News 24 Television
धौलागिरी पर्यटनमा टान गण्डकी किन चिन्तित ?

म्याग्दी । विश्वको सातौँ अग्लो धौलागिरी हिमाल को पहिलो सफल आरोहण भएको ६६ वर्ष पुरा भएको छ । पहिलो आरोहण सफल भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष मे १३ तारिखका दिन ’धौलागिरी हिमाल आरोहण दिवस’ मनाइन्छ  । 

१३ मे १९६० मा म्याक्स आइसलिनको नेतृत्वमा स्विजरल्याण्ड–अस्ट्रियाको संयुक्त टोलीले ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमालको पहिलो सफल आरोहण गरेको थियो । टोलीमा अस्ट्रियाका कुर्ट डिम्बर्गर, पिटर डियनर, एन्स्ट फोरर, स्विजरल्याण्डका एल्बिन (सेल्वर्ट तथा नेपाली आरोही निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा सहभागी थिए । 

उत्तर–पूर्वी मार्गबाट गरिएको यो आरोहण मार्ग अहिले पनि मुख्य मार्ग मानिन्छ । यही ऐतिहासिक दिनको सम्झनामा म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदिमा धौलागिरी आरोहण दिवस मनाइएको छ । टान गण्डकीको आयोजनामा भएको कार्यक्रममा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र गाउँपालिकाले सहकार्य गरेका थिए । कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले सडक विस्तारले ट्रेकिङ रुट प्रभावित भए पनि स्थानीय आतिथ्यता बलियो रहेको बताए । 

त्यस्तै पर्यटन वोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले धौलागिरी हिमाल, यस क्षेत्रमा पर्ने पदमार्ग र यहाँका अन्य पर्यटकिय क्षेत्रको विकास र प्रवर्धनमा आफुहरु लागिपरेको बताए । साथै स्थानीय स्तरबाट थप योजना लिएर आए आँफुहरु पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्दता जनाए । 

जलवायु परिवर्तनको असरले हिमालमा असर बढ्दै गएको र त्यसले हिमाल नजिकका वस्तीमा पनि जोखिम बढ्दै गएको गण्डकी प्रदेश सरकारकी पर्यटन मन्त्री यशोधा रिजालको भनाइ छ  । यसका लागि अन्तराष्ट्रिय स्तरमा यो विषय उठाउने र नेपालका तिनै तहका सरकारले विषेश ध्यान दिनुपर्ने उनको जोड छ ।  

धौलागिरी हिमाल कठिन भुगोल र खराव मौसमका कारण आरोहीका लागि निक्कै चुनौतिपुर्ण हिमालको रुपमा दिने गरिन्छ । पछिल्लो ६६ वर्षमा ६ सय हाराहारी आरोहिले धौलागिरी हिमालको सफल आरोहण गरेका छन् । यो वर्षको  वसन्त ऋृतुमा मात्र २६ जनाले धौलागिरीको सफल आरोहण गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update