News 24 Television
लोकप्रिय तीन अनुहार : बालेन सत्तामा, कुलमान सडकमा, हर्क प्रतिपक्षमा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनपछि नेपाली राजनीतिमा तीन लोकप्रिय अनुहार फरक–फरक मोर्चामा उभिएका छन् । रास्वपाको बहुमतसँगै बालेन शाह सत्तारोहणको संघारमा छन् भने कुलमान घिसिङ सडकबाटै सरकारलाई चुनौती दिने तयारीमा देखिएका छन् । यता हर्क साम्पाङ संसदमा प्रतिपक्षको भूमिकामा उत्रिएका छन् । जनताले एउटै लयमा देख्न चाहेका यी तीन पात्र अब छुट्टाछुट्टै बाटोमा सक्रिय हुँदा नयाँ राजनीतिक समिकरण र अपेक्षाको परीक्षा सुरु भएको छ । 

नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट रवि र बालेनको केन्द्रीयतामा रास्वापाले अत्यधिक बहुमत लियो । विगतमा पुराना दल काँग्रेस, एमाले, माओवादीको शासन हुँदा जनतामाझ लोकप्रिय र चर्चामा रहने पात्र थिए– बालेन, कुलमान घिसिङ र हर्क साम्पाङ । यी पात्रलाई केन्द्रीय सत्तामा गएको हेर्न चाहने जनमत पनि राम्रै थियो । यी सबै मिलेर जानुपर्ने धेरैको चाहना भए पनि समयले फरकफरक भूमिका पुर्याएको छ । चुनावी गठजोड र नतिजाले यी तीन पात्रलाई तीनतिर पारेको छ । रास्वपासँग मिलेर गएपछि बालेन प्रधानमन्त्रीका प्रमुख दाबेदार बनी सत्तारोहणको क्रममा छन् । तर रास्वपसँग एकता गरेर केही दिनमै अलग भएका कुलमान निर्वाचनमा पराजित भई सडकमा पुगेका छन् । हर्कले पनि अलग्गै पार्टी खोलेर चुनावमा रास्वपा र एमाले–काँग्रेसलगायत दलसँग प्रतिस्पर्धा गरे, फलस्वरुप उनी संसदमा त पुगे तर प्रतिपक्षको भूमिकामा । 

बुधबार एक कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमानले सडकबाटै सरकार चलाउने दाबी गरे । उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताए । देशलाई सही बाटोमा लैजानका लागि सरकारलाई खबरदारीको काम गर्ने, जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा उदय हुने उनको जिकिर छ ।

उता, श्रम संस्कृति पार्टीका अध्यक्ष हकले आफ्नो पार्टी सत्तामा नजाने बताएका छन् । पछिल्लो समय बालेनको खरो आलोचना गर्दै आएका हर्कले बालेनभन्दा बरु रवि लामिछाने प्रधानमन्त्री हुनुपर्ने बताउँदै आएका थिए । उनले अब बालेन नेतृत्वको सरकारलाई खबरदारी गर्दै संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । बिहीबार सांसदको सपथ समारोहमा सहभागी हुन आज सिंहदरबारस्थित संसद् भवन पुगेका हर्कले सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताए ।

बिहीबार नवनिर्वाचित सांंसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । यसपाली नयाँ दल मात्र हैन अधिकांश नयाँ र युवा अनुहार संसदमा देखिएका छन् । सीमित दलका न्यून सदस्य मात्रै दोहोरिएका छन् । पुराना ठूला दल काँग्रेस र एमालेको त शीर्ष नेतृत्व नै सदनमा छैन । यसपटक  रास्वपा, नेकपा र श्रम संस्कृति पार्टीका नेतृत्व मात्रै सदनमा छन्, राप्रपाको पनि शीर्ष नतृत्व पराजित भएपछि सदनमा छैन । 

तीन अनुहार तीनतिर

सत्तामा बालेन : रास्वपाको भारी बहुमत र बालेन शाहको नेतृत्वले अब ‘गफ भन्दा काम बढी’को भाष्यलाई प्रमाणित गर्नुपर्ने दबाबमा छ । बालेनका लागि अब सडक र सामाजिक सञ्जालबाट प्रश्न गर्ने सुविधा छैन, उनले नीतिगत निर्णय र कार्यान्वयनबाट नतिजा दिनुपर्नेछ ।

सडकमा कुलमान : कुलमान घिसिङ सधैँ ‘डेलिभरी’को नायक बनिरहे । विगतमा विद्युत प्राधिकरणको नेतृत्वमा हुँदा उनको कामलाई जनताले औधी रुचाएका थिए । यदि नयाँ सत्ताले उनलाई उचित स्थान वा स्वायत्तता दिएन भने उनी नागरिक समाज र सडकको एउटा यस्तो शक्ति बन्नेछन् जसले सरकारलाई ‘परफर्मेन्स’ को ऐना देखाइरहनेछ ।

प्रतिपक्षमा हर्क : हर्क साम्पाङको कार्यशैली सधैँ ‘विद्रोही’ र ‘भुइँमान्छे’को जस्तो रहिआएको छ । उनी श्रमका प्रतीक, काममा विश्वास गर्ने र इमानदार पात्र मानिन्छन् । उनी सदनभित्र भए पनि सत्ताको लोभ–लालचमा नपरी सशक्त प्रतिपक्षको भूमिकामा रहन सक्छन् । 

समग्रमा, नेपाली जनताले यी तीनै पात्रलाई एउटै लयमा हेर्न चाहेका थिए र छन् । बालेनको भिजन, कुलमानको विज्ञता र हर्कको श्रमसंस्कृति एकाकार भएमा नयाँ नेपालको खाका कोर्न सकिनेमा आशा गर्न सकिन्छ । अन्यथा, यिनीहरूका अलग–अलग बाटोले जनतामा फेरि अर्को निराशा पैदा गर्न सक्छ । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update