काठमाडौं । फिफा विश्वकप सन् २०२६ को उपाधि कसले उचाल्ला ? फुटबल समर्थकमाझ अड्कलबाजी भइरहेका छन् । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा जुन ११ बाट सुरु हुने विश्वकपको रौनकता पनि बढ्दै गएको छ ।
खेलाडी र समर्थक विश्वकप खेल्न र हेर्न आतुर छन् । विश्वकपमा सहभागि हुने राष्ट्रको फाइनल स्वाइड हेर्दा अर्जेन्टिना, फ्रान्स, स्पेन, ब्राजिल र पोर्चुगलले बलियो मानिएका छन् । २३ औँ संस्करणको फिफा विश्वकप सन् २०२६ आउन मात्र ९ दिन बाँकी छ । जुन ११ मा सुरु भएर जुलाई १९ मा सकिने विश्व फुटबलको महाकुम्भ मेलाको रौनकले फुटबल समर्थकलाई छोइसकेको छ ।
यसपटकको विश्वकपमा इतिहासमै पहिलो पटक ४८ राष्ट्र सहभागि हुँदैछन् । यसले उपाधी भिडन्तमा रोमाञ्चकता थपेको छ । यसअघिका विश्वकपमा ३२ राष्ट्रले प्रतिष्पर्धा गर्दै आएका थिए । सुपरस्टार लियोनेल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमार जुनियरका लागि यो अन्तिम विश्वकप हुने प्रक्षेपणले पनि समर्थक माझ कौतुहलता बढ्दो छ । अर्काेतर्फ युवा स्टार किलियन एमबाप्पे, लामिन यामल र भिनिसियस जुनियर माथि सबैको नजर हुनेछ ।
जुन ११ मा विश्वकप सुरु हुन अघि हामी क्रमशः उपाधी दाबेदार टोली बारे चर्चा गर्नेछौँ । आज हामी साविक विजेता अर्जेन्टिनाबारे चर्चा गर्दैछाँै ।
आधुनिक विश्व फुटबलका लेजेण्ड लियोनेल मेस्सी कप्तान रहेको अर्जेन्टिना साविक विजेता टोली हो । तीन पटक उपाधी चुमिसकेको यो टोली चौथौ पटक च्याम्पियन बन्ने दौडमा हुनेछ ।
अनुभवी र युवा खेलाडी समेट्दै मुख्य प्रशिक्षक लियोनल स्कालोनीले २६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका छन् । हाल फिफा रेङकिङको तेस्रो नम्बरमा रहेको यो टोलीमा सन् २०२२ को विश्वकप विजेता टिमका १७ जना अनुभवी खेलाडीहरू समाबेश छन् । यो अर्जेन्टिनाको स्ट्रेन्थ हो ।
सुरुमा अर्जेन्टिनाको टोली कस्तो छ ?
गोलरक्षक
एमिलियानो मार्टिनेज, गेरोनिमो रुल्ली, जुआन मुसो
डिफेन्डर
क्रिस्टियन रोमेरो, निकोलस ओतामेन्दी, लिसान्ड्रो मार्टिनेज, नाहुएल मोलिना, गोन्जालो मोन्टिएल, निकोलस तागलियाफिको, लियोनार्डी बलेर्दी र फ्याकुन्डो मेडिना
मिडफिल्डर
रोड्रिगो डे पल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक अलिस्टर, लेआन्द्रो परेडेस, जिओवानी लो सेल्सो, एक्सक्युयेल पालासिओस र भ्यालेन्टिन बार्की
फरवार्ड
लियोनेल मेसी (कप्तान), लाउतारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, थियागो अल्माडा, निको पाज, जिउलियानो सिमेओनी र जोसे म्यानुएल लोपेज
विश्वकपमा अर्जेन्टिनाले समुहचरण खेल्ने खेलहरु
समुह जे मा रहेको अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्दै विश्वकप सुरु गर्नेछ । उक्त खेल असार ३ गते बुधबार नेपाली समय अनुसार विहान ६ः४५ बजे सुरु हुनेछ । जीईएचए फिल्ड एट एरोहेड स्टेडियम, मिसौरीमा हुँदा विश्वको ध्यान केन्द्रीत हुनेछ । दोस्रो खेल अस्ट्रियासंग असार ८ गते सोमबार राति १०ः४५ बजे, डलास स्टेडियम, टेक्सस हँुदा तेस्रो खेल जोर्डनसंग असार १४ गते आइतबार बिहान ७ः४५ बजे, डलास स्टेडियम, टेक्ससमै हुनेछ ।
अर्जेन्टिनाको बलियो पक्ष के ?
