काठमाडौं । सडकमा दुर्घटना भएमा के गर्ने? कानूनले दुर्घटना क्षेत्रमा हुने उद्दार, प्राथमिक उपचार र अन्य विषयलाई थप सजिलो बनाउदै मानव जीवनलाई सहज बनाउने बाटो समात्ने देखिएको छ। पुरानो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई विस्थापन गर्दै नयाँ कानूनतर्फ काम अघि बढेको छ ।
सवारी दुर्घटना भएमा दुर्घटनास्थलमा प्रहरी नपुगेसम्म घाइतेको उद्दार गर्न समेत कठिन हुने कानूनी प्रावधानलाई सहज बनाइने भएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०८२ को मस्यौदाले दफा ५० मा सवारी साधन दुर्घटनाको जानकारी दिनु पर्ने भन्ने व्यवस्था गर्दै यसमा धेरै हेरफेर गरेको देखिन्छ। तर, योभन्दा पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३३ मा दुर्घटना भएमा चालकको कर्तव्यको रुपमाबाहेक व्यवस्था गरेको थिएन् । यो दफाले के भनेको थियो ?
दुर्घटना भएमा चालकको कर्तव्य भन्ने व्यवस्था छ। जसको उपदफा १ मा भनिएको छ, ’ कुनै सवारीले कुनै दुर्घटना गरी मानिसको जीउ ज्यानमा कुनै किसिमको खतरा वा चोट पटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नु पर्छ ।
यस्तै उपदफा २ मा भनिएको छ, ’उपदफा (१) बमोजिम सवारी दुर्घटनाग्रस्त भएको स्थानमा कुनै प्रहरी नभएमा चालकले तुरून्त सो दुर्घटनाको जानकारी तथा विवरण नजीकको प्रहरी कार्यालयलाई दिनु पर्छ। कुनै प्रहरीले दुर्घटनाको सम्बन्धमा सम्बन्धित सवारी चालकसँग कुनै कुराको सोधपुछ गरेमा निजले सोधिएको सबै कुरा बताउनु पर्छ।
यसरी दुर्घटनाबारे कानूनी व्यवस्थामा सर्वसाधारण वा अन्यलाई कर्तव्यबोध गराउने, जिम्मेवारी निभाउदा कानूनी झमेला व्यहोर्नुपर्ने कुरा भने अब नयाँ कानूनले हटाउने अपेक्षा गरिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०८२ को मस्यौदा तयार पारेर सार्वजनिक गरिएको छ। जसमा मस्यौदाको दफा ५० मा विभिन्न व्यवस्था गरिएको छ। दफा ५० मा भनिएको छ, ’सवारी साधन दुर्घटनाको जानकारी दिनु पर्ने ।
यो दफामा भने व्यवस्थित पार्न खोजिएको छ। जसमा उपदफा ६ सम्मको व्यवस्था गरिएको छ। दुर्घटनामा परेको व्यक्तिको आफन्त, परिवार वा कोहिपनि सम्पर्कमा नआएसम्ममा उपचारको व्यवस्था गर्ने कुरालाई सम्बोधन गरिएको छ।
भने दुर्घटना भएको थाहा पाउने व्यक्तिले प्रहरी, स्थानीय तह वा स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने भनिएको छ। यतिमात्रै नभई दुर्घटनामा परेका व्यक्तिलाई असल मनशायका साथ उपचारदेखि उद्दार गर्दा पनि अब प्रहरीलाई नै कुर्नुपर्ने छैन्।
