काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदमा आएर जवाफ नदिएको भन्दै विपक्षी दलहरुले फेरि संसद बैठक अवरुद्ध गरेका छन् । अघिल्लो साता प्रधानमन्त्री बालेन संसदमा उपस्थिति भएर जवाफ दिनुपर्ने भन्दै निरन्तर बैठक अवरोध गरेका विपक्षीले यस साताको बैठकमा पनि अवरोध गरेका हुन् । जनसवालका सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै मंगलबार प्रमुख प्रतिपक्षी दल काँग्रेस, एमाले श्रम संस्कृति लगायत दलहरूले बैठक अवरुद्ध गरे । बैठकको प्रारम्भमा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखिसकेपछि सदनको नियमित काम–कारबाही शुरु हुने क्रममा उनीहरूले अवरोध सिर्जना गरे । प्रधानमन्त्री बालेनले संसदमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडानमा विपक्षीहरु छन् ।
अघिल्लो साता नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ र अन्य समसामयिक मुद्दामा सरकारको धारणा माग्दै संसदमा प्रधानमन्त्रीको खोजी भयो । तर प्रधानमन्त्री बालेन संसदमा सम्बोधन गर्न गएनन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटेर संसदमा उपस्थित गराउन पहल गरे पनि उनको जोर चलेन । यद्यपि मंगलबारको बैठकमा भने सभामुखले प्रधानमन्त्री संसद बैठकमा आएर जवाफ दिने तयारीमा रहेको बताए । विपक्षी दलले उठाएका मागहरू जायज रहेको, संवैधानिक र नियमावलीसम्मत रहेको भन्दै उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको बताए । आगामी केही दिनमा नै नयाँ बजेट सार्वजनिक हुने समय आएकाले कार्यसूचीमा रहेका कार्यक्रमहरूलाई अगाडि बढाउन आवश्यक रहेको भन्दै उनले बैठक अवरुद्ध नगर्न आग्रह गरे । संसदको कार्यतालिकालाई प्रभावित हुन नदिन र सार्वभौम सांसदहरूको जिज्ञासा सम्बोधन गर्ने वातावरण निर्माणका लागि सहयोग गर्न आग्रह समेत गरे ।
प्रमुख प्रतिपक्षी काँग्रेसले सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन लागिपरेको आरोप लगाएको छ । काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको पछिल्लो कार्यशैलीले संसदको गरिमा कमजोर पारेको भन्दै संसद केवल संख्याको खेल नभई विचार, विमर्श, उत्तरदायित्व र सहमतिमा आधारित सर्वोच्च लोकतान्त्रिक संस्था भएको बताइन् । प्रतिपक्षको अवरोधका बीच पनि बहुमतको दम्भमा विधेयकहरु पारित भएको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूको भुमिकाका कारण संसदीय समितिहरू समेत प्रभावकारी बन्न नसकेको आरोप लगाइन् ।
एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदसँग किन त्रसिरहेको भन्दै प्रश्न गरे । उनले भने, ‘यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसदसँग किन त्रसित छ ? संसदलाई छल्ने प्रयास किन भइरहेको छ ?’ प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै महरले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताए । संविधानले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराउँदै प्रधानमन्त्री बालेन अहिलेसम्म संसदमा उपस्थित नहुनु शंकास्पद रहेको बताए ।
गत साता प्रधानमन्त्री बालेन संसदमा उपस्थित नभएकोबारे प्रश्नले घेरिएपछि सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले जवाफ फर्काएका थिए । सञ्चारकर्मीले ‘प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएन ?’ भनेर सोधेको प्रश्नमा उनले ‘प्रधानमन्त्री संसद बैठकमा उपस्थित हुने’ बताएका थिए ।
यद्यपि प्रधानमन्त्री कहिले संसद बैठकमा उपस्थित हुने हुन्, यसबारे सभामुख वा रास्वपा सभापतिले स्पष्ट बताएका छैनन् । संसदबाट निर्वाचित प्रधानमन्त्री संसदप्रति नै उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रधानमन्त्री बालेन भने संसदलाई छल्न र गुपचुप निर्णय गर्नमै तल्लीन देखिएका छन्, जसले गर्दा विपक्षी दललगायत जनतामा समेत उनीप्रति सन्देह बढ्दो क्रममा छ ।
