News 24 Television
निजी क्षेत्र उत्साही, मारमा जनताः अर्थमन्त्री भन्छन्–स्वर्णिम बजेट

काठमाडौं । सरकारले ल्याएको नयाँ बजेटबारे विपक्षीले आलोचना गरिरहेका छन् । विद्युतदेखि विद्यालयमा कर लागू गर्ने योजनाले आम नागरिकमा असन्तुष्टी बढेको छ । सत्ता पक्षका नेता तथा सांसदहरुले भने बजेट लोकप्रिय आएको दाबी गरेका छन् । 

बजेटबार विभिन्न बहसहरु भइरहँदा आइतबार अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले मन्त्रालयमा पत्रकार सम्मेलन गरि बजेटबारे उठेका सवालहरुको प्रष्टीकरण दिएका छन् । 

सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटबारे बहसहरु सिर्जना गरिदिएको छ । बजेटमा करमा ब्यापक हेरफेर गरेका छन् । 

खासगरी विपन्न वर्गलाई वेवास्ता गर्दै मध्यमवर्ग लक्षित बजेट आए पनि शिक्षा र स्वास्थ्य क्षेत्रका साथै आम सर्वसाधारणलाई समेत विद्युतमा कर लगाइएपछि सरकारको आलोचना भइरहेको छ । तर अर्थमन्त्री स्वर्णिम वाग्लले भने आफूले ल्याएको बजेटलाई इतिहासकै स्वर्णिम भएको तर्क गरिरहेका छन् । बजेट जनमुखी भएको दाबी गरिरहेका छन् । 

इतिहासकै सबैभन्दा ठुलो २१ खर्बको बजेट ल्याएका अर्थमन्त्री डा.स्वर्णीम वाग्ले आइतबार पत्रकारका प्रश्नबाट घेरिए । तर अर्थमन्त्री वाग्लेले भन बजेट जनमुखी रहेको दाबी गरिरहे । 

अर्थमन्त्रीको बजेट विश्लेषणः 

जीडीपीको सापेक्षतामा सानो, मध्यावधि संशोधनमा हेरौंला

अर्थमन्त्री वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेटलाई जीडीपीको सापेक्षतामा सानो भएको बताए । प्रक्षेपिक जीडीपीको सापेक्षतामा जम्मा २८.५ प्रतिशतको बजेट आएको उनको तर्क छ ।

नेपालको प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब हाराहारीमा रहेको र  अब त्यो अलिकति तल पनि हुन सक्ने भन्दै उनले मध्यावधि संशोधनमा ती कुराहरू हेर्ने प्रतिवद्धता जनाएका छन् । तर आजका मितिसम्म ३० प्रतिशतभन्दा माथिको ट्रेन्डलाई भत्काएको अर्थमन्त्रीको दाबी छ । 

प्रस्तुत बजेटबारे निजि क्षेत्र र जनमानसमा बहस भइरहेको छ । केहि करका दर हेरफेरले निजी क्षेत्रमा उत्साह बढेको भएपनि आम नागरिकको ढाड सेक्नेगरी बजेट आएको विश्लेषण भइरहेका छन् ।

५० युनिट भन्दा माथिको विद्युत महसुलमा ५ प्रतिशत कर लाग्ने देखि शिक्षा आर्जन गर्ने मन्दिर विद्यालयलाई समेत करको दायरामा ल्याउने जस्ता प्रश्नको उनले प्रतिकार गरेका छन् । निजी विद्यालयको शुल्कमा ३ प्रतिशतको योगदान उचित भएको अर्थमन्त्री वाग्लेको तर्क छ ।   

झण्डै चार वर्षपछि कर्मचारीको तलव बढेकोमा कर्मचारीतन्त्रमा पनि खुशी ल्याएको छ । योसँगै कर्मचारीको तलब २५ प्रतिशत बृद्धिले आम नागरिकमा भने महंगी थोपरिने भएको छ । सरकारले ७ प्रतिशतको आर्थिक बृद्धिदरको अपेक्षा गरेको छ ।

के अहिलेकै अवस्थामा आर्थिक बृद्धिदर सम्भव छ ? अर्थमन्त्री वाग्ले भने २० खर्बको अर्थतन्त्रीलाई हेरेर मुल्याङ्कन नगर्न सुझाव दिन्छन् ।  नेपालको अर्थतन्त्र अहिले ७० खर्ब रहेको र एक सय खर्ब पु¥याउने सरकारको योजनाले फेल नखाने उनको तर्क छ ।  

बजेटले निजी क्षेत्रमा उत्साह 

निजि क्षेत्रमा पनि नयाँ बजेटले उत्साह थपिएको छ । विदेशी लगानीकर्ता आकर्षण गर्नेदेखि स्वदेशी निजी लगानीकर्तामा उत्साह थपिएको छ । लामो समय नेपाल उद्योग र बैदेशिक संस्थामा रहेर काम गरेकी पूर्व नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा जनमुखी बजेट आएको बताउँछिन् । 

अर्थमन्त्री वाग्लेले नेपालमा एआईको सम्भावना उच्च रहेकोले बजेटमा महत्व दिएको बताएका छन् । नेपाललाई एआईको हब बनाउन सकिने र त्यसबाट मनग्य आम्दानी र रोजगारी सिर्जना गर्न सकिनेमा उनको जोड छ । 

नेपालको अर्थतन्त्र झन्डै ७० खर्ब रुपैयाँको रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारको ध्यान २० खर्बको बजेटभन्दा पनि समग्र अर्थतन्त्रलाई विस्तार गर्ने लक्ष्यमा केन्द्रित रहेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update