१. अनुभवी खेलाडी,
कप्तान लियोनेल मेस्सी सहित १७ जना अनुभवी खेलाडी अर्जेन्टिनाको स्क्वाइडमा छन् । अनुभवको भरपुर प्रयोग नै यो टोलीको शक्ति हो । यी १७ जना खेलाडी अघिल्लो विश्वकप उपाधी चुमेका हुन् । उनीहरुसंग राम्रो अनुभव छ । अर्जेन्टिनाले यसको भरपुर फाइदा उठाउन सक्छ ।
२. बलियो मध्यपंक्ति
क्लब फुटबलमा निरन्तर खेलिरहेका खेलाडीले यो टोलीको मिडफिल्ड लाइन सम्हालेका छन् । रोड्रिगो डे पल र इन्जो फर्नान्डेजको कम्बोले विपक्ष टिम आच्छुआच्छु हुनेछन् । साथमा लेआन्द्रो परेडेसको भुमिकाले यो टोलीको मिडफिल्ड लाइन परफेक्ट देखिएको छ ।
३. तुफानी फरवार्ड लाइन
सुपरस्टार कप्तान लियोनेल मेस्सी, जुलियन अल्भारेज र लाउचारो मार्टिनेजको एट्याकमा विपक्षी टोली हायलकायल हुने देखिन्छ । यीनै खेलाडीलाई प्रमुख हतियार बनाएको अर्जेन्टिनाले उपाधी रक्षामा आाँट राख्छ । तीन खेलाडीको तुफानी फरवार्ड लाइन रोक्न विपक्षी टोलीलाई हम्मेहम्मे पर्नेछ ।
४. ज्यानको दाउ राख्ने गोलरक्षक
अर्जेन्टिना र मेस्सीलाई आधुनिक विश्व फुटबलमा सफल बनाउन गोलरक्षक एमिलियानो मार्टिनेजको भूमिका महत्वपूर्ण छ ।
कमजोर पक्ष के ?
१. लियोनेल मेस्सीमा निर्भरता
अजेन्टिनी टोली पुर्णरुपमा कप्तान मेस्सीमै निर्भर छ । ३८ वर्षीय लियोनेल मेस्सी माथि विपक्षी टोलीको विशेष नजर हुनेछ । अर्कातर्फ बढ्दो उमेर र इन्जुरीले समस्या पैदा गर्न सक्छ । मेस्सी पुरै ९० मिनेट मैदानमा खेल्न नसक्ने अवस्था सिर्जना भयो भने विपक्षी टोली हाबी हुने सम्भावना छ ।
२. शारीरिक उचाइँ,
यो टोलीमा अर्काे ठुलो कमजोरी भनेको मिडफिल्ड र डिफेन्सका खेलाडीको शारीरिक उचाइ हो । एयर बल अर्थात हवाई बलमा नियन्त्रण गर्न गाह्रो पर्छ । यसैमा म्याच फस्न सक्ने खतरा देखिन्छ । कर्नर र फ्रिकिकमा विपक्षी टोलीले फाइदा उठाउन सक्नेछन् ।
३. रक्षापङ्क्तिमा पाका खेलाडी,
अर्जेन्टिनाको रक्षापंक्तीमा बढ्दो उमेरले गतिको अभाव देखिन्छ । मुख्य डिफेन्डर निकोलस ओतामेन्दी जस्ता अनुभवी खेलाडीहरूले मोडन फुटबलका खेलाडी रोक्नसक्ने अवस्था कमजोर हुन्छ । युवा खेलाडी मो पेसलाई पछ्याउन नसक्दा अर्जेन्टिना काउन्टर अट्याकको जोखिममा पर्नसक्छ ।
४. एन्जल डि मारियाको अभाव खड्किने
साविक विजेटा अर्जेन्टिनालाई तेस्रो पटक च्याम्पियन बनाउन नायकी भुमिका खेलेका एङ्जेल डि मारिया नहुनुले टोली माथि केहि दबाब सिर्जना गर्नसक्छ । डि मारियाले सन्यासले विङ्ग्स बाट मेस्सीसंग कम्बिनेसन मिलाउन सक्ने खेलाडी देखा परेका छैनन् । अझ निर्णायक मोडमा गोल गर्न सक्ने र पासा पल्टाउन सक्ने डि मारियाको अभाव खट्किने देखिन्छ ।
५. उपाधि रक्षाको दबाब,
साविक विजेता टोली भएकाले अर्जेन्टिना माथि अन्य टोलीले विशेष रणनीति प्रयोग गर्नेछन् । यहिनेर उपाधी रक्षाको मानसिक दबाब यो टोली माथि हुनेछ । कप्तान मेस्सीको अन्तिम विश्वकप भएकाले पनि उपाधी रक्षा गर्नपर्ने चुनौती छ ।
तीन उपाधि–तीन नायक !
