News 24 Television
महामन्त्रीमा रविले चाहेका विपिन, चर्को प्रतिष्पर्धामा मतदाता दुई तिहाई कम किन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीका लागि सहमतिको प्रयास गर्दा पार लागेन्। नेताहरुको चर्को रस्साकस्सीकाबीच चुनाव भयो। तर, महामन्त्री पदका लागि धेरै नै मेहनत चल्यो। जसमा पार्टी सभापति रवि लामिछानेले पनि अधिकतम प्रयास गरे, तर चुनाव भने भएरै छाड्यो। 

राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै नै आकर्षणको विषय बन्यो, महामन्त्री पद। उपसभापति, सहमहामन्त्री पदमा पनि सहमतिको प्रयास चल्यो। तर, महामन्त्री पद विशेष नै बन्न पुग्यो। 

जसकारण पनि रवि लामिछानेले गरेको प्रयासकाबीच पनि सहमति जुट्न नसक्दा चुनाव नै भयो। यसमा रविको रोजाईमा विपिन आचार्य परेपछि उनले सहमतिका निम्ति अधिकतम प्रयास गरे। यद्यपी यसले सार्थकता भने पाउन सकेन्। मनिष झाले त सांकेतिक रुपमा विरोध नै गरेको देखिन्छ। ।

रविको जोडबलपछि महामन्त्रीमा आचार्यलाई सघाउनका लागि ६ जनाले उम्मेदवारी फिर्ता लिए। जसमा रञ्जु दर्शनादेखि गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल, राजुनाथ पाण्डेले विपिनलाई सघाउने बताएका छन्। अर्का नेता शिशिर खनालले भने उम्मेदवारी फिर्ता लिएपनि मौनता साँधे। धेरैले उनले मनिष झा लाई समर्थन गरेको दाबी गरिरेहेका छन्।

को निर्वाचित भए ?

महिला उपसभापति

महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। गौतमले ७८९ मत प्राप्त गर्दै उपसभापतिमा विजयी भएकी हुन्। 

यो पदका लागि कानूनमन्त्री सोविता गौतम र तोषिमा कार्कीबीच नै प्रतिष्पर्धा भएको थियो। तोषिमाले जम्मा ५७२ मत प्राप्त गरिन्। इन्दिरा राना मगरले उम्मेदवारी फिर्ता लिएकी थिइन्। 

महामन्त्री

महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन्। महामन्त्रीमा निर्वाचित भएपछि विपिनले थप एकता, सहकार्य र अन्य प्रक्रियालाई चुस्ततापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

महामन्त्रीमा निर्वाचित विपिनलाई बधाई दिदै मनिष झाले सफल कार्यकालको शुभकामना समेत दिए।

महामन्त्रीका लागि विपिनविरुद्ध मनिष झा, सागर ढकाल, गणेश कार्की प्रतिष्पर्धामा उत्रिएका थिए। 

सहमहामन्त्री

सहमहामन्त्रीमा हरि ढकाल र प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका असिम साह विजयी भएका छन्। सहमहामन्त्रीमा धेरै अनुहारहरुबीच प्रतिष्पर्धा भएको थियो। जसमध्ये विजयी उम्मेदवारविरुद्ध राजीव खत्री, हिमेश पन्त, पुकार बम, अशोककुमार चौधरी, मिलन लिम्बु, विजय जैरु, यज्ञमणी न्यौपाने, सुलभ खरेल र रमेश प्रसाईबीच प्रतिष्पर्धा भएको थियो। 

पदाधिकारीको निर्वाचनपश्चात अब पार्टी सभापति रवि लामिछानेले एक उपसभापति, एक महामन्त्रीसहित नेताहरुलाई विभिन्न पदमा मनोनयन गर्नेछन्। रविले मनोनयन गरेपछि मात्रै रास्वपाको केन्द्रीय संगठनले पूर्णता प्राप्त गर्नेछ। 

महिला सह–महामन्त्रीमा को?

महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्। यो पदका लागि जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मावीच प्रतिष्पर्धा भएको थियो।

खस्यो न्यून मत

पहिलो महाधिवेशनको समय अस्वभाविक लम्बिदा मतदानमै उल्लेख्य ह्रास आएको छ। केन्द्रीय सदस्य छान्दा जम्मा २ हजार ९ सय ५९ जनाले मतदान गरेका थिए भने पदाधिकारीको मतदानमा आधा कम १ हजार २ सय ८९ जनाले मतदान गरेका छन्। 

रास्वपाले प्रतिनिधिको संख्या आधिकारिक रुपमा नखुलाएपनि ४ हजार ३ सय ११ प्रतिनिधि रहेको नेताहरुले बताउने गरेका छन्। यसरी हेर्दा पदाधिकारी छान्न जम्मा ३० प्रतिशतभन्दा कम प्रतिनिधिले मतदान गरेको देखिन्छ। 

जसमा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले त मतदान नै गरेनन भने रास्वपा सभापति रवि लामिछानेले पनि पदाधिकारी चयनका लागि मतदानमा सहभागता जनाएनन्। 

गएको प्रतिनिधिसभा चुनावमा झण्डै दुई तिहाई प्राप्त गरेको रास्वपाले पार्टीको पदाधिकारी चयनका लागि सम्पन्न गरेको निर्वाचनमा भने दुई तिहाई प्रतिनिधिले नै मतदानमा सहभागीता जनाएनन्। महाधिवेशन अस्वभाविक लम्बिन पुगेको थियो भने व्यवस्थापकीय कमजोरी समेत छताछुल्ल बन्न पुग्यो। जुन विषयलाई नेताहरुले सार्वजनिक रुपमै स्वीकार गरिरहेका छन्।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update