काठमाडौँ । गत फागुन २१ को निर्वाचनमा पराजय भोगेपछि केपी शर्मा ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । ओली निर्वाचन पराजयपछि प्रहरी नियन्त्रणमा परे । यहीबीच अस्वस्थ भएका उनी ठ्याक्कै ३ महिनपछि बुधबार पार्टीको केन्द्रीय संगठन विभागले काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरेको राष्ट्रिय कार्यशालामार्फत सार्वजनिक मञ्चमा उभिएका हुन् । निर्वाचन पराजय र पार्टीभित्र नेतृत्व परिवर्तनका साथै पार्टी पुनर्गठनको माग उठ्दै गर्दा केपी ओली पुनः सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बोधनमा ओलीले के भने ?
ओलीले ३ महिनापछि सम्बोधन गरेपनि फागुन २१ को निर्वाचन परिणामलाई स्वीकार गर्न मानेका छैनन् । उनले फागुन २१ मा एमाले र लोकतान्त्रिक शक्तिहरुले धक्का खाएको व्याख्या गरेका छन् । तर ओलीले भदौ २४ को आन्दोलनलाई सुनियोजित अपराधको रुपमा पनि टिप्पणी गरे । ओलीले बालेन नेतृत्वको सरकार बनेको २ महिना नाघिसक्दा पनि संवैधानिक मान्यता दिन नसकिनेसमेत जिकिर गरेका छन् ।
३ महिनामा अनेक अफ्ठ्यारा पार गरेका ओली
केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनमा पराजय भए लगत्तै फागुन २९ गते आफ्ना बुबा गुमाए । निर्वाचनको नतिजा आउँदै गर्दा फागुन २९ गते उनका बुबा मोहनप्रसाद ओलीको निधन भयो । त्यस्तै जेनजी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोगको सिफारिस अनुसार ओली चैत १३ गते पक्राउ परे । प्रहरी नियन्त्रणमै रहेका बेला अस्वस्थ भएका ओलीलाई टिचिङ अस्पतालमा भर्ना गरियो । त्यहाँ उनको पत्थरी र हर्नियाको शल्यक्रिया गरिएको थियो । यसपछि बैशाख ५ गते डिस्चार्ज भएका ओलीलाई पार्टीमा पनि संकट आइलाग्यो । जेठको पहिलो सातादेखि बसेको पार्टी सचिवालय बैठकमा ओलीमाथि नेताहरुबाट राजीनामाको दावाब आयो । तरपनि पछि नहटेका ओलीले ३ पहिनाको अवधिमा अनेक अफ्ठ्यारा पार गरेका छन् ।
बालेनको विवादित अभिव्यक्ति र ओलीको राष्ट्रवाद
एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रियताको सवालमा खरो पात्र हुन् । २०७२ सालमा लागेको नाकाबन्दीका बखत भारतविरुद्ध कडा जवाफ दिएर राष्ट्रवादी कहलिएका ओलीको महत्व वर्तमान राजनीतिकमा पनि बढ्दै गएको देखिन्छन् । केही दिनअघि मात्रै प्रधानमन्त्री बालेन शाहले संसदमा उठेको सीमा विवादको प्रश्नको जवाफ दिँदै भारतको जग्गा नेपालले पनि मिचेको भन्दै विवादित अभिव्यक्ति दिएपछि धेरैले २०७७ जेठ ६ गते संसदमा ओलीले गरेको सम्बोधनको स्ममरण गरेका छन् । जुन विषयले पनि वर्तमान राजनीतिमा ओलीको महत्व बढाएको देखिन्छ ।
ओलीले २०७७ जेठ ६ गते तत्कालीन प्रधानमन्त्रीको हैसियतमा संसदमा भारतको मिचाहा प्रवृत्तिप्रति लक्षित गर्दै भारतको प्रतिक चिन्हमा सत्यमेव जयते र सिंहको चित्र रहेको भन्दै भारतको नीति सत्यमेव जयते हो कि, सिंहमेव जयते ? भनेर प्रश्न गर्ने भनेर संसदबाटै उद्घोष गरेका थिए । तर हालको अवस्थामा भने प्रधानमन्त्री बालेन शाहले सीमा सम्बन्धी प्रश्नमा दिएको अपरिपक्व र कमजोर राष्ट्रियताका कारण देशको सार्वभौमिकता संकटमा पर्न लागेको विश्लेषण भइरहेका छन् ।
