News 24 Television
कालीगण्डकीमा ¥याफ्टिङको ठूलो योजना । पर्यटन र रोजगारीमा नयाँ सम्भावना

कास्की । पोखरा भ्रमण वर्ष अन्तर्गत कालीगण्डकी नदीमा एकदिने ह्वाइट वाटर ¥याफ्टिङ सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । पोखराबाट एक घण्टाको दूरीमा पर्ने बेनी क्षेत्रलाई नेचर, कल्चर र एडभेन्चरसँग जोड्दै पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य लिइएको यो योजनाले स्थानीय रोजगारी, व्यवसाय विस्तार र बहुदिने टुर प्याकेज विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ  । 

पोखरा भ्रमण वर्ष २०२५–०२६ अन्तर्गत पर्यटकको बसाई लम्ब्याउने तथा नेचर, कल्चर र एडभेन्चरका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा भ्रमण वर्ष समितिले म्याग्दीको बेनीमा कालीगण्डकी नदीमा एक दिने ह्वाइट वाटर ¥याफ्टिङ सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ । 

पोखराबाट करिब एक घण्टाको दूरीमा रहेको बेनी पर्वत, बागलुङ र म्याग्दी जिल्लालाई जोड्ने कालीगण्डकी नदीको किनारमा पहाड, धार्मिक स्थल, ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरता एकसाथ पाइन्छ । पोखरा विश्वमै ’एडभेन्चर हब’ बन्ने क्षमता बोकेको शहर हो । तर शहरभित्रका गतिविधिमात्र पर्याप्त छैनन् । 

प्याराग्लाइडिङ, जिप–फ्लायर र अल्ट्रालाइटसँगै एक घण्टाको दूरीमा विश्वस्तरको ह्वाइट वाटर ¥याफ्टिङ थपिएमा पर्यटकलाई कम्तिमा तीन दिनसम्म रोक्न सकिने पर्यटन व्यवसायीको बुझाइ छ । 

सुरुआतमा एक दिने ¥याफ्टिङ प्याकेजबाट आरम्भ गरी पछि ’राफ्टिङ–ट्रेक–क्याम्पिङ’सहितको दुई–तीन दिने मल्टिडेस्टिनेसन टूर विकास गर्न सकिएमा क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुग्ने भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराई बताउँछन् ।

ह्वाइट वाटर ¥याफ्टिङको विकासले स्थानीय समुदायलाई प्रत्यक्ष रोजगारी, होटेल व्यवसाय, यातायात, गाइड, क्याम्पिङ सेवा, र स्थानीय उत्पादनको बजार विस्तार जस्ता अवसर बढाउने विश्वास लिइएको छ । धार्मिक गन्तव्य ‘कालीगण्डकी’सँग जोडिएको ‘साहसिक पर्यटन’ नयाँ ब्रान्ड बन्न सक्ने र यहाँ मध्यम प्रकारको साहासिक खेलकुद गन्तब्यको रुपमा विकास गर्न सकिने नेपाल ¥याफ्टििङ एण्ड क्यानोनिङ संघका अध्यक्ष विरेन्द्र लामा बताउँछन् ।

¥याफ्टिङका क्रममा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको छ । लाइफ ज्याकेट र हेल्मेट अनिवार्य गरिएको र यात्रा अघि पूर्व–सुरक्षा जानकारी दिने व्यवस्था मिलाइएको ¥याफ्टिङ रनरका गाइड उज्ज्वल गुरुङ बताउछन । 

नदीको बहाव र मौसमको अवस्था बुझेर मात्र यात्रा सुरु गरिने र प्रशिक्षित गाइडको निर्देशनमा मात्र ¥याफ्टिङ गर्न पाइने व्यवस्था रहेको उनको भनाइ छ ।

पोखरा–बेनी सडक सुगम बन्दै गएको र प्राकृतिक वातावरण संरक्षित रहेको अवस्थामा यो परियोजना सम्भावनायुक्त मानिएको छ । सुरक्षा पूर्वाधार निर्माण, तालिमप्राप्त गाइड परिचालन र स्थानीय समुदायको सहभागितामा कालीगण्डकीलाई अन्तर्राष्ट्रिय स्तरको ¥याफ्टिङ गन्तव्य बनाउन सकिने अपेक्षा गरिएको छ । 

पोखरा भ्रमण वर्षको यो पहलले साहसिक पर्यटनको नयाँ आयाम थप्दै पर्यटकको बसाई लम्ब्याउने र वरपरका जिल्लामा समेत आर्थिक गतिविधि विस्तार गर्ने नयाँ सम्भावनाको ढोका खोलेको छ । 

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update