कास्की । पर्यटकीय नगरी पोखरामा साहसिक खेल प्रवद्र्धन गर्ने उद्देश्यले “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । चैत २७ र २८ गते हुने प्रतियोगिताले एड्भेन्चर स्पोर्टस् र खेल पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
केही समययता पर्यटकीय शहर पोखरा साहसिक खेल क्षेत्रको पनि हब बन्ने क्रममा छ । प्याराल्लाइडिङ अन्तर्राष्ट्रिय च्याम्पियनसिप, स्काईड्राइभ, अन्तर्राष्ट्रिय इन्डुरो माउन्टेन माउन्टेन बाइक जस्ता विभिन्न प्रतियोगिताहरु सञ्चालन हुँदै आएको पोखरामा “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप’’ आयोजना गरिने भएको छ । यही चैत २७ र २८ गते कास्कीको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना गर्न लागिएको हो ।
यो विशेषगरी डर्ट बाइक (अफ–रोड मोटरसाइकल) प्रयोग गरी चुनौतीपूर्ण प्राकृतिक भू–भागमा खेलिने खेल हो । प्रतियोगितामा राष्ट्रिय स्तरका र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडी अफ–रोड राइडरहरूको सहभागिता रहने छ ।
अहिलेसम्म ६१ जना राइडरहरू दर्ता भइसकेको
आयोजक एड्भेन्चर स्पोर्टस् हब नेपालले जनाएको छ । प्रतियोगिताको अभ्यास तथा ट्रयाक परीक्षणका लागि चैत २ गतेदेखि नै ट्रयाक खुला गरिसकीएको छ । अहिले उक्त ट्रयाकमा राइडरहरुले दिनहु अभ्यास गरिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा निकै प्रख्यात खेल भए पनि नेपालमा कमै मात्र हुने यो मोटो इन्डूरो खेलाउन धेरै चुनौती रहेको च्याम्पियससिपका रेस डाइरेक्टर तथा एड्भेन्चर स्पोर्टस् हब नेपालका डिरेक्टर जगत धोली बताउँछन् ।
मध्यपूर्वको द्वन्द्वका कारण अपेक्षाकृत अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता नहुने भएको छ । मध्यपूर्व द्वन्द्वका कारण अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता कमी हुने आयोजकले जनाएको छ । जोखिम र चुनौती रहने यो खेलमा आयोजकले खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।
यस्ता साहसिक खेलले नेपालमा एड्भेन्चर स्पोर्टस्को विकास, खेलकुदको प्रवद्र्धन तथा स्पोर्टस् टुरिजमलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । विशेषगरी पोखरालाई एड्भेन्चर स्पोर्टस् र खेल पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने पोखरेलीहरुको विश्वास छ ।
प्रतियोगिता ४.८ किलोमिटर लामो विशेष ट्रयाकमा पुरुष र महिला दुवै विधामा खेल खेलाइने आयोजकले जनाएको छ । प्रतियागितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।
