News 24 Television
वर्ल्ड भिजनको नेतृत्वमा १७ जिल्लामा बृहत् वृक्षारोपण अभियान सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा देशभर 'एक बालबालिका, एक बिरुवा' नामक राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय सरकार, विद्यालय र समुदायको सहकार्यमा सञ्चालित यस अभियान अन्तर्गत देशभरका करिब ८० हजार बालबालिकाहरूले उत्साहपूर्वक वृक्षारोपण गरेका छन्।

यो अभियान नेपालका हिमाल, पहाड र तराईका १७ जिल्लाका ४६ वटा स्थानीय तहहरूमा विस्तार गरिएको थियो। वातावरण संरक्षणका साथै दिगो जीविकोपार्जन, खाद्य सुरक्षा र पोषणमा टेवा पुर्‍याउने उद्देश्यले विद्यालय, समुदाय, वडा कार्यालय र घरआँगनमा आँप, लिची, अम्बा र सुन्तलाजस्ता फलफूलका साथै स्थानीय हावापानी सुहाउँदा हजारौँ बिरुवाहरू रोपिएका छन्।

Kailali-(1)-1780664880.jpg
यस वृहत् कार्यक्रमको मुख्य विशेषता समावेशिता रह्यो, जहाँ ५७३ जना अपाङ्गता भएका बालबालिकाहरूले पनि सक्रियताका साथ बिरुवा रोपेका थिए। अभियानलाई सफल बनाउन २७ वटा साझेदार संस्थाहरू, स्थानीय सरकार र सामुदायिक वन समूहहरूले समन्वय गरेका थिए भने रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि प्राङ्गारिक मलको प्रयोग र नियमित अनुगमनको योजनासमेत बनाइएको छ।

स्थानीय जनप्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरूले यस अभियानले बालबालिकालाई प्रकृतिप्रति जिम्मेवार बनाउन र व्यावहारिक शिक्षा प्रदान गर्न ठूलो भूमिका खेलेको बताएका छन्। वृक्षारोपणमा सहभागी रोशनी यादव र गौतम साहलगायतका बालबालिकाहरूले आफूले रोपेका बिरुवाको नियमित हेरचाह गर्ने र हरियाली भविष्यका लागि साथीहरूलाई पनि प्रोत्साहित गर्ने प्रतिबद्धता जनाएका छन्।

IMG_6166-1780664880.jpeg
 

वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक रोजलिन हन्सन ग्याब्रिएल र सह-निर्देशक प्रकाश तिवारीले