News 24 Television
सक्षम सांसद बनाउन रास्वपाको तालिम !

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद अभिमुखीकरणलाई तिब्रता दिएको छ । सांसदहरुले संसदमा खेल्ने भुमिका र व्यवहारका विषय प्रधान छन् । शनिबार र आइतबार गरी दुई दिन रास्वपा सांसदलाई सक्षम सांसद, सशक्त संसद् विषयमा प्रशिक्षण दिइएको हो । यसले सांसदहरुको संसदीय भुमिका प्रभावकारी हुने विश्वास पार्टीले लिएको दाबी गरेको छ । दुई दिने प्रशिक्षणबाट रास्वपा सांसदहरुले के के कुरा सिके त ? 

‘जान्नेलाई छान्ने’ नारा दिएर फागुन २१ को चुनावमा झण्डै दुई तिहाई (१८२सिट)का साथ सत्ता सम्हालिरहेको रास्वपाले सांसदलाई नैतिक कडीमा बाँध्न अनेक जुक्ति लगाइरहेको छ । सांसदहरुले संसदमा खेल्नु पर्ने भुमिका, उठान गर्नुपर्ने विषय र प्रस्तुतीकरणका विषयमा रास्वपाले जोड गरेको हो । 

एक पटक मात्रै होइन, पटकपटक रास्वपाले सांसद अभिमुखिकरण कार्यक्रम आयोजना गर्दैछ । जसले जान्नेलाई छान्ने होइन कि अब जान्ने चाँही कसरी बनाउने भन्ने धेय रास्वपामा छ । प्रिइलेक्सन जस्ता अनेक विधि अपनाएर उम्मेदवार छनोट गरिने पार्टी विधानमै उल्लेख भए पनि गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा रास्वपाले पार्टी विधान विपरित उम्मेदवार छनोट गर्न हतारिएको थियो । जसको परिणाम यतिबेला भागिरहेको छ । 

त्यसैले आफ्ना सांसदहरुलाई रास्वपाले संसदीय सभ्यासदेखि नेतृत्व विकासको पनि पाठ पढाउँदैछ । ललितपुरको जाउलाखेलस्थित स्टाफ कजेलमा आइतबार सम्पन्न भएको २ दिने प्रशिक्षणमा सहभागी रास्वपाका नेताहरु बल्ल संसदीय अभ्यासको सिक्दै गरेको अनुभूति गरेका छन् । 

पहिलो दिन शनिवार रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्घय कविन्द्र बुर्लाकोटी र भुपदेव शाह र संसदीय दलको उपनेता गणेश पराजुलीले प्रशिक्षण दिएका थिए ।

दोस्रो तथा अन्तिम दिन आइतबार पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरेर सांसदहरुलाई नैतिकताको पाठ पढाए । योसँगै उनले पार्टी भित्र गुटबन्दीमा लाग्ने, पार्टीको निर्देशन र कार्यदिशा पालना नगर्ने जस्ता विषयमा गम्भिर हुन सांसदहरुलाई निर्देशन दिए ।  

यसअघि पनि सांसदको सपथ लगत्तै चैत ३ र ४ गते रास्वपाले आफ्ना सांसदहरुलाई दुई दिने प्रशिक्षण दिएको थियो । जतिबेला उल्लेख्य सहभागिता देखियो पनि । उक्त प्रशिक्षणमा नवनिनिर्वाचित सांसदलको निकै चाखलोग्दो ढंगले उपस्थित हुँदा खुबै चर्चा पायो । पार्टी सभापति लामिछानेले सांसदहरुलाई पार्टी विधानमा ‘राइट टु रिकल’को समेत ब्यवस्था भएको भन्दै सचेत गराएका थिए । तर सांसदहअरुको ब्यवहारमा उल्टो देखियो । 

ओखल्ढुंगा–१ बाट निर्वाचित सांसद विश्वराज पोखरेलले गृहजिल्ला जाँदा देखाएको अस्वभाविक व्यवहारले चौतर्फी आलोचना खेप्नु पर्यो । अहिले पुनः रास्वपा नेतृत्वले आफ्ना सांसदहरुलाई नैतिकताको पढाएका छन् । यद्यपी प्रशिक्षणप्रति नै सांसदले ब्यवास्ता गरि ठूलो संख्यामा सांसदहरु अनुपस्थित रहेका थिए । उपस्थितिको विषयलाई कारबाहीको डण्डा लगाउनेसम्मको चेतावनी दिइएको थियो । यसले प्रशिक्षण कार्यक्रमको औचित्य माथि प्रश्नचिन्ह खडा भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update