अर्जेन्टिनाले पहिलो विश्वकप उपाधी सन् १९७८ मा उचालेको थियो । घरेलु मैदानमा भएको उक्त विश्वकपमा मारियो केम्पस नायक बने । केम्पसले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध २ गोलसहित प्रतियोगिताभर कुल ६ गोल गरेर अर्जेन्टिनालाई पहिलो पटक विश्वकप ट्रफी दिलाउन सफल भए । फुटबलका लेजेण्ड डिएगो म्याराडोनाको बलमा अर्जेन्टिनाले सन् १९८६ उपाधी उचालेको थियो । यो विश्वकपमा पूर्ण रूपमा म्याराडोनाको जादुमय प्रदर्शन गरेका थिए ।
इंग्ल्यान्डविरुद्धको क्वाटरफाइनलमा उनले गरेको ‘ह्यान्ड अफ गड’ वाल गोललाई शताब्दीकै सर्वाैत्कृष्ट गोल मान्ने गरिन्छ । उनकै प्रेरणादायी प्रदर्शनको मद्दतले अर्जेन्टिनाले दोस्रो उपाधि हासिल गरेको थियो । तेस्रोपटक अर्जेन्टिनाले लियोनेल मेस्सीको कप्तानीमा २०२२ को कतार विश्वकप उचालेको हो ।
मेस्सीकै बलमा अर्जेन्टिनाले ३६ वर्षपछिको खडेरी समाप्त गरि च्यान्पियन बनेको थियो । यसपटक उपाधी रक्षामा अर्जेन्टिनाको ध्यान हुनेछ ।
मेस्सीमाथि भरोसा र विश्वास
सुपरस्टार लियोनेल मेस्सीको यो अन्तिम विश्वकप हो । ३८ बर्षीय उनी विश्वकप उपाधी चुमेर विदाई हुन चाहन्छन् । विश्वकपमा सर्वाधिक २६ खेलमा १३ गोल र अर्जेन्टिनाको जर्सिमा १ सय ९८ खेलमा १ सय १६ गोल गरेका छन् ।
सन् २०२२ को कतार विश्वकप उपाधी चुम्दै आधुनिक विश्व फुटबलका लेजेण्ड बन्न सफल मेस्सी नयाँ इतिहास रच्ने मुडमा हुनेछन् । मेस्सीले विश्वकपमा दुई गोल्डेन बल र एक सिल्भर बुट अवार्ड पनि हात पारेका छन् ।
गोलपछिको उनको डान्स उनका समर्थकहरुका लागि खुशीको क्षण हुने गरेको छ । अन्तर्राष्ट्रिय खेल जिवनको उत्तरार्धमा रहेका मेस्सी उपाधी सहित विदाई हुन चाहन्छन् । उनको सपना साकार गर्न अर्जेन्टिनाका अन्य खेलाडी पनि दिलो ज्यान लगाउनेछन् । फिफा विश्वकपको प्रतिक्षाको घडी नजिकिएको छ ।
