काठमाडौँ । नेपालमा बाँदर आतंक बढ्दो छ । गाउँघरमा किसानका बालीनाली सखाप पारेर बाँदरले उठिबास लाएका घटना बेलाबेला चर्चामा आउँछन् । युवाहरु गाउँमा छैनन्, विदेश र शहरमा छन् । गाउँमा वृद्धवृद्धा किसान बाआमाहरुले बाँदर भगाउन वा बाँदरबाट बालीनाली जोगाउन कठिन संघर्ष गरिरहेका छन् । बाँदरलाई मार्ने वा बन्ध्याकरण गर्ने वा अन्य कुन उपायले नियन्त्रण गर्ने भन्नेबारे विगतदेखि हालसम्म सबैजसो पार्टीका सांसदहरुले संसदमा माग समेत उठाउँदै आएका छन् । बाँदर नियन्त्रणसम्बन्धी कानून बनाउनुपर्ने उनीहरुको माग रहे पनि हालसम्म बाँदरका लागि नेपालमा कानुन बन्न सकेको छैन । अघिल्लो सरकार हुँदा पनि बाँदर नियन्त्रणका लागि थरीथरी सुझाव पेश भएका थिए भने यसबारे ठोस कानून बनाउन संसदीय समितिहरुमा लामै छलफल समेत चलेको थियो । यद्यपि हालसम्म कुनै निष्कर्ष निकाल्न सकिएको छैन । वर्तमान संसदमा पनि बाँदर नियन्त्रणको माग राख्दै सांसदहरुले धारणा राख्ने क्रम निरन्तर छ ।
बुधबार सत्तारुढ रास्वपाका सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि ‘डमी बाघ’ उपयोगी हुने कथा संसदमा प्रस्तुत गरे । तनहुँका एक किसानको उहाहरण दिँदै उनले डमी बाघको प्रयोग गरेर बाँदर आतंक नियन्त्रण गर्न सकिने बताएका हुन् । तनहुँ शुक्लागण्डकी– ३ का किसान पहलसिंह गुरुङको सुन्तला बगानमा पुगेर १२ सय रुपैयाँमा किनेको डमी बाघले दुई सिजन सुन्तला सफलतापूर्वक जोगाएको अनुभव सांसद न्यापानेले संसदमा सुनाए । डमी बाघलाई सुन्तला बगानमा राख्दा पहिलो वर्ष बाँदर नआएको, दोस्रो वर्ष दैनिक उक्त डमी बाघलाई सार्नुपर्ने अवस्था आएको उल्लेख गर्दै दुई वर्षसम्म बाँदरबाट सुन्तला जोगाउन सफल भएको सुनाए ।
मंगलबार विपक्षी श्रम संस्कृति पार्टीका सांसद संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदर आतंकका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै नियन्त्रणका लागि ठोस कदम चाल्न माग गरे । बाँदरको समस्यालाई लिएर संसदमा हुने गरेका ठट्टा र उपहासप्रति आपत्ति प्रकट गर्दै उनले यसलाई जनताको पीडा र आक्रोशको रूपमा बुझ्न आग्रह गरे । कृषकले दुःख गरेर हुर्काएका बालीनाली बाँदरले सखाप पार्दा ग्रामीण भेगका जनताको जीविकोपार्जनमा नै संकट आएको, युवाहरु वैदेशिक रोजगारीमा रहेको र गाउँमा वृद्ध आमाबुबाले बाँदरसँग जुधेर संघर्ष गरिरहेको उनले बताए । कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानूनी प्रक्रिया पु¥याएर ‘हतियार’ उपलब्ध गराउने विषयमा समेत संसदमा छलफल हुनुपर्ने उनको धारणा छ ।
उता स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने भरपर्दो विधि र उपाय संसारमै पत्ता नलागेको भन्दै नेपालमा यसबारे अनुसन्धान हुनुपर्ने बताएका छन् । बाँदर निकै बुद्धिमान जनावर भएकाले यसको नियन्त्रणका लागि केवल संसदमा आवाज उठाएर मात्र समाधान नहुने भन्दै उनले ठोस अनुसन्धान र प्रविधिको आवश्यकता रहेकोमा जोड दिए । राष्ट्रिय आविष्कार केन्द्रमार्फत ५०–६० लाख रुपैयाँ खर्चेर अनुसन्धानको प्रयास पनि गरिएको भन्दै उनले सरकारले २ देखि ७ करोड रुपैयाँसम्मको बजेट बाँदर अनुसन्धानका लागि छुट्याउनुपर्ने माग गरे ।
अब के गर्ने त ?
मानव बस्तीमाथि जंगली जनावरको अतिक्रमण र असुरक्षा नियन्त्रण गर्न विभिन्न देशहरुले आआफ्नै कानून बनाएका हुन्छन् । जस्तैः अस्ट्रेलियामा कंगारू नियन्त्रणका लागि व्यवस्थित, वैज्ञानिक र कानुनी संरचना बनाइएको छ । कंगारुले पनि कृषिबाली नष्ट गर्ने र पर्यावरण बिगार्ने हुँदा त्यहाँको सरकारले ‘कंगारू व्यवस्थापन योजना’ अनुसार हरेक वर्ष हवाई सर्वेक्षण मार्फत कंगारूको जनसंख्या अनुमान गर्छ । त्यसकै आधारमा पारिस्थितिक प्रणालीलाई असर नपर्नेगरी निश्चित संख्यामा कंगारू मार्न पाइनेगरी कोटा तोकिन्छ । नेपालमा पनि कतिपयले बाँदरलाई यसरी नै मारेर नियन्त्रण गर्नुपर्ने बताउँदै आएका छन् । कतिपयले भने बाँदर मार्न नपाइने तर अन्य उपाय अवलम्बन गर्नुपर्ने बताउँछन् । बाँदरका लागि कानूनी व्यवस्था गरी बन्ध्याकरण गर्ने वा स्थानीय सरकारहरू मार्फत बाँदरका लागि फलफूलको अलग्गै बगैँचा, बाली बीमाको प्रभावकारी कार्यान्वयन र क्षतिपूर्तिको सहज व्यवस्था गर्नुपर्नेलगायत विषयमा बहस हुने गरेको छ । सरकारले यसका अल्पकालीन र दीर्घकालीन रणनीति अवलम्बन गरी बाँदर नियन्त्रण गर्नसक्छ ।
