काठमाडौं । सरकारी संयन्त्रलाई निगरानीमा राख्न नसक्दा सहकारी सञ्चालकहरु नै बचतकर्ताको अर्बौं रकम ठगेर फरार भएका छन् । कतिपय इन्टरपोलको फरार सूचीमा समेत छन् ।
नेपालमा सहकारीको अर्बौं रकम ठगेर फरार भएका ९ जना विरुद्ध अहिले इन्टरपोल मार्फत् रेड नोटिस जारी भएको छ । बचतकर्ताको रकमले निजी व्यवसाय चलाउने र रकम नै विदेश पु¥याउनेहरू अहिले इन्टरपोलको फरार सूचीमा रहेका हुन् । नेपाल बाहिर रहेका उनीहरु अहिलेसम्म इन्टरपोलको राडरबाट बाहिर छन् ।
चालिस सहकारीको करिब ८३ अर्ब जोखिममा रहेको तथ्य सहकारीको रकम अपचलन सम्बन्धि संसदीय छानविन विषेश समितिले २०८१ सालमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसयता पनि सहकारीको रकम अपचलन हुँदा अन्य थुप्रै सहकारीका वचतकर्ताले निक्षेप फिर्ता पाउन सकेका छैनन् । यहाँका २३ वटा सहकारी संस्थालाई सरकारले समस्याग्रस्त सहकारी घोषणा नै गरेको छ । संसदीय छानबिन समितिको प्रतिवेदनकै आधारमा रास्वपा सभापति रवि लामिछानेको कारबाही प्रक्रिया अघि बढेको थियो । अन्य केही अहिले पनि थुनामा छन् भने केही फरार सूचीमा राखिएका छन्।
इन्टरपोलबाट खोजी गरिएकाहरु को कहाँ छन् ?
सहकारीमा वचतकर्ताले राखेको पैसा दूरुपयोग गर्दै विना धितो निजी व्यवसाय तथा विदेशमा लगेर राख्नेहरु मध्य ठूलो रकम अपचलन गरि फरार भएकाहरुविरुद्ध प्रहरीले इन्टरपोल मार्फत नै खोजी गरिरहेको छ । सहकारीको रकम अवैध रुपमा अपचलन गरेर करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका ९ जनाविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भएको छ ।
१. जीबी राई
– आरोपी मध्यका एक हुन्, गितेन्द्र बाबु राई उर्फ जीवी राई । राईले संचालन गरेको करिब १२ कम्पनीमा अधिकांश पैसा सहकारीकै भएको अनुसन्धानबाट खुलिसकेको छ।राईले आर्जन गरेको सम्पत्तिमा १ अर्ब ८६ करोड भन्दा बढी ६ वटा सहकारीकै रकम अपचलनबाट आर्जन गरेको देखिएको हो।तर राई नेपालमा अनुसन्धान चल्दै गर्दा फरार भए।
राईकाविरुद्ध इन्टरपोल मार्फत रेड नोटिस नै जारी भएको छ ।इन्टरपोलको रेकर्ड अनुसार २०८१ साल जेठ ११ गतेसम्म जीवीले मलेसियाबाट म्यासेज रिसिभ गरिरहेको देखिएको थियो । त्यसपछि गत फागुन महिना सम्म इन्टरपोलले राई कहाँ छन् भन्ने कुनै सूचना पाएको छैन। राईकाविरुद्ध पाँच वटा सहकारीको रकम अपचलन र १ अर्ब ८६ करोड भन्दा बढी सम्पत्ति शुद्धीकरणकै मुद्दा छ।
२. भरत महर्जन
– नेपालमा सहकारीको पैसा अपचलन गरेर इन्टरपोल मार्फत खोजी भैरहेका अर्का व्यक्ति हुन सुमेरु सहकारीको पैसा दूरुपयोग गर्ने भरत महर्जन। सुमेरु सहकारीको ७ अर्ब भन्दा बढी रकम दूरुपयोग गरेको आरोप लागेका महर्जन २०८० माघ १९ गते बेलायत भएको इन्टरपोलको रेकर्डमा छ । तर पनि उनलाई स्वेदश ल्याएर वचतकर्ताको रकम फिर्ता गराउन सकिएको छैन ।
३. भूपेन्द्र राई
– कास्कीको सूर्यदर्शन सहकारीकै ८० करोड ७२ लाख अपचलनकाको आरोपी भूपेन्द्र राईकाविरुद्ध पनि रेड नोटिस मार्फत इन्टरपोलको खोजि भइरहेको छ । २०८० साल जेठ २३ गते राई बेलायत भएको इन्टरपोलको रेकर्डमा छ ।
४. थानबहादुर बुढा
– सूर्यदर्शन सहकारीमै २७ करोड विगो दावी गरिएका अर्का आरोपी थानबहादुर बुढाविरुद्ध पनि रेड नोटिस जारी भएको हो ।
५. छेला नेपाली
– बागलुङको इमेज सहकारीको १ अर्ब ३८ करोड अपचलनको आरोप लागेर रेड नोटिस जारी भएकी छेला नेपाली २०८० साल साउन १ गते भारतबाट बेलायत नै गएको इन्टरपोलको रेकर्डमा छ ।
६.बालगोपाल श्रेष्ठ
– पर्वतको तपाई हाम्रो सहकारीको २९ करोड ९८ लाख ठगीको आरोपमा रेड नोटिस जारी गरिएका बालगोपाल श्रेष्ठ कहाँ छन् अहिलेसम्म खुलेको छैन ।
७. सागर केसी
– रुपन्देहीस्थित सुप्रिम सहकारीको १ अर्ब २ करोड ठगीमा संलग्न रहेको भन्दै मुद्धा दायर भैसकेका सागर केसी पनि इन्टरपोलकै जोखिम सूचीमा भएका आरोपी हुन् ।
८. ज्योति गुरुङ
– ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रकम अपचलनमा फरार रहेकी ज्योति गुरुङविरुद्ध पनि रेड नोटिस जारी भएको छ । तर उनी पनि अहिलेसम्म पक्राउ पर्न सकेकी छैनन् ।
९. देबेन्द्रबाबु राई
– देवेन्द्रबाबु राई पनि १ अर्ब २ करोड सहकारीकै रकम ठगी गरेर इन्टरपोलले खोजी गरिरहेको व्यक्ति हुन् । रेड नोटिस नै जारी गरेर खोजी गर्नुपर्ने ९ जना भए पनि यी तथ्यले सहकारीको अधिकांश रकम नेपाल बाहिर गइसकेको हुनसक्ने अनुसन्धानमै संलग्नहरुको आशंका छ।
सहकारीको रकम अपचलन गरेर अर्काको देशमा लुके पनि विश्व प्रहरीहरूको संगठन इन्टरपोलको फरार सूची परेका आरोपीहरू कुनै न कुनै दिन सजायको दायरामा आउँछन।तर इन्टरपोलबाट रेड नोटिस जारी भए पनि आरोपीले जुन देशमा लुकेको हो त्यही देशको नागरिकता लिएको अवस्थामा नेपाल फिर्ता गर्न बाध्य हुने छैन।उनीहरु यसरी नै बसेको आशंका अहिले अनुसन्धानमा रहेकाहरुको बुझाई छ।
