काठमाडौँ । नेपालको वर्तमान राजनीतिक अवस्थामा नयाँ शक्तिको उदाहारणको रुपमा बालेन शाह र हर्क साम्पाङलाई नै लिन सकिन्छ । ०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा बालेन शाह र धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारी दिएर पनि विजयी भए । यस पश्चात नै नेपाली राजनीतिमा नयाँ मोड आएको छ ।
पुराना दल र विरासतले मात्रै राजनीति टिक्छ, भन्ने मान्यतालाई बालेन र हर्कले नै तोडिदिएका छन् । यही जगबाट स्थापित बालेन शाह अहिले प्रधानमन्त्री छन् भने, हर्क साम्पाङ संसदको पाँचौँ ठूलो दलको नेता छन् । तर बालेन–हर्क नयाँ र वैकल्पिक दलको रुपमा स्थापित भइरहेपनि उनीहरुको सम्बन्ध भने सुमुधुर छैन । उनीहरुबीच मेयर हुँदादेखि नै खटपट रहने गरेकामा बालेन शाहले फेसबुक स्टाटसमै, ‘मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’ भनेर लेखेपछि बालेन र हर्कबीचको सम्बन्धबारे विशेष चर्चा हुने गरेको छ ।
खासगरी जेनजी आन्दोलनपछि अन्तरिम सरकारमा प्रधानमन्त्री बन्ने चाहना राखेका हर्कले बालेनबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । यसपछि नै बालेनले हर्कलाई सम्बोधन गर्दै उक्त स्टाटस लेखेका थिए ।
नम्र बालेन, आक्रामक हर्क !
केन्द्रीय राजनीति आारम्भ भएसँगै हर्कप्रति प्रधानमन्त्री समेत रहेका बालेन शाह नम्र बनेका छन् । बालेनले हर्कसँगको सम्बन्ध सुधारका लागि उपसभामुखसमेत श्रम संस्कृति पार्टीलाई दिलाए । तर यो अवस्थामा पनि हर्क नम्र बनेका छैनन् । जबकी पार्टी सभापति रवि लामिछाने उपसभामुख राप्रपालाई दिनमा मञ्जुर रहँदा पनि बालेनले जोमिम नै मोलेर हर्क नेतृत्वको श्रम संस्कृतिलाई दिलाए । यद्यपि अझै हर्क बालेन र उनी नेतृत्वको सरकारप्रति सकारात्मक छैनन् ।
सुदन र सुकुम्बासी प्रकरणमा पनि आलोचना
बालेन सरकारले अहिले सुकुम्बासी समस्या हल गर्ने भन्दै काठमाडौंका विभिन्न ठाउँमा डोजर चलाइरहेको छ । अतिक्रमति भूमीलाई सरकार मातहतमा ल्याउने अभियान अन्तर्गत बालेन सरकारले काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरामा डोजर चलाइसकेको छ । तर सरकारको कदमप्रति हर्क भने आक्रोशित छन् । उनी बारबार बालेनको विरोधमा बोलिरहेका छन् ।
हर्कले सुरुमा डोजर चल्दा नै बालेनलाई उक्त कदम रोक्न सुझाएका थिए । त्यसयता पनि हर्कले दर्जनभन्दा बढी पटक स्टाटस लेखेर बालेनको विरोध गरेका छन् । उनले सुकुम्बासी बस्ती भत्काउन करिब २ हजार सुरक्षाकर्मी परिचालनको विषयलाई पनि आलोचना गरेका छन् । उनले जनतालाई सडकमा पु¥याइएको भन्दै डोजर आतङ्क तत्तकाल रोक्न रास्वपा सभापति रवि लामिछानेलाईसमेत खबरदारी गरेका छन् ।
उक्साउँदै सुकुम्बासी
यतिमा मात्रै नरोकिएका हर्क पछिल्लो अवस्थामा सुकुम्बासीहरुलाई संगठित हुन समेत उक्साइरहेका छन् । सरकारले सुकुम्बासीविरुद्ध काठमाडौंमा चालेको कदम देशभर पनि चल्ने भन्दै त्यसकाविरुद्ध सुकुम्बासीहरु एकजुट हुन हर्कले आह्वान गरेका छन् ।
यसरी नयाँ र वैकल्पिक शक्तिहरुको उदय नेपाली राजनीतिमा भएतापनि ती दलहरु मुलुक निर्माणको सवालमा भने एकजुट बन्न सकेका छैनन् । हर्क बालेनप्रति यो प्रकरणमा मात्रै होइन, निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति श्रोतको विषयमा पनि आक्रामक सुनिएका थिए । तत्कालीन विवादमा हर्कले सुधनको तत्काल राजीनमा माग गरेका थिए, भने उनीमाथि अनुसन्धान हुनुपर्ने विषय उठान गरेका थिए ।
वैकल्पितक शक्तिको उदय एकै परिस्थितिमा भएपनि फरक विचार, दृष्टिकोण र सिद्धान्त तय गर्नेे संघर्ष चल्दा बालेन र हर्क अझै पनि देश निर्माणको मोर्चामा भने एकजुट हुने संभावना न्यून देखिन्छ ।
