इलाम । पूर्वी जिल्लाका पर्यटकीय स्थल प्रवद्र्धनका लागि केचना–कञ्चनजंगा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुँदैछ । सामूहिक सहकार्यमार्फत केचना र कञ्चनजङ्घालाई जोड्दै विभिन्न जिल्लामा प्रचार अभियान तीव्र बनाइएको छ ।
पूर्वी नेपालका पर्यटकीय स्थल प्रवद्र्धन र पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले केचना–कञ्चनजंगा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना हुँदैछ ।
झापाको ५८ मिटर उचाइको केचनादेखि ताप्लेजुङको ८५८६ मिटर अग्लो कञ्चनजङ्घासम्म समेटिएको कार्यक्रम जेठ २३ र २४ गते सञ्चालन हुनेछ ।पूर्वी नेपालका विभिन्न गन्तव्यको सामूहिक प्रचार गर्ने यसको उद्देश्य रहेको छ ।
दिगो पर्यटन, वातावरण संरक्षण तथा स्थानीय संस्कृति र प्राकृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले केचना–कञ्चनजंग कार्यक्रमको प्रचार विभिन्न जिल्लामा भइरहेको छ ।
आयोजकले औपचारिकताभन्दा पर्यटनमा दीर्घकालीन विकास र दिगोपनालाई प्राथमिकता दिँदै काम गरिने बताएका छन् ।
कार्यक्रमले पर्यटनकर्मी र सरोकारवालाबीच संवाद, सहकार्य तथा नवप्रवर्तनमार्फत पर्यटनमैत्री वातावरण बनाउने अपेक्षा गरिएको छ । इलामका विभिन्न संस्था र पर्यटन कार्यालयको समन्वयमा आयोजना हुने कार्यक्रममा चार जिल्लाका जनप्रतिनिधिको सक्रिय सहभागिता आवश्यक रहेको बताइएको छ ।
यो कार्यक्रममा पुराना ल्यान्डरोभरमार्फत पर्यटकीय स्थल अवलोकन, प्यानल छलफल, ¥याली, सांस्कृतिक झाँकी, फोटो–भिडियो प्रदर्शनी तथा स्थानीय परिकार र हस्तकलाको प्रदर्शनी गरिनेछ । नेपाल–भारतका जनप्रतिनिधि, पर्यटन व्यवसायी र वातावरणविद्को सहभागिता रहने कार्यक्रममा पर्यटन वृद्धि गर्ने दीर्घकालीन योजना आवश्यक रहेको बताइएको छ ।
