News 24 Television
दोलखा शहरको पुरानो “डाउन टाउन” पुनः गुल्जार हुँदै

“डाउन टाउन”को अर्थ सामान्यतया ‘सहरको मुख्य भाग वा केन्द्र’ भन्ने बुझिन्छ। डाउन टाउन सहरको त्यो मुख्य क्षेत्र हो जहाँ धेरै व्यापारिक केन्द्रहरू, कार्यालयहरू, पसलहरू र मानिसहरूको चहलपहल हुन्छ। यही आधारमा मैले दोलखा शहरको मुटुमा अवस्थित शिम्भुथान परिसरलाई आर्थिक समृद्धिको शिखरमा पुगेको मध्यकालदेखिको “डाउन टाउन” संज्ञा दिएको हुँ।

मध्यकालमा दोलखा राज्यको राजधानी रहेको यो शहर भारत र तिब्बत बीचको व्यापारिक मार्ग र केन्द्र रहेको बेला यहाँ व्यापार पनि उत्कर्षमा थियो भन्ने इतिहासले संकेत गर्छ। दोलखाका धेरै जसो मानिस व्यापारमा लागेका थिए भन्ने कुरा मेरो बुबाज्युको यो संस्मरणले पनि पुष्टि गर्छ— “मेरो महातारी रत्न लक्ष्मी दोलखा शहर पुरान्छे टोलको खानदान साहु बुद्धि रत्न श्रेष्ठको कान्छी छोरी हुनुहुन्थ्यो। उहाँ खानदानकी छोरी हुनु भएकोले आफू भन्दा बढ्ता इज्जत भएको डोकुलुङा टोलको साहु लक्ष्मी लालको नातीलाई दिएको हो।” यो वि.सं. १९५० तिरको अर्थात् करिब १३३ वर्ष पुरानो ऐतिहासिक कुरा हो।

हामीले त यो शहरलाई करिब पाँच शताब्दी पछि मात्र चिन्ने मौका पायौँ। तर हामीले चिन्न लाग्दाको बखत पनि यो सहरको व्यापारिक क्रियाकलापको झल्को दिने अवशेषहरू अलि-अलि भेटेका थियौँ।

दोलखा शहरमा पछि सम्म पनि दोलखा बाहिरका मानेचा साहु, बनेपाका चाकुबजी साहु, धुलिखेलका गोपी साहु, धुलिखेलकै हरि लाल साहु र लक्ष्मी कुमार आदिका कपडा तथा किराना पसलहरू सञ्चालित थिए। स्थानीय व्यापारीहरूमा पुरान्छेको भिम बहादुर, लिस्टोलको मान बहादुर श्रेष्ठ, सुन्द्रावतीका दान बहादुर श्रेष्ठ, पिंगलका एकजना आदिका पसलले त्यो डाउन टाउनलाई सधैँ गुल्जार बनाई राखेका थिए।

3-1780650879.JPG
काठमाडौं गेस्ट हाउसका कर्ण शाक्यले गर्दा एकताका ‘फ्रीक स्ट्रिट’ भनिने वसन्तपुरको गल्ली सुकेर दिउँसो हिँड्न पनि डर लाग्ने भनिने सातघुम्ती नेरको ठमेल क्षेत्र एकाएक गुल्जार हुन गएको थियो। ठिक त्यसैगरी, गोपाल प्रधानले हालै सञ्चालन गर्न थालेको होटलले गर्दा केही वर्षपछि शिम्भुथान परिसर पनि दोलखाको ‘ठमेल’ हुने अपेक्षा गर्न सकिन्छ।

आर्थिक पुनरुत्थान र स्थानीय बजार

होटेल चल्न थालेपछि यहाँ चियाचमेना पसल लगायत अन्य सहायक पसलहरू पनि क्रमिक रूपमा खुल्नेछन्। यसबाट दोलखाबासीहरूले प्रतिस्पर्धी मूल्यमा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न पाउनेछन्। हेर्दा गोपालको एकल व्यवसाय जस्तो देखिए पनि यसले स्थानीय स्तरमा केही मानिसलाई रोजगारीको अवसर सिर्जना गर्नेछ। स्थानीय बासिन्दाका फलफूल, मासु, तरकारी जस्ता कृषि उत्पादनले सहजै बजार पाउनेछन्। दोलखामा बाह्रै महिना चल्ने विविध जात्रा र मेलाहरूले यी होटेलहरूको दिगोपनमा ठूलो सघाउ पुर्‍याउनेछन् भने जात्रुहरूको भीडले दोलखाका जात्रा र मेलालाई पनि जीवन्त राख्न थप मद्दत पुग्नेछ।

उसबेला यो बजारको नाम चलेको ‘ड्वाकु पसल’मा लहरै ३\४ वटा पसलहरू हुन्थे। सोही पसलबाट २०१५ सालको आम निर्वाचन ताका “धानको बाला झुल्यो हरर” भन्ने गीत चुनाव प्रचारका लागि बज्ने गर्थ्यो—जुन हामीले त्यस ताका भन्ने गरेको ढ्वाङ (माइक)मा गुञ्जिन्थ्यो। उसबेला साँझतिर युवाहरू भेला भएर गीत गाएर रमाइलो गर्ने ‘बतासे पाटी’ पनि बार्दली नभए पनि त्यहीँ नजिकै उभिएको छ।

तिब्बतसँगको व्यापारिक सम्बन्ध प्रगाढ हुँदा स्थापित भव्य बौद्ध चैत्य त्यहाँ अहिले पनि गौरवमय रूपमा ठिंग उभिएको छ। यही चैत्यको पूर्वतिर हालै राजधानीको राष्ट्रिय नाचघरमा प्रदर्शित द्वालाखा भाषाको “मिसामी” नाटक लगायत दोलखाका विभिन्न धार्मिक तथा सामाजिक नाटकहरू देखाइने एउटा खुल्ला मञ्च हुन्थ्यो। ड्वाकु पसल अगाडि नै सुन्धाराको झल्को दिने गहिरो ढुङ्गेधारा थियो र छेवैमा नारायणको मन्दिर थियो, जुन पछि त्यसबेलाका विकासे युवाहरूले पुरएर सम्म पारेका थिए।

2-1780650946.JPG

त्यही पसलको माथिल्लो तलामा तिहारमा जुवाको खाल थाप्ने गर्थे। लाखेको सिजनमा माथिल्लो टोलको ‘जोङ डाकस’ अक्सर त्यही घरबाट निकालिन्थ्यो र पुरान्छेको माइला बाजेले त्यही घरबाट सरकारी गाईजात्रा निकाल्थे, जसमा दुई\तीन पटक म स्वयं पनि सहभागी भएको छु। मुमाले मेरो रहर देखेर मुमाको माना सुकाउने जाल लगाइदिएर, सिँगारेर पठाउनुहुन्थ्यो।

आज यही ड्वाकु पसलको एउटा भागमा गोपालले “शारा लज तथा रेस्टुरेन्ट” आरम्भ गरेका छन्। काठमाडौँमा व्यवसाय गरिरहेका उनलाई भीमेश्वरले सद्बुद्धि दिएको हुनुपर्छ, जसले गर्दा उनले आफ्नै जन्मस्थानमा केही गरौँ भनेर यो व्यवसाय आरम्भ गरेका छन्, जसको जति प्रशंसा गरे पनि पुग्दैन। मानविकी पढ्नेहरूले जागिर खान्छन् तर वाणिज्य शास्त्र पढ्नेहरूले जागिर दिन्छन् भन्ने भनाइ छ। गोपालले के पढेका हुन्, त्यो त थाहा छैन, तर उनी पक्कै पनि अरूका लागि प्रेरणाको स्रोत बन्दैछन्।

बजार सुक्नुका कारणहरू र ऐतिहासिक सम्पदा

समयको बहाबसँगै यो बजारको रौनक बिस्तारै हराउँदै गयो। यो बजार किन सुक्यो तरु यसका केही स्पष्ट कारणहरू छन्। पहिलो कुरा, दोलखाका धेरैजसो बासिन्दाहरू काठमाडौँमा बस्न थालेपछि स्थानीय जनसङ्ख्या कम भयो र किनबेचमा मन्दी आयो। दोस्रो, माथि पाखलतीमा बस आउन थालेपछि यो बजार बिस्तारै माथिल्लो क्षेत्रतिर सर्दै गयो। तेस्रो, परिवार सङ्ख्या बढ्दै जाँदा शहरभित्र जग्गा सीमित भएकाले माथितिर नयाँ बस्तीहरू विस्तार भए।

यस सन्दर्भमा उसबेला एउटा विवाद पनि भएको हो। मेरै सहपाठी दिपक जोशी प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० हुँदा, संकटकालको समयमा पूर्वअध्यक्ष बिराजले भने जस्तै, जबरजस्ती पेलेर पाखलतीबाट भीमेश्वर स्थानसम्म सोझै मोटर बाटो खोलिइदिए। त्यसपछि त दर्शनार्थीहरू सिधै भीमेश्वर मन्दिर गएर फर्कन थाले र यो ऐतिहासिक बजार शून्य र उराठलाग्दो हुन थाल्यो।

धन्न, जीवन साहु एक्लैले यो गौरवमय इतिहास बोकेको बजारको बिँडो थामिराखेका छन्। केही वर्षअघि घर बनाउने सिलसिलामा छ महिनाजति दोलखा बस्दा, दिउँसो जीवनको पसल पनि बन्द हुँदा त दन्त्यकथाको ‘दिनभरि राक्षस नबसेको शहर’ जस्तो सुनसान हुन्थ्यो यो बजार।

1-1780651018.JPG
 

दोलखा शहरको मुटुमा अवस्थित यो बजार भएर नै दोलखाका सबैजसो जात्राहरू शहर परिक्रमा गर्छन्, जसले भक्तपुरको दरबार स्क्वायरको झझल्को दिन्छ। बजारको ठिक अगाडि दोलखाको प्रधानमन्त्रीको भनिने ‘ड्वाकु छें’ (तीन तले ठूलो घर) थियो, जुन २०२१ सालको भीषण आगलागीमा परेर नष्ट भयो। शायद प्राचीन कालमा यहाँका प्रधानमन्त्रीका परिवारले तिनै झ्याल\झ्यालमा बसेर जात्रा हेर्ने गर्थे होलान्। दोलखाका दुई महत्त्वपूर्ण मेलाहरू भीम एकादशी र चैते दशैँ भीमेश्वर स्थानमा हुने भए तापनि जात्राको मुख्य रौनक भने यही पुराना बजार क्षेत्रमा केन्द्रित हुन्थ्यो।

रातभरि माया-पिरतीका कुरा गर्दै युवा\युवतीहरू जुहारी खेल्थे। स्थानीयहरूले आफ्ना बचत कृषि उत्पादनहरू यहाँ ल्याएर बिक्री गर्थे। स्थानीयले ‘हिले जात्रा’ भन्ने गरेको गाईजात्राको अवसरमा मुख्य छ दिनजति त दोलखा शहर दिउँसो नाचगान र बेलुका कुमारी जात्राले गर्दा निकै रोमान्चकारी र जीवन्त रहन्थ्यो। काठमाडौँको कुमारी जात्रा, ललितपुरको मच्छिन्द्रनाथ जात्रा र भक्तपुरको बिस्केट जात्रालाई ती शहरका ‘ब्रान्ड जात्रा’ भनिए झैँ, दोलखाको अद्वितीय कुमारी जात्रा (काठमाडौँको भन्दा फरक शैलीको) लाई यहाँको ब्रान्ड जात्रा भन्न सकिन्छ। मच्छिन्द्रनाथको जात्रा अवलोकन गर्न माथिल्लो टोलको उकालो उकाल्ने दिन भीड लागे जस्तै, परापूर्व कालदेखि नै यहाँ कुमारी जात्रा अवलोकन गर्न पञ्चमीको दिन जात्रुहरूको ठूलो घुइँचो लाग्ने गर्दछ।

भविष्यको मार्गचित्र र व्यावसायिक रणनीति

अहिले गोपालले यहाँ होटल खोलेका छन्। होटलको कौसीबाट चारैतिरको विहङ्गम दृश्य देखिन्छ—सदरमुकाम चरिकोट बजारदेखि नागबेली परेर बग्ने तामाकोशीको मनोरम दृश्य, कुमारी जात्रामा भैरवले सिट्टी फुकेर बोलाउने शहर देउको बासस्थान ‘सहरपा’, अनि उत्तर(पूर्वतिर नजिकै भीमेश्वर मन्दिरको पवित्र दर्शन र भव्य गौरीशङ्कर हिमालको सुन्दर सूर्योदय अवलोकन गर्न सकिन्छ।

त्यसैले, प्राचीन दोलखा शहरको जनजीवन, जीवनशैली, रहनसहन, बोलीचाली, आतिथ्य सत्कार, र विदेशी मदिरालाई समेत बिर्साउने रैथाने नेवारी परिकार “मुसौ इराक” लोकल रक्सीको स्वाद लगायत यसको अद्वितीय जात्रा र मेलाबारे यथार्थ बुझ्न चाहनेहरूका लागि उपयुक्त र सुविधासम्पन्न विकल्प यही बजेटमैत्री होटल हुन सक्छ। यसले बजार क्षेत्रमा एउटा राम्रो रेस्टुरेन्टको लामो समयदेखिको अभावलाई पनि पूरा गरेको छ।

तर, त्यहाँका होटल व्यवसायीहरूले “ग्राहक हाम्रा राजा हुन्” भन्ने आधुनिक बजारीकरणको सिद्धान्तलाई पूर्ण रूपमा पालना गरेर उचित मूल्यमा उच्च स्तरीय सेवा प्रदान गर्नुपर्नेछ। बजारको प्रारम्भिक चरणमा उच्च मूल्य रणनीति अवलम्बन गर्नुभन्दा बजारमा बलियो पहिचान र पकड जमाउन प्रवेश मूल्य रणनीति उपभोक्ता अनुकूल सुलभ मूल्य निर्धारण गर्नु उपयुक्त हुनेछ, यदि यो व्यवसायलाई दीर्घजीवी बनाउने हो भने। गोपालले मात्र नभएर सम्पूर्ण स्थानीय व्यवसायीहरूले संयुक्त रूपमा राष्ट्रिय टेलिभिजनको मुख्य समाचारको समयमा दुई\चार पटक आकर्षक विज्ञापन प्रसारण गर्दा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update