News 24 Television
एकताको बहस : हतारमा प्रचण्ड, ढुक्क ओली, सन्तुलित माधव !

काठमाडौँ । पछिल्लो समय प्रमुख कम्युनिष्ट पार्टीहरूबीच पुनः एकताको चर्चा र बहसले फेरी राजनीतिक वृत्त तातिएको छ । यसै सन्दर्भमा आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित एक विशेष कार्यक्रममा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मञ्चमा उभिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनालले कार्यक्रममा पार्टी एकताको विषयमा आ–आफ्नो धारणा राखेका थिए । यद्यपि, एउटै मञ्चमा उभिएका शीर्ष नेतृत्वको हाउभाउ र अभिव्यक्तिमा भने केही भिन्नता देखिएका छन् । ती अभिव्यक्तिले प्रचण्डलाई एकताका लागि हतारिएको देखाउँछ भने, ओली एमालेलाई नै फर्काउने आत्मविश्वासमा देखिाए । उता माधव भने एकताको सवालमा सन्तुलित सुनिए । 

प्रचण्डको हतारो र स्वार्थ !

नेकपा संयोजक प्रचण्ड र नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीचको एकता अपरिहार्य रहेको भन्दै यसलाई तत्कालै अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बाढीका बीच पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका थिए । निर्वाचनमा अन्य धेरै पुराना नेताहरूले पराजय व्यहोरेका बेला संसद्मा सबैभन्दा सिनियर नेताको रूपमा प्रचण्ड स्थापित छन् । यदि अहिले कम्युनिष्ट पार्टीहरू एक ठाउँमा उभिएमा यो शक्ति नेपाली कांग्रेसभन्दा ठूलो बन्नेछ । जसको प्रत्यक्ष लाभ प्रचण्डलाई पुग्ने देखिन्छ । एकता भएको खण्डमा प्रचण्ड नै संसद्को प्रमुख प्रतिपक्षी दलको नेता बन्ने चाहनामा छन् । हालको पार्टी एकताको बहस पनि पार्टी अध्यक्ष ओली र संसदीय दलको नेता प्रचण्ड बन्नेगरी सहमति हुनसक्ने अनुमान छ । यसकारण पनि प्रचण्ड एकताको हतारोमा देखिन्छन् । 

एक्लै शक्ति फर्काउन ओलीको आत्मविश्वास 

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एकताको प्रस्तावलाई सिधै अस्वीकार नगरे पनि तत्कालै पार्टी एकता गरिहाल्नुपर्ने अवस्था नरहेको संकेत गरेका छन् । एमालेको नीति र कदम कहिल्यै गलत नभएको दाबी गर्दै उनले पार्टी एकता नभए पनि एमाले आफ्नै बल र संगठनको आडमा फेरि उठ्न सक्ने दह्रो आत्मविश्वास व्यक्त गर्दै आएका छन् । उनले तत्कालका लागि ’पार्टी एकता’ भन्दा पनि कार्यगत एकतामा मात्र जोड दिन सकिने स्पष्ट पारे । 

चुनावमा पराजित भएका कारण पनि ओली र माधव नेपाल तत्काल पदकै लागि हतारिने अनुकूल स्थितिमा छैनन् । तर, वर्तमान सरकारले पुराना नेतृत्वलाई लक्षित गरी चालेका कदमहरूले भने उनीहरूलाई एक ठाउँमा उभिन केही दबाब सृजाएको छ । 

माधव नेपालको मध्यमार्गी लाइन

नेकपाका सह–संयोजक माधवकुमार नेपालले भने आफ्नो अभिव्यक्तिमा सन्तुलित र मध्यमार्गी सुनिए । उनी केवल मिल्ने कुरा मात्र ठूलो नभई बलियो र सिद्धान्तनिष्ठ एकता हुनुपर्ने पक्षमा उभिएका छन्  । कार्यक्रममा बोल्दै नेपालले प्रश्न गरेका छन्, ‘भावना पनि मिल्नुपर्दछ, विधि र पद्धतिमा पनि दह्रो हुनुपर्दछ । तर हामी विधि र पद्धतिमा कति दह्रो छौँ ?’ 

एकता प्रस्तावमा दोस्रो तहका नेताको ‘रेड सिग्नल’

कम्युनिष्ट एकताको लागि शीर्ष तहमा एकताको बहस चलेपनि एमालेको दोस्रो तहको नेतृत्व भने यसप्रति रुष्ट देखिएका छन् । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत विगतको गल्ती दोहोर्याउने गरी एकता नहुने प्रष्ट पारेका छन् । माक्र्सको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ‘समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहो¥याउनु उचित हुँदैन ।’

त्यस्तै, एमालेका अर्का नेता गोकुल बाँस्कोटाले कम्युनिष्ट एकताको चर्चालाई नेताहरूको शक्ति आर्जनको लालसा र आफ्नो असफलता छोपेर शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिएका छन् । उनले नेतृत्वलाई प्रश्न गर्दै भनेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने, पहिला फुटाएर गल्ती भो भन । आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’ 

एमालेका दोस्रो तहका नेताहरूको यस्तो टिप्पणीले प्रचण्डको एकताको हतारो र ओलीको सहकार्यको चाहनालाई तत्कालका लागि ठूलो चुनौती दिने निश्चित देखिन्छ । 


 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update