News 24 Television
तीन महाशक्ति एउटै टेबलमा, पुटिन मनाउन ट्रम्प र सीको चाल !

काठमाडौं । विश्व राजनीतिलाई नयाँ मोड दिन सक्ने गरी अमेरिका, रुस र चीनका राष्ट्रप्रमुख एउटै टेबलमा बस्दैछन् । ट्रम्प, पुटिन र सीबीच हुने ऐतिहासिक भेटवार्ताले आणविक हतियारको होड रोक्नेदेखि युक्रेन युद्ध र मध्यपूर्वको तनाव अन्त्य गर्नेसम्म कस्तो प्रभाव पार्ला भन्ने विश्वव्यापी चासो बढेको छ । 

अमेरिका, रुस र चीनका राष्ट्रप्रमुख एउटै टेबलमा बस्ने खबरले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । आणविक हतियारको होड, युक्रेन युद्ध, मध्यपूर्वको तनाव र विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताबीच हुन लागेको यो भेटवार्तालाई सामान्य कुटनीतिक जमघट मात्रै मानिएको छैन । विश्व व्यवस्थालाई प्रभावित पार्ने तीन शक्तिको सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्ने प्रश्नसँगै यो भेटवार्तामा विश्वको भविष्यसमेत जोडिएको छ । 

करीब तीन वर्षदेखि युद्धको चपेटामा परेको युक्रेन, इजरायल र मध्यपूर्वमा जारी तनाव, आणविक अस्त्रको बढ्दो जोखिम र अमेरिका–चीनबीचको रणनीतिक प्रतिस्पर्धा, यी सबै संकटको केन्द्रमा रहेका तीन शक्तिशाली राष्ट्रका नेताहरू एउटै मञ्चमा उभिने तयारीमा छन् । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको सेन्जेनमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन एपेक शिखर सम्मेलनका क्रममा त्रिपक्षीय भेटवार्ता हुने ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै ट्रम्पको चीन भ्रमणको अन्त्य अमेरिकी, रुसी र चिनियाँ राष्ट्रपतिबीचको ऐतिहासिक भेटवार्ताबाट हुने बताएकी छन् । उनका अनुसार ट्रम्पले विश्वमा आणविक अस्त्र कटौतीको विषयलाई प्राथमिकताका साथ उठाउनेछन् । 

आणविक हतियारको विस्तारलाई उनले अत्यन्त खतरनाक मानेको प्रवक्ता वेल्सको भनाइ छ । यो भेटको महत्व किन पनि विशेष मानिएको छ भने विश्वको सबैभन्दा ठूलो आणविक शक्ति अमेरिका र रुस तथा तीव्र गतिमा आफ्नो सामरिक क्षमता विस्तार गरिरहेको चीन एकै ठाउँमा हुँदैछन् । यी तीन देशबीचको सम्बन्धमा सुधार आउँदा विश्व राजनीतिमा तनावको एउटा महत्वपूर्ण कारण नै कमजोर हुन्छ । त्यसैले पनि हुनलागेको यो ऐतिहासिक भेटवार्तालाई विश्वले नै चासोका साथ हेरिरहेको छ । 

आणविक हतियारको होड !

यो बैठकको सबैभन्दा संवेदनशील विषय आणविक हतियार नियन्त्रण हो । अमेरिका र रुसबीचको न्यू स्टार्ट आणविक अस्त्र नियन्त्रण सन्धि सन् २०२६ फेब्रुअरी ५ मा समाप्त भइसकेको छ । यससँगै पाँच दशकभन्दा लामो समयदेखि कायम अमेरिकी–रुसी रणनीतिक आणविक हतियार नियन्त्रणको व्यवस्था कमजोर बनेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई नयाँ सम्झौताका लागि तत्काल वार्तामा फर्कन आग्रह गरेका छन् । अमेरिका र रुससँगै चीनलाई पनि आणविक हतियार नियन्त्रणको दायरामा ल्याउन सकिएला भन्ने पनि मुख्य प्रश्न हो । 

चीनको आणविक क्षमता विस्तार भइरहेको अमेरिकी चिन्ता छ । यस्तो अवस्थामा तीनै देशबीच पारदर्शिता, हतियारको सीमा, परीक्षण नियन्त्रण र आपसी विश्वास निर्माणमा सहमति भयो भने त्यसको लाभ अमेरिका, रुस र चीनलाई मात्रै हुँदै पुरै विश्वलाई नै हुन्छ । तर यहि एउटा भेटले आणविक हतियार घटाउने विषयलाई कार्यान्वयनको चरणमा लगिहाल्दैन र बैठकबाट तत्काल यो अपेक्षा पनि गरिएको छैन । तर पनि आशन्न यो भेटवार्तालाई अमेरिकी अधिकारीले तीन देशका नेतास्तरको पहिलो संवादको प्रवेशबिन्दुका रूपमा व्याख्या गरेका छन् । 

मध्यपूर्वको युद्धमा चासो 

यो भेटवार्ता लक्षित अर्को चासोको विषय हो इरानसँग जोडिएको युद्ध र क्षेत्रीय तनावले विश्व अर्थतन्त्रलाई पारेको दबाब । ट्रम्पले त्रिपक्षीय बैठकमा इरानको विषय उठाउने अमेरिकी अधिकारीले बताएका छन् । 

चीन र रुस दुवैको इरानसँग रणनीतिक सम्बन्ध रहेकाले यो युद्ध अन्त्यका लागि उनीहरुको भूमिका महत्वपूर्ण हुन सक्छ । मध्यपूर्वको तनाव कम गर्न तीन शक्तिबीच समझदारी बनेमा युद्ध विस्तारको जोखिम घटाउन, कूटनीतिक संवाद अघि बढाउन र ऊर्जा आपूर्तिमा स्थिरता ल्याउन सहयोग पुग्न सक्छ । तर इरान, इजरायल र अन्य क्षेत्रीय पक्षहरूको आफ्नै सुरक्षा स्वार्थ तथा राजनीतिक अडान भएकाले ट्रम्प, पुटिन र सीबीचको समझदारीले मात्रै पनि युद्ध अन्त्य हुन्छ भन्न सकिन्न । 

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार मध्यपूर्वको युद्धले ऊर्जा, व्यापार र वित्तीय प्रणालीमा विश्वव्यापी असर पारेको छ । विश्वको करिब २५ देखि ३० प्रतिशत तेल र २० प्रतिशत तरल प्राकृतिक ग्यास ओहोरदोहोर हुने होर्मुज जलमार्गमा अवरोध आउँदा तेल, ग्यास, मल, ढुवानी र खाद्यान्नको मूल्यवृद्धिमा ठूलो दबाब परेको छ ।

युक्रेन युद्ध र त्रिपक्षीय भेट !

युक्रेन युद्ध अन्त्य गर्ने विषय भने यो त्रिपक्षीय बैठकको औपचारिक कार्यसूचीमा नरहेको अमेरिकी अधिकारीले बताइसकेका छन् । चीन यो विषयमा अमेरिका–रुसबीच भइरहेको छुट्टै वार्ताको हिस्सा नभएको अमेरिकी पक्षको भनाइ छ । तर युक्रेन युद्धमा रुसको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदारमध्ये चीन पनि भएकाले बेइजिङको भूमिका उपेक्षा गर्न सकिँदैन ।

यसैबीच युक्रेन शान्ति वार्तामा युरोपलाई समेत सहभागी गराउने विषयमा नयाँ घटनाक्रम विकसित भएको छ । अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँग मस्कोमा भएको भेटपछि पुटिन युरोपेली प्रतिनिधिहरूलाई अर्को चरणको वार्तामा सहभागी गराउन सहमत भएको विटकफले बताएका थिए । नोभेम्बर १३ मा रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोफले युरोपले शान्ति प्रक्रियामा योगदान दिन चाहेको स्पष्ट हुनुपर्ने बताएका छन् । 

यसअघि अबुधाबीमा भएको पछिल्लो वार्तामा केही प्रगति भए पनि भूभागसम्बन्धी विवादमा निर्णायक सहमति हुन सकेको छैन । युक्रेन युद्धले युरोपको सुरक्षा संरचनासँगै विश्वको खाद्यान्न आपूर्ति, ऊर्जा बजार, रक्षा खर्च र अन्तर्राष्ट्रिय व्यापारलाई समेत प्रभावित गरेको छ । त्यसैले कार्यसूचीमा नरहेपनि यो विषयमा पनि साइडलाइन वार्ता हुन सक्ने आंकलन गरिएको छ । 

तीन शक्ति राष्ट्रको सम्बन्धको प्रभाव !

अमेरिका, रुस र चीनबीचको सम्बन्ध सुध्रिएमा विश्वका लागि धेरै राहत हुन्छ । आणविक जोखिम न्यूनीकरण, युद्ध रोक्ने कूटनीतिक पहल, ऊर्जा बजारको स्थिरता, व्यापारिक अवरोध कम गर्ने प्रयास र जलवायु परिवर्तनजस्ता साझा चुनौतीमा सहकार्यको ढोका खुल्न सक्छ । तर यी तीन देशबीचको सम्बन्ध सुमधुर बन्न त्यति सहज छैन । 

ताइवान, दक्षिण चीन सागर, व्यापारिक प्रतिस्पर्धा, प्रविधिमाथिको नियन्त्रण र विश्व शक्तिको नेतृत्वजस्ता विषयमा उनीहरूका आ–आफ्नै स्वार्थ छन् । त्यसैले यही एउटै भेटले तत्काल ठोस सम्झौता हुने सम्भावना देखिन्न । तरपनि सेन्जेनमा हुने यो भेटवार्ता विश्व शान्तिको नयाँ अध्याय बन्ने हो वा तीन महाशक्तिको रणनीतिक शक्ति प्रदर्शनमै सीमित रहने हो त्यो त्रिशक्ति राष्ट्रको बैठकपछि लिने निर्णयले निर्धारण गर्नेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update