काठमाडौं । गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि जरा अभियान सुरु गरेको छ । सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० बाट सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरे ।
डिजिटल प्रणालीमार्फत क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र अभिलेख समेत अद्यावधिक गरिँदैछ । तर शेरबहादुर देउवा पक्षकोे असहमतिले विवाद चुलिएको छ । थापाले सदस्यता अद्यावधिक नगर्नेहरू सदस्य नरहने चेतावनी दिएका छन् । त्यसैल पार्टीभित्र शक्ति संघर्ष तीव्र बनेको छ ।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि नराम्रो हार व्यहोरेको नेपाली कांग्रेसले पार्टी सङ्गठनलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यका साथ देशभर ‘जरा अभियान’ सुरु गरेको छ । मंगलबार सभापति गगन थापाले काठमाडौँ महानगरपालिका– ३० बाट आफ्नो सदस्यता अद्यावधिक गर्दै यस अभियानको शुभारम्भ गरेका हुन् ।
वैशाख मसान्तसम्म चल्ने यस एक महिने अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, साङ्गठनिक गतिविधि र नागरिक संवादका कार्यक्रमहरू सञ्चालन गरिने छन् । अभियानलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जसले सदस्यता अद्यावधिकको प्राविधिक प्रक्रियामा सहजीकरण गर्ने छन् ।
नयाँ सदस्यता वितरणको जिम्मा वडा र क्षेत्रीय कार्यसमितिलाई दिइएको छ भने पुराना सदस्यहरूको विवरण सच्याउने र अद्यावधिक गर्ने काम जिल्ला तहबाट हुनेछ । यसपटक डिजिटल अभिलेखलाई प्राथमिकता दिँदै सदस्यता लिने व्यक्तिको फोटो र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पार्टीका हाल रहेका ८ लाख ६३ हजार क्रियाशील सदस्यमध्ये धेरैको फोन नम्बर र फोटो अभिलेखमा नभएकाले यो अभियान थालिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
अब डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गरिने भएकाले सदस्यता वितरणमा हुने विवाद कम हुने र नयाँ व्यवस्थाअनुसार डिजिटल आईडी नलिने सदस्यले महाधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुले समानान्तर गतिविधि गर्न थालेपछि र सदस्यता अध्यावधिक नगर्ने अडान लिएपछि विवाद बढ्ने देखिएको छ । सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् ।
देउवा पक्षले क्रियाशील सदस्यता अध्यावधिक नगर्ने अडान लिईरहेका बेला थापाले चेतावनी दिएपछि काँग्रेसभित्रको विवाद थप चुलिने देखिन्छ । पार्टीको जरा अभियान र सदस्यता नवीरकणमा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई थापाले सचेत पनि गराए ।
उनले पार्टीको विधानअनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालाई आ–आफ्नो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्न निर्देशन दिए । सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाईदिने काम गरेको भन्दै कोलाहल मच्चाउने हर्कत नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । आफूलाई सबैको सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।
काँग्रेसले विशेष कारणवश वडा पार्टी कार्यालयमा जान नसक्नेहरुका लागि क्रियाशील सदस्यता अध्यावधिक गर्नेबारे विशेष व्यवस्था गर्ने जनाएको छ ।
सभापति थापाले काँग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताहरुले यस कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पारे । पार्टीको उक्त कार्य विधानसम्मत भएकाले त्यसलाई पालना गरेर अघि बढनु सबैको दायित्व रहेको उनको भनाइ छ । गगन थापा नेतृत्वमा गत माघमा भएको विशेष महाधिवेशन र फागुनको संसदीय चुनावको पराजयपछि कांग्रेस अहिले आन्तरिक पुनर्संरचना र शक्ति संघर्षको दोसाँधमा देखिन्छ ।
पार्टीको परम्परागत शक्तिशाली संस्थापन (देउवा) पक्षले पनि आफ्ना समानान्तर गतिविधिहरूलाई तीव्रता दिइरहेकाले आगामी दिनमा कांग्रेसभित्र वैचारिक स्पष्टताभन्दा पनि नेतृत्व हत्याउने दाउपेच र आन्तरिक ध्रुवीकरण अझै बढ्ने देखिन्छ ।
यस अवस्थामा, यदि ‘जरा अभियान’ले कार्यकर्तामाझ नयाँ आशा सञ्चार गर्न सक्यो र डिजिटल अभिलेखमार्फत सदस्यता विवाद अन्त्य भयो भने यसले पार्टीलाई विधिको मार्गमा हिँडाउनेछ । अन्यथा, दुई पक्षबीचको टकरावले पार्टीको सङ्गठनलाई थप थिलथिलो पार्ने निश्चित छ ।
