News 24 Television
चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण

काठमाडौँ । कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् ।

कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटलाई पाशुपत क्षेत्रमै उक्त सामग्री हस्तान्तरण गरेका हुन् । महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो यथार्थले आफूलाई दुःखी बनाउने गरेको बताए । सोही अनुभूतिपछि आफू यस कार्यमा अग्रसर भएको उनले उल्लेख गरे । उनले यो सामग्री चलचित्रकर्मी, पत्रकार लगायत आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने जानकारी दिए ।

जन्म र मृत्यु अन्तिम सत्य रहेको उल्लेख गर्दै अभिनेत्री अनु शाहले चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक व्यवस्थापन हुने यस सामाजिक कार्यमा आफू जोडिन पाउँदा खुशी लागेको बताइन् ।

पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको यस सामाजिक कार्यले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।

सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए । साथै, पशुपतिमा यसको व्यवस्थापन तथा सहजीकरणका लागि प्रोडक्सन म्यानेजर रामहरी डंगोल (९८४१२६४३७१) लाई जिम्मेवारी दिइएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update