News 24 Television
पर्यटकीय राजधानी पोखरामा असार १५ बन्दैछ पर्यटक तान्ने माध्यम

कास्की । रोपाई महोत्सव पर्यटकको आकर्षण बनिरहेको छ । आइतबार पोखरामा भएको रोपाई महोत्सवमा विदेशी पर्यटकहरु निकै रमाए । उनीहरु एक आपसमा हिलो छ्याप्ने मात्र नभई हिले फुटबल प्रतियोगितमा समेत भाग लिए । यस्ता महोत्सवले रोपाईलाई बुझाउने त छदैछ पर्यटकहरुलाई आकर्षण गरि पर्यटन प्रवद्र्धनमा टेवा समेत पुगेको छ । 

यो दृष्य हो पोखरामा विदेशी पर्यटकहरु एक अर्कामा हिलो छेपाछेप गरेर रमाइलो मनाइरहेको दृष्य । कोहि हिलो छेपाछेप गरेर रमाइलो गरेका थिए, कोहि हलो चलाइरहेका थिए त कोही हिले दौड तथा हिले फुटबलमा भाग लिइरहेको थिए । 

पोखरा महानगरपालिका वडा नं. ३० शिसुवामामा पोखरा पर्यटन परिषद्को आयोजनामा २१औं संस्करणको रोपाई महोत्सव आयोजना भयो, जसमा विदेशी पर्यटकको बाक्लो उपस्थिति मात्र भएन धान रोप्नु अगाडी तयार पारिएको जमिनमा हिलो छ्यापाछ्याप, हिले दौड तथा हिले फुटबल खेलेर रमाइलो गरिरहेका थिए । 

‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा भएको यो रोपाई महोत्सवले अफ सिजनमा पनि पर्यटकको आकर्षण बढाउन सकिन्छ भन्ने सन्देश दिएको छ । 

वि.सं. २०६१ सालदेखि हरेक वर्ष हुने रोपाई महोत्सवमा हिले दौड, रोपाई प्रतियोगिता, हिले फुटबल प्रतियोगिता, रस्साकस्सी, हिलोमा माछा समाउने जस्ता प्रतियोगिता गरिदै आएको छ । जसमा विदेशी पर्यटकहरुको समेत उत्साहपूर्ण सहभागिता रहने गरेको छ । महोत्सवमा भएको विभिन्न प्रतियोगिताले निकै रमाइलो र फरक अनुभव भएको पर्यटकहरु बताउँछन् । 

असार १५ मा हल नचल्ने परम्पराका कारण पोखरामा रोपाइँ महोत्सव एक दिनअघि आयोजना गरिएको हो । महोत्सवको उद्देश्य पर्यटकलाई नेपाली कृषि चिनाउनु, कृषि पर्यटन प्रवद्र्धन गर्नु र खेतीयोग्य जमिनको संरक्षणप्रति सचेतना फैलाउनु रहेको आयोजकको भनाइ छ । सहरीकरणले खेतीयोग्य जमिन घट्दै गएपछि यसको सदुपयोगमा जोड दिइएको छ । पोखरा महानगरपालिकाले परम्परागत कृषि प्रणालीसँगै नयाँ प्रविधि अपनाई उत्पादन वृद्धि गर्ने पहल गरिरहेको मेयर धनराज आचार्यले बताए ।

रोपाइँ महोत्सव तथा धान दिवस देशभर मनाइन्छ । पर्यटकीय राजधानी पोखरामा यसलाई पर्यटन प्रवद्र्धनसँग जोडिएको छ । कृषि पर्यटनमार्फत स्वदेशी–विदेशी पर्यटक आकर्षित गरी नेपालको पर्यटन र स्थानीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास गरिएको छ । 

राजु गिरी

 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update