा लेखिएका अक्षर पुराना दलको भए पनि त्यसको मर्म र भावनालाई आफूहरुले प्रतिनिधित्व गर्ने उनको भनाइ छ । सुकुम्बासीहरुको रक्षार्थ आफू डोजर अगाडि छाती थाप्न तयार रहेको पुरानो अभिब्यक्तिको स्मरण भइरहँदा लामिछानेले त्यही कुरा दोहोर्याएका छन् । उनले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको उल्लेख गरेका छद्धन् ।
सुकुम्बासी बस्तीमा डोजर चलाएर उठिबास लगाइए पनि त्यसको ब्यवस्थापन गर्ने उनको प्रतिवद्धता छ । अहिले अन्य राजनीतिक दलहरुले भूमिहीनहरूलाई उचालेको उनले आरोप लगाएका छन् । विगतमा सुकुम्बासीहरुलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको लामिछानेको तर्क छ ।
