काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवहरू राजेश बज्राचार्य, भानु देउवा र गंगा दाहालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन अघि बढाएको छ ।
आयोगले राष्ट्र बैंक, मालपोत कार्यालयसहित २० भन्दा बढी निकायबाट बैंकिङ कारोबार, सेयर, घरजग्गा, सवारीसाधन र पारिवारिक सम्पत्तिको प्राप्त बिवरण अख्तियारले केलाउँदा अस्वाभाविक कारोबार देखिएपछि अख्तियारले स्वकीय तीनै जनाको बयान लिने तयारी गरेको छ ।
केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेपाली राजनीतिमा शक्तिशाली नेताका रुपमा छन् । ओली नेकपा एमालेका अध्यक्ष छन् भने दाहाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक छन् । देउवा भने कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाले नेतृत्व सम्हालेपछि थापाको नेतृत्व अस्वीकार गरि कानूनी लडाइमा छन् ।
गत वर्ष भदौ २३ र २४ को युवा पुस्ताको आन्दोलनपछि तीनै नेताहरुमाथि प्रश्न उठिरहेको छ । एमालेमा पार्टी पुनर्गठनको बहस मात्र होइन, पार्टी पुनर्गठन कार्यदल गठन गरि पार्टी नेतृत्वको विकल्प खोजिएको छ । विभिन्न समूहलाई एकता गरेर नेकपा संयोजक बनेका दाहाल अझै अन्य कम्युनिस्ट दलहरुसँग एकता गरि ठूलो दलको संसदीय दलको नेता बन्ने ध्याउन्नमै छन् ।
नेतृत्वको असफलताको जस लिन तयार नभएका यी तीनै नेता कुनै न कुनै तरिकाले आफ्नो शक्ति सञ्चयमा लागि नै रहेका छन् । राजनीतिक असफलतासँगै यी तीनै जनाका नेताका छोराछोरी तथा स्वकीय सचिवहरु सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा तानिएका छन् ।
सम्पत्ति शुद्धीकरणको कसुरमा अघि बढ्यो छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाएको छ । ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बद्ध कसुर नभएकाले फाइल अख्तियारमा पठाइदिएको छ । उनीहरूविरुद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टाछुट्टै उजुरी परेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन गरिरहेको छ ।
तीन पूर्वप्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक, मालपोत कार्यालयसहित २० भन्दा बढी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार गरेको थियो ।
सेयर कारोबार, सवारीसाधनदेखि सम्पत्ति राखिने प्राप्त बिवरण हेर्दा निकायको बिवरण अस्वाभाविक बैंकिङ कारोबार देखिएपछि अख्तियारले छानबीनलाई अगाडि बढाएको हो । सोही आधारमा तीनै जनाको बयान लिने तयारी अखितयारले गरेको गरेको छ ।
देउवापुत्र भानुको अनुसन्धानका लागि १३ पृष्ठको फारम भराइयो
पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको अनुसन्धानका लागि १३ पृष्ठको फारमसमेत भराइएको छ । त्यसमा बैंक खाताको विवरण, सेयर, घरजग्गा, सवारीसाधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानीलगायतका विस्तृत विवरण उल्लेख छ । भानु देउवाका सम्पत्तिबारे विवरण दिन भन्दै अख्तियारले विभिन्न निकायलाई पत्राचार समेत गरेको छ ।
प्रचण्डपुत्र गंगाको आर्थिक विवरणको अनुसन्धान
पूर्वप्रधानमन्त्री दाहालकी छोरी गंगाको आर्थिक कारोबारको विवरण अख्तियारका अनुसन्धान अधिकृतहरूले अध्ययन गरिरहेका छन् । दाहालको ललितपुरस्थित घर गत बर्षको भदौ २४ गते भएको विध्वंसमा जलेको थियो । त्यसबेला घरबाट नगद र सुन लुटपाटसमेत भएको अनुसन्धानमा खुलेको छ । कतिपयले नगद लैजाँदै गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
कतिपय रकम जलेको अवस्थामा बरामद भएपछि जाँचका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको सहयोगमा खरानी संकलन गरेर प्रयोगशालामा पठाइएको थियो। त्यसक्रममा बरामद खरानीमा नगदका अवशेष भेटिएको थियो ।
पूर्वप्रधानमन्त्री दाहालले २३ र २४ भदौको घटनाबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिने क्रममा छोरी गंगाको घरमा अवैध नगद भेटिएको प्रचार गलत भएको दाबी गरेका थिए । तर उनको बयान मेल नखाने भन्दै ज्वाइ जीवन आचार्यको सम्पत्तिबारे समेत छानबिन गरिरहेको छ । आचार्य कोशी प्रदेशका मन्त्री समेत हुन् ।
नक्कली भुटानी प्रकरणदेखि नै अनुसन्धानमा बज्राचार्य
प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यबारे बदनियतपूर्वक दरबारमार्गको सरकारी जग्गा सस्तोमा यती समूहलाई लिजमा दिएको प्रकरणको अनुसन्धानपछि उनीमाथि समेत अनुसन्धान गर्न प्रहरीले अख्तियारलाई सिफारिस गरेको थियो ।
यती समूहसँग बज्राचार्यले बालकोटमा चार करोड रुपैयाँ पर्ने जग्गा लिएको खुलेपछि प्रहरीले अख्तियारमार्फत अनुसन्धान गर्न भनेको थियो । त्यसबेला बज्राचार्यले ९६ लाख रुपैयाँ मात्र कारोबार भएको विवरण मालपोत कार्यालयमा देखाएका थिए । २०७५ साउन १ गते बज्राचार्यले यती समूहमार्फत रोजभिलेज हाउजिङको घर लिएको समेत प्रहरीको अनुसन्धान देखिएको थियो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबारे प्रहरीले अनुसन्धान गरेका बेलासमेत बज्राचार्यको नाम जोडिएको थियो । त्यस प्रकरणमा पक्राउ परेका आरोपित केशवप्रसाद दुलालले उनलाई बालुवाटारमै १ करोड रुपैयाँ दिएको बयान दिएका थिए ।
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायामाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत २०७६ असोज १५ गते एक करोड रुपैयाँ नगद लिएको दुलालको दाबी थियो ।
प्रमुख तीन नेतामाथि पनि उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि प्रधानमन्त्री कार्यालयमा बोलाएर छलफल गरेको विषय निकै चर्चामा थियो । विपक्षी दलहरुले अख्तियार पदाधिकारीहरुलाई ७ घण्टा थुनेर प्रधानमन्त्री कार्यालय राखिएको दाबी गर्दै आएका थिए ।
अख्तियार प्रमुख प्रेमकुमार राइले विहीबार मात्रै संसदीय समितिको बैठकमा प्रधानमन्त्रीसँग भएको छलफलमा पासपोर्ट मुद्दा प्रकरण अघि बढाउन प्रधानमन्त्रीको चाहको र सोही अनुसार मुद्दा चलाइएको बताएका छन् । साथै उनले ओली, देउवा र दाहाल तीनै शीर्ष नेताहरु विरुद्ध पनि उजुरी परेको खुलासा गरेका छन् ।
पछिल्लो समय अख्तियारले विभिन्न राजनीतिक शीर्ष नेतृत्वसँग निकट रहेका व्यक्तिहरूको सम्पत्ति तथा आर्थिक गतिविधिमाथि अनुसन्धान तीव्र बनाएको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले सम्बन्धित व्यक्तिहरूमाथि आरोप पुष्टि भइसकेको छैनन । आयोगले संकलन गरिरहेका तथ्य, सम्पत्ति विवरण र बयानका आधारमा आगामी कदम तय गर्नेछ ।
