News 24 Television
रुपन्देही क्रिकेटको शक्ति :  भारत र पाकिस्तानबाट खेल्न आउन थाले

रुपन्देही । चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताले रुपन्देहीको क्रिकेट सधैं अग्रणी भाग रहँदै आएको छ । संघीय सरकारले न्युन बजेट विनियोजन गरे पनि प्रदेश र स्थानीय तहसँगको सहकार्य, निजी क्षेत्रको सहयोग र दूरदर्शी नेतृत्वले रुपन्देहीको क्रिकेट क्षेत्र नै बदलिएको छ । रुपन्देही क्रिकेट संघले कार्यतालिका नै बनाएर निरन्तर क्रिकेट प्रतियोगिता गराउने भएकाले जिल्लामा क्रिकेटको क्रेज बढ्दो छ । 

रुपन्देही क्रिकेट संघले क्रिकेट विकासमा उल्लेखनीय प्रगति गरेको छ । रंगशाला क्षेत्रमा सिसी क्यामेरा, व्यवस्थित कार्यालय र तारजालीसहितको पूर्वाधार निर्माण गरिएको छ । संघले क्रिकेट एकेडेमी सञ्चालन गरी तल्लो तहबाट खेलाडी उत्पादनमा जोड समत दिएको छ । 

जिल्लास्तरमै ९ जना महिला–पुरुष खेलाडीलाई मासिक पारिश्रमिक समेत उपलब्ध गराइएको छ । दक्ष प्रशिक्षकमार्फत चार वर्षदेखि नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ र हाल १५० प्रशिक्षार्थी सहभागी छन् । संघको चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुगेको हो । 

महिला क्रिकेट प्रवद्र्धनका लागि संघले यातायात सुविधा उपलब्ध गराउँदै नियमित अभ्यास गराउँदै आएको छ । 

क्रिकेट संघले विद्यालय, प्लस टु र कलेजस्तरीय प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्दै आएको छ । जिल्लास्तरमै एक महिनासम्म चल्ने रुपन्देही सुपर लिग पनि निरन्तर आयोजना भइरहेको छ । निजी क्षेत्रको सहकार्यमा क्लब, विद्यालय तथा अन्तरदेशीय प्रतियोगिताले क्रिकेटप्रति आकर्षण बढाएको छ ।

मैदान, पिच निर्माण तथा संरक्षणमा गरिएको सुधारले खेलाडीलाई गुणस्तरीय अभ्यासको अवसर दिएको छ भने प्रतियोगिताको स्तर उकासेको छ । यही कारण यहाँ प्रधानमन्त्री कपजस्ता राष्ट्रिय प्रतियोगिता नियमित भएका छन् । पाकिस्तान, बंगलादेश र भारतका क्लबसमेत प्रतिष्पर्धामा लागि आएका छन् । 

रुपन्देहीको मैदानमा राष्ट्रिय महिला तथा पुरुष टोलीले समेत प्रशिक्षण लिएका छन् । सीमित सरकारी बजेटका बाबजुद संघको सक्रिय नेतृत्व, पूर्वाधार विकास, नियमित प्रशिक्षण र प्रतियोगिताले जिल्लालाई राष्ट्रिय क्रिकेटको प्रमुख केन्द्र बनाएको छ । 

निजी क्षेत्रको सहयोगले वर्षायामबाहेक निरन्तर प्रतियोगिता भइरहेका छन् । संघको दूरदृष्टि, खेलाडीको मेहनत र कार्यसमितिको समर्पणले रुपन्देहीबाट धेरै उत्कृष्ट खेलाडी उत्पादन भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update