काठमाडौँ । नेपाली सेना र सञ्चार जगतबीचको सम्बन्धलाई थप प्रभावकारी, विश्वसनीय तथा व्यावसायिक बनाउने उद्देश्यले जंगी अड्डामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डिफेन्स करेस्पोन्डेन्ट ओरियन्टेसन प्रोग्राम-डीसीओपी)” सुरु भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको शुभारम्भ सोमबार जनसम्पर्क निर्देशक सहायक रथी राजाराम बस्नेतले गरेका हुन् । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २९ जना सञ्चारकर्मी सहभागी छन् ।
नेपाली सेनाले सञ्चारकर्मीहरूलाई रक्षा तथा सुरक्षा सम्बन्धी विषयमा तथ्यपरक जानकारी उपलब्ध गराउँदै समाचार सम्प्रेषणलाई थप सहज, सन्तुलित र प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिबारे जानकारीमूलक प्रस्तुतीकरण गरिनेछ ।
त्यसैगरी, विपद् प्रतिकार्य, राष्ट्रिय सुरक्षा, समसामयिक सुरक्षा चुनौती तथा नेपाली सेनाको कार्यसम्पादनसँग सम्बन्धित विविध विषयमा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ ।
नेपाली सेनाले यस्ता अभिमुखीकरण कार्यक्रममार्फत सञ्चार क्षेत्रसँगको संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै रक्षा तथा सुरक्षा मामिलासम्बन्धी सूचना सम्प्रेषणलाई तथ्यपरक र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
