काठमाडौँ । अनेक शंका र आशंका रहेपनि प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेबीचको सम्बन्ध अझै बलियो हुँदै गएको छ । विगतको राजनीतिक इतिहासमा सत्तारुढ दलबीचको नेतृत्वमा सँधै फाटो आउने र त्यही विवादका कारण सरकार नै ढल्ने गरेको अनेकौँ दृष्टान्त छन् । सत्तारुढ दल रास्वपाको सम्बन्धमा पनि यही त दोहोरिदैन ? भन्ने आशंका प्रशस्तै थिए । यद्यपि रवि र बालेनले रास्वपाको महाधिवेशनमा सौहार्दता देखाउँदै पार्टीलाई एक ढिक्का बनाएका छन् । जुन कारण पनि रवि बालेनबीचको सम्बन्धमा शंका गर्ने ठाउँ देखिँदैन । निर्धारित समयमा महाधिवेशनको बन्दसत्र सुरु हुन नसकेपनि रवि लामिछाने पार्टी सभापतिमा सर्वसम्मत नै चयन भएका छन् । जसका प्रस्तावक बालने शाह आँफै भएकाले अन्य पदहरुको व्यवस्थापन तथा निर्वाचनमा कुनै ठूलो प्रभाव पर्ने देखिँदैन ।
उता प्रधानमन्त्री समेत रहेका बालेन शाह पनि वरिष्ठ नेतामा निर्विरोध भएका छन् । पार्टीले विधान नै संशोधन गरेर बालेनका लागि वरिष्ठ पद सृजना गरेको थियो । यसबाहेक पदाधिकारी तथा केन्द्रीय सदस्यमा भने निर्वाचन हुनेछ । जसमा पार्टीलाई नै बाँधा पुग्नेगरीका गुट र उपगुट हुने संभावना देखिँदैन । सुरुमा यो महाधिवेशनले रास्वपामा रवि लामिछाने र बालेन शाह पक्षधरबीच गुट स्पष्ट देखाउने अनुमान गरिएको थियो । यद्यपि नेतृत्व तहले नै गुट र उपगुट हुने अवस्थालाई निश्तेजा पारिदिएको छ ।
एकतापछि इतिहास रचेको रविको दावी
पार्टी सभापति रवि लामिछानेले बालेन शाहसँगको एकताले राजनीतिमा नयाँ इतिहास रचेको दावी गरेका छन् । उनले आफ्नो राजनीतक प्रतिवेदनमै बालेनसँगको एकतापछि इतिहास रचिएको उल्लेख गरेका छन् ।
रविले प्रतिवेनमा ‘हामी मिल्यौँ र इतिहास रच्यौँ’ उपशिर्षक राखेरै भनेका छन्, ‘काठमाडौं महानगरको नेतृत्वमार्फत विकासमा निर्णायक भूमिका निर्वाह गर्नुभएका, जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्रीको प्रस्ताव समेत अस्वीकार गरेर नैतिक मानक कायम गर्नुभएका बालेन शाह र उहाँसँग आबद्ध स्वतन्त्र साथीहरुसँगको समायोजनले ठूलो तरङ्ग ल्यायो । विभिन्न वैकल्पिक धार, आन्दोलन र नेतृत्वहरूको यो समायोजन केवल राजनीतिक गठबन्धन थिएन, बरु सुशासनको साझा दृष्टि, भ्रष्टाचारविरुद्धको साझा प्रतिबद्धता थियो। यस एकीकृत प्रयासको परिणामस्वरूप भएको निर्वाचनमा जनताले अभूतपूर्व समर्थन जनाउँदै करिब दुई तिहाइको ऐतिहासिक जनादेश प्रदान गरे। विश्व राजनीतिमा पनि चार वर्षभन्दा कम समयमै कुनै राजनीतिक शक्तिले यस्तो स्तरको सफलता हासिल गरेको उदाहरण दुर्लभ छ ।’
रविलाई सभापति बनाएर काठमाडौं फर्किए बालेन
प्रधानमन्त्री समेत रहेका बालेन शाह रास्वपाको महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन् । उनी असार ७ गते महाधिवेशनका लागि चितवन गएका थिए । यद्यपि उनी महाधिवेशन नसकिँदै बुधबार नै काठमाडौं फर्किएका हुन् । रास्वपाको कार्यतालिकामा महाधिवेशन असार ७ देखि ९ गतेसम्म हुने भनिएको थियो । तर विविधि आन्तरिक कारणले महाधिवेशन १० गतेसम्म लम्बियो । यसपछि बालेन बुधबार नै फर्किएका हुन् । काठमाडौं फर्किनुभन्दा एक दिन अघि नै रवि बालेनको प्रस्तावमा सभापतिमा निर्विरोध निर्वाचित भएको अवस्था छ । अन्य पदका लागि निर्वाचन भएपनि बालेन भने महाधिवेशनमा भोट नहाली काठमडौं फर्किएका हुन् ।
