काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा शनिबार नेपाल र अमेरिका आमनेसामने हुँदैछन् । खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९ः३० मा सुरु हुनेछ । लिग–२ मान्यता जोगाउन नेपालले अमेरिकालाई पराजित गर्नुपर्ने चुनौती छ ।
८ टोली सहभागी प्रतियोगिताको अंकतालिकाको दोस्रो स्थानमा रहेको अमेरिका नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने राणनितीमा देखिन्छ ।
शनिबार किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली क्रिकेट टोली चिरपरिचित प्रतिद्धन्द्घी अमेरिकाविरुद्ध भिड्दैछ । विहान ९ः३० बजे सुरु हुने उक्त खेलमा नेपाललाई जित्नुको विकल्प छैन् । किनकी, नेपाललाई आठ टोली सहभागी आईसीसी विश्वकप लिग–२ प्रतियोगिताको मान्यता जोगाउनु पर्नेछ भने सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनु पर्नेछ ।
अंकतालिकाको दोस्रो स्थानमा रहेको अमेरिका र सातौँ स्थानमा रहेको नेपाल विचको खेल रोमाञ्चक हुनेछ । तर नेपाल जित्नकै लागि मैदानमा उत्रिनेछ । रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीको लय उति राम्रो छैन् । जुन विषय नेपाली टोलीका लागि खतराको विषय हो । लिग–२ मान्यता जोगाउन पनि नेपालले बाँकी खेल जित्नैपर्ने दबाब छ ।
३६ खेलेको प्रतियोगितामा २४ खेल खेलीसकेको नेपालले बाँकी १२ खेल नै जित्नुपर्ने हुन्छ । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र गुल्शन झा बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यसका कारण नतिजा विपक्षीको पोल्टामा जाने गरेको छ । शनिबार नेपाली टोलीले घरेलु मैदान र सर्थकको फाइदा उठाउँदै जित निकाल्नुको विकल्प हुनेछैन् ।
हेड टु हेड नतिजा कस्तो ?
नेपाल र अमेरिका विच ओडिआई फरम्यार्टमा अहिलेसम्म ११ खेल भएका छन् । जसमा अमेरिका नेपाल भन्दा हाबी छ । ६ खेलमा अमेरिकाले जित निकाल्दा नेपालले ४ खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । नेपालले अमेरिका संग पछिल्ला ४ ओडीआई खेलमा जित निकाल्न सकेकोे छैन् । घरेलु मैदान दर्शकको साथ पाएको नेपालले पराजयको क्रमभंग गर्नुपर्ने चुनौती रहेको छ ।
सन्दीप र दीपेन्द्रको भरमा नेपाल
यतिबेला नेपाली क्रिकेट टोली उपकप्तान तथा अलराउण्डर दिपेन्द्रसिंह ऐरी र बलिङ स्टार सन्दीप लामिछानेको भरमा छ भन्दा फरक नपर्ला । अन्य खेलाडीहरुले आफ्नो खेल कौशलता देखाउन सकेका छैनन् ।
नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित सिरिजमा नेपालले सुरुवाती खेलमा स्कटल्याण्डसंग दुई रनको हार व्यहोरको थियो । जहाँ सन्दीपले बलिङमा जादु देखाए ।
सन्दीपले १० ओभर बलिङ गर्दै ४१ रन खर्चिएर ४ विकेट लिन सफल भएका थिए । अलराउन्डर दिपेन्द्रले ५५ रनको इनिङ खेल्न सफल भएका थिए । नेपालका पछिल्लो खेलमा दुई स्टार सन्दीप र दिपेन्द्रको प्रदर्शन मात्रै प्रशंशा गर्न लायक छ ।
ओपनिङ समस्या
नेपाली क्रिकेट टोलीले भरपर्दाे ओपनिङ जोडी भेट्टाउन सकेको छैन् । आशिफ शेख र कुशल भुर्तेलले नेपालको ओपनिङ सम्हाल्दै आएपनि पछिल्ला खेलमा सुपर फ्लप बन्न पुगेका छन् ।
भुर्तेल र शेखको जोडीले उम्दा प्रदर्शन गर्न नसक्दा मुख्य प्रशिक्षक स्टुआर्ट ल ले नयाँ ओपनिङ जोडीका रुपमा विनोद भण्डारी र अर्जुन कुमालमाथि भरोसा गरेका छन् । तर भण्डारी र कुमालले पनि सामान्य प्रदर्शन गरिरहँदा टोलीको हारको मुख्य कारण बनिरहेको छ । ओपनिङ जोडी नटिक्दा नै मध्यक्रम र तल्लो क्रमको व्याटिङ लाइन धरासायी बन्ने देखिन्छ । यसका आवश्यक सुधार जरुरी छ ।
सिरिजमा स्कटल्याण्ड हाबी
नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित एकदिवसीय सिरिजमा स्कटिस टोली हाबी देखिन्छ । नेपाल र अमेरिकालाई समान २÷२ रनले पराजित गदै्र्र अंकतालिकामा कब्जा जमाएको यो टोली सिरिज नै पक्षमा पार्ने दाउमा छ । ३० खेलमा ३८ अंकका साथ स्कटल्याण्ड तालिकाको शिर्ष स्थानमा हुँदा सन् २०२७ को विश्वकपमा टिकट काट्ने तयारीमा छ ।
