काठमाडौं । पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरानबीच दुई साताको युद्धविराम लागू भए पनि लेवनानमा जारी आक्रमणका कारण त्यसको विश्वसनीयता कमजोर बनेको छ । यसैबीच शनिबार इस्लामावादमा हुने उच्चस्तरीय वार्ताले विश्वको ध्यान खिचेको छ । स्ट्रेट अफ हर्मुज अवरुद्ध भई तेल आपूर्ति प्रभावित हुँदा विश्व अर्थतन्त्र दबाबमा परेको छ । कडा सुरक्षाबीच हुने वार्तामा दुवै पक्ष आफ्ना शर्तसहित सहभागी हुँदै सम्भावित समाधानको खोजीमा केन्द्रित हुने विश्वास गरिएको छ ।
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम लागू भएपनि दुवै देश र इजरायलले लेवनानमा जारी राखेको आक्रमणका कारण यो युद्धविराम भरपर्दो देखिएको छैन । यद्यपी पाकिस्तानकै मध्यस्थतामा शनिवार इस्लामावादमा अमेरिका र इरानबीच वार्ता हुँदैछ । स्ट्रेट अफ हर्मुज अबरुद्ध हुँदा विश्वव्यापीरुपमा पेट्रोलिय पदार्थमा समस्या आएपछि अहिले दुई देशको युद्धका कारण विश्व नै आक्रान्त छ । त्यसैले पनि यो वार्ताप्रति विश्वकै ध्यान खिचिएको छ ।
वार्ता हुने ह्वाइट हाउसले पनि पुष्टि गरिसकेको छ । वार्ताको तयारीका लागि पाकिस्तान दु्रत गतिमा लागेको छ । इश्लामावादमा विदाहरु दिइ सकिएको छ । सहरभित्र कडा सुरक्षाका साथै वार्तास्थल सेरेना होटलमा सिल गरिएको छ भने राजधानी प्रवेशमा मुख्य नाकाहरु पुरै बन्द गरिएको छ ।
वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन् भने इरानी टोलीको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाकर गलिबाफले गदैछन् । वार्ताका लागि अमेरिकी टोली उपराष्ट्रपति भान्सको नेतृत्वमा आउने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बुधवार जानकारी दिएकी छन् ।
वार्ता इरानको १० बुँदे प्रस्तावमा आधारित हुने बताइएको छ । यसमा प्रतिबन्ध खारेज, युरेनियम सम्वद्धर्न स्वीकार, पश्चिम एसियाबाट अमेरिकी सेना फिर्ता, युद्धको क्षतिको भरपाइ र स्थायी शान्ति सम्झौता लगायत इरानका मुख्य एजेन्डा छन् । अमेरिकाले भने इरानको युरेनियम स्टक हटाउने, मिसाइल कार्यक्रम नियन्त्रण र क्षेत्रीय सहयोगीहरूलाई सहयोग रोक्ने माग राख्दै आएको छ ।
वार्ताबाट निस्कने निकास !
दुई देशबीचको वार्ता कस्तो होला भन्ने सर्वत्र चासो छ । धेरै विषयमा दुई देशबीच मतभेद रहेपनि युद्धका कारण दुवै देश दबाबमा छन् । युद्धविरामका लागि इरानलाई चीनले समेत दबाब दिएको दाबी गरिदै आएको छ ।
चीनकै कारण पाकिस्तानले मध्यस्थताको भूमिका बढाएको र वार्तासम्मको अवस्था बनेको आंकलन भइरहदाँ अमेरिका इरान वार्ताबाट सकारात्मक नतिजा आउन सक्ने विश्वास गरिएको छ । वार्ता सकरात्मक हुँदा मध्यपूर्वको स्थिरता र तेल आपूर्ति सुनिश्चित हुने हुँदा बाँकी विश्व पनि लाभान्वित बन्छ ।
वार्ता सकरात्मक बनाउन अमेरिकालाई तेल मूल्य वृद्धि, बजार अस्थिरता र मिडटर्म चुनावी दबाब छ भने इरानलाई आर्थिक प्रतिबन्ध, पूर्वाधार क्षति र क्षेत्रीय सहयोगीहरूको दबाब छ ।
पाकिस्तानले दुवैलाई वार्ताको टेबलमा ल्याएर आफ्नो कूटनीतिक भूमिका मजबुत पारेको छ । यो वार्ताले दीर्घकालीन शान्ति स्थापना गर्न सक्छ वा अर्को संकट निम्त्याउन सक्छ त्यो इस्लामावादको नतिजा कुर्नु पर्छ ।
