News 24 Television
भन्सार प्रक्रिया सुधारमा विज्ञहरूको जोड, कर तिर्दा रकमको स्रोतसँग हुने असन्तुलन कमजोर

काठमाडौं । कर विज्ञहरूले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि भन्सार प्रक्रियालाई डिजिटलाइजेसन र हार्मोनाइजेसन गर्नुपर्ने बताएका छन् । भारतीय सीमानाकामा एक सय भन्दा बढीको सामाना आयात गर्दा भन्सार शुल्क अनिवार्य गरिएपछि सीमावर्ती बासिन्दाको विरोध भइरहँदा विज्ञहरूले भन्सार प्रक्रिया सुधारमा जोड दिएका हुन् । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को आयोजनामा ‘ट्याक्सिङ फर ग्रोथः अनलकिङ नेपाल्स इकोनोमिक पोटेन्सियल’ विषयक बैशाख १२ र १३ गते बसेको दुईदिने विस्तारित कार्यक्रममा उनीहरूले अवैध व्यापार नियन्त्रण, रेटिङ्ग, र राष्ट्रिय उद्योगलाई संरक्षण गर्ने गरी भन्सार दर पुनरावलोकन आवश्यक रहेको निश्कर्ष निकालेका हुन् ।

यस्तै, स्वास्थ्यका दृष्टिले हानिकारक वस्तु (मादक पदार्थ, चुरोटजन्य, चिनीयुक्त पेय) मा अन्तःशुल्कलाई प्रोत्साहनभन्दा नियन्त्रणको हतियारका रुपमा प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।  भन्सार छली हुने उच्च जोखिम भएको र उत्पादनमुखी लघु उद्योगमा सरलीकृत अन्तःशुल्क व्यवस्था गरिनुपर्ने उनीहरूको प्रस्ताव छ । 

असन्तुलन कमजोर रहेको निष्कर्ष 

सम्पत्ति कर, पूँजीगत लाभ कर, र हरित कर (वातावरणीय कर) जस्ता विषयमा पनि छलफल भएको थियो ।  कर तिर्दा रकमको स्रोतसँग हुने असन्तुलन कमजोर रहेको निष्कर्ष निकाल्दै, करकै दर परिवर्तन नगरी आन्तरिक आय वृद्धि गर्न प्रशासनिक सुधार आवश्यक ठहर्याएका छन् । साथै करदाता सेवामा प्रविधि र एकीकृत डाटाबेसको प्रयोग गरी स्वैच्छिक अनुपालन बढाउनुपर्ने उनीहरूको भनाइ छ ।

सेवा क्षेत्र (विशेष गरी डिजिटल सेवा, विद्युतीय व्यापार र विदेशी प्लेटफर्म) लाई करको दायरामा ल्याउनुपर्ने र कर फिर्ता प्रणालीलाई स्वचालित, छिटो र पारदर्शी बनाउन कर प्रशासनको क्षमता वृद्धि गर्नुपर्ने उनीहरूको सुझाव छ । 

53222ffa-df2c-483f-8b8d-79da5a83460a-1777215195.jpg
 

साना उद्योगलाइ सहुलियत आवश्यक 

कर विज्ञहरूले लघु, साना तथा मझौला उद्यम (एमएसएमइ) लाई सहजीकरण गर्न छुट तथा सहुलियतको आवश्यकता औंल्याएका छन् । विदेशी लगानी, अन्तर्राष्ट्रिय कर सन्धि र हस्तान्तरण मूल्य निर्धारण विषयमा पारदर्शिता बढाउनुपर्ने उनीहरूको निष्कर्ष छ । 

छलफलमा सहभागी विज्ञहरू, एक्यान पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले विभिन्न करका विधेयक तथा नीतिगत सुधारका विषयमा पुनरावलोकन गर्दै एउटा ठोस प्रतिवेदन तयार पार्ने एक्यान महासचिव प्रदीप अर्यालले बताए । 

कार्यक्रममा कर क्षेत्रका वरिष्ठ विज्ञहरू भवनाथ दाहाल, सैलेन्द्र उप्रेती, शेषमणि दाहाल,  उमेश राज पाण्डे, भोजन आर्याल, अनिल पौडेल, ऋषिराम पौडेल, राजु पौडेल, एक्यान कार्यसमिति सदस्यहरू, पूर्वअध्यक्ष अरुण राउत लगायतको सहभागिता रहेको थियो।

आयकर, भ्याट, भन्सार र अन्तःशुल्क सम्बन्धमा प्रख्यात करविज्ञ डा. रूप खड्का प्रस्तुत गरेको कार्यपत्रका साथै  कर प्रणाली सुधार र आर्थिक वृद्धिका उपायबारे भएको दुइ दिने कार्यशालाको अध्यक्षता एक्यान अध्यक्ष अनुप नेपाल तथा कार्यक्रम संयोजन महासचिव प्रदीप आर्यालले गरेका थिए।
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update