जसले मानवीय क्षति न्यूनिकरणमा ठूलो काम गर्ने ठानिएको छ। उपदफा १ मा भनिएको छ, ’कुनै सवारी साधन दुर्घटना भएमा त्यस्तो सवारी साधनको चालक, परिचालक, यात्री वा दुर्घटना देख्ने वा थाहा पाउने व्यक्तिले तुरुन्त नजिकको सुरक्षाकर्मी, प्रहरी कार्यालय वा स्थानीय प्रशासन वा स्थानीय तहलाई सोको जानकारी गराई दुर्घटनाबाट घाइते भएका मानिसको उद्धार तथा उपचारको लागि आवश्यक पहल गर्नु पर्नेछ।’ यस्तै उपदफा २ मा भनिएको छ, ’उपदफा (१) बमोजिम दुर्घटनाग्रस्त भएको सवारी साधनको सम्बन्धमा प्रहरीले त्यस्तो सवारी साधनको चालक, परिचालक, यात्री वा दुर्घटना देखे वा थाहा पाउने व्यक्तिसँग कुनै कुराको जानकारी माग गरेमा दुर्घटनाको सम्बन्धमा जानकारी दिनु त्यस्तो व्यक्तिको कर्तव्य हुनेछ ।’
यसअघि दुर्घटनाको जानकारी चालकले दिनुपर्ने भन्दै कानूनी अवस्थितिलाई केहि साँघुरो बनाइएपनि अहिले यहि दफाको उपदफा ३ मा भनिएको छ, ’उपदफा (१) बमोजिम सवारी साधन दुर्घटनामा परेका व्यक्तिलाई आपतकालीन चिकित्सा वा गैर चिकित्सकीय हेरचाह वा सहायता प्रदान गर्ने वा पीडितलाई अस्पताल पुर्याउने क्रममा असल मनसायका साथ काम गर्दा कुनै चोटपटक लागेमा वा मृत्यु भएमा असल उद्दारकर्ता (गुड सामरिटन) लाई कुनै पनि देवानी तथा फौजदारी कारबाहीको लागि जिम्मेवार बनाइने छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “असल उद्दारकर्ता (गुड सामरिटन)“ भन्नाले कुनै पुरस्कार वा लाभको अपेक्षा नराखी असल मनसायका साथ स्वेच्छाले दुर्घटना भएको स्थलमा मनासिव सावधानीपूर्वक प्राथमिक उपचार गर्ने, हेरचाह गर्ने वा सहायता प्रदान गर्ने वा पीडितलाई अस्पताल पुरÞ्याउने व्यक्ति सम्झनु पर्छ । यता, अर्को उपदफा ४ मा भनिएको छ,’ उपदफा (१) बमोजिम सवारी साधन दुर्घटना भएमा दुर्घटनाका सम्बन्धमा असल उद्दारकर्ता (गुड सामरिटन) लाई प्रश्न सोध्ने वा परीक्षण गर्ने तथा निजसँग व्यक्तिगत जानकारी लिन सकिनेछ ।’
यसरी व्यवस्थित गर्दै दुर्घटनाम परेका सवारी साधन र यात्रीको सुरक्षामा समेत प्रावधान राखिएको छ। उपदफा ५ ले भन्छ, ’उपदफा (१) बमोजिम दुर्घटनामा परेका सवारी साधन र यात्रीलाई कुनै हानि नोक्सानी गर्न पाइने छैन।’
अन्तिममा उपदफा ६ ले उपचारको प्रावधान मिलाउनुपर्ने भन्दै भनेको छ, ’सडक दुर्घटनामा परी घाईते भएको व्यक्तिको आफन्त वा नजिकको नातेदार सम्पर्कमा नआएको अवस्थामा वा घाईते व्यक्तिले उपचारको लागि खर्च गर्न सक्ने अवस्था नभएमा नजिकको अस्पताल तथा स्वास्थ्य संस्थाले प्रारम्भिक उपचारको व्यवस्था गर्नु पर्नेछ।’
सडक दुर्घटना भयावह बनिरहेको छ। पहाडी क्षेत्रका जोखिमपूर्ण सडक, कच्ची सडक, उच्च गति, प्राविधिक गडबडीदेखि प्राकृतिक विपद्का कारण समेत ठूलो संख्यामा मानिसले सडक दुर्घटनामा ज्याउन गुमाउनुपर्ने स्थितिका कारण सडक दुर्घटना न्यूनिकरणका साथै दुर्घटना भइहालेमा कसरी क्षति न्यूनिकरण गर्न सकिन्छ भन्ने कानूनको नयाँ मस्यौदाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
