काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा नयाँ पदाधिकारी टिम चयन गरेको छ । सञ्चार, अर्थ, कानुन, इन्जिनियरिङ र जनस्वास्थ्यजस्ता विविध पृष्ठभूमिका नेताहरू समेटिएको टिममा प्रधामन्त्री बालेन्द्र शाह पक्षका नेताहरू पनि मनोनित हुने तयारीले रास्वपामा नयाँ शक्ति समीकरण बन्ने देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवनमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनले पार्टी हाँक्ने नयाँ पदाधिकारीहरू चयन गरेको छ । अब रास्वपा कास्टिङबाट इलेक्टेड अर्थात निर्वाचित नेतृत्वमा रूपान्तरण भएको छ । स्थापनाको छोटो समयमै चमत्कार गरेजसरी नै पुराना शक्तिहरुलाई धुलो चटाएको रास्वपा अन्ततः महाधिवेशनबाट संस्थागत बनेको छ भने रवि लामिछाने झन शक्तिशाली सभापति भनेका छन् ।
अब उनले केन्द्रीय समितिमा एक तिहाई सदस्य मनोनित गर्न पाउँछन् भने थप १२ जना पदाधिकारी समेत मनोनित गरेपछि रास्वपा पूर्ण हुनेछ । दुई चरणमा भएको निर्वाचन अन्तर्गत दोस्रो चरणमा रास्वपाले पदाधिकारीको निर्वाचन गरेको थियो । निर्वाचनबाट ७ जना पदाधिकारी निर्वाचित भएका छन् ।
निर्र्विरोध निर्वाचित भएका सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितका ७ पदाधिकारीको पृष्ठभूमि, विगत र क्षमता यस्तो रहेको छ ।
१. रवि लामिछाने सभापतिः
रवि लामिछाने पार्टीका संस्थापक तथा निर्विरोध निर्वाचित सभापति हुन् । न्यूज २४ टेलिभिजनमा कार्यक्रम सिधा कुरा जनतासँगमार्फत स्थापित लामिछानेले २०७९ मा रास्वपा स्थापना गरी नेपाली राजनीतिमा वैकल्पिक शक्तिको नेतृत्व गरिरहेका छन् ।
उनी दुई पटक गृहमन्त्री समेत बने । फरक पृष्ठभूमिबाट राजनीतिमा आएको स्मरण गर्दै सभापति लामिछानेले आफ्नो यात्रा र चुनौतिबारे बताए ।
२. डा. स्वर्णिम वाग्ले : उपसभापति
उपसभापतिमा निर्विरोध निर्वाचित डा. स्वर्णिम वाग्ले रास्वपाभित्रका बौद्धिक र प्राज्ञिक अनुहार हुन् । विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा काम गरिसकेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । हाल उनी अर्थमन्त्रीको जिम्मेवारीमा समेत छन् ।
३. सोबिता गौतम : महिला उपसभापति
कानुन पृष्ठभूमि र सञ्चारमा सक्रिय गौतम रास्वपाको उदयसँगै संसद् छिरेकी थिइन् । महाधिवेशनबाट तोसिमा कार्कीलाई पराजित गर्दै महिलातर्फको उपसभापति बनेकी उनी हाल कानुनमन्त्रीको भूमिकामा छिन् ।
४. विपिन आचार्य : महामन्त्री
इन्जिनियरिङ र व्यवस्थापनमा एमबीए गरेको पृष्ठभूमि भएका महामन्त्री विपिन आचार्य चर्चित फ्रेन्चाइज सोहरू र ग्यालेक्सी फोरके टेलिभिजनका पूर्व क्रिएटिभ डाइरेक्टर हुन् । दाङ–२ बाट निर्वाचित सांसद उनी पार्टी स्थापनाकालदेखि नै विधान र घोषणापत्र निर्माणमा सक्रिय पर्दा पछाडिका मुख्य रणनीतिकार हुन् ।
५. हरि ढकाल : सहमहामन्त्री
सेयर बजार विश्लेषक र लगानीकर्ताका रूपमा चिनिने नवनिर्वाचित हरि ढकालले रास्वपाको तर्फबाट संसदमा आर्थिक मुद्दाहरू खरो रूपमा उठाउने गरेका छन् ।
६. असिम शाह : सहमहामन्त्री
चलचित्र निर्देशक, विज्ञापन निर्माता तथा मिडिया उद्यमी नवनिर्वाचित सहमहामन्त्री असिम शाह रास्वपाका पुराना कोर टिमका सदस्य हुन् । कला र सञ्चार क्षेत्रबाट उनी राजनीतिमा होमिएका हुन् । उनी अहिले प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख राजनीतिक सल्लाहकार तथा संविधान संशोधन कार्यदल गठनको संयोजकको भूमिकामा छन् ।
७. निशा डाँगी : सहमहामन्त्री
महिलातर्फ सहमहामन्त्रीमा निर्वाचित निशा डाँगी पार्टीकी युवा र उर्जावान् अनुहार हुन् । जनस्वास्थ्य र सामाजिक कार्यमा सक्रिय डाँगी युवा पुस्ताको प्रतिनिधित्व गर्ने डाँगी अघिल्लो पटक पनि प्रतिनिधिसभा सदस्य थिइन् ।
निर्वाचित यी ७ पदाधिकारीबाहेक रास्वपाले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री २ कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १, सहप्रवक्ता ३ र वरिष्ठ नेता १ गरि १२ जना मनोनित गर्छ । जसमध्ये वरिष्ठ नेतामा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बालेन्द्र निश्चित छन् ।
रास्वपाको प्रथम महाधिवेशनले संशोधित विधानमार्फत् वैधानिकरुपमै वरिष्ठ पद सिर्जना गरेको छ । वरिष्ठ नेतामा बालेनसँगै उनको पक्षका भनिएकाहरु सुनिल लम्साल, भुपदेव शाह लगायत मनोनित भएर पदाधिकारीमा आउने निश्चित छ । अब यो नयाँ टिमलाई पुरानो राजनीतिको विकल्प खोजिरहेका आम जनताको आशा जगाउने र रास्वपालाई नयाँ दिशा दिने चुनौति थपिएको छ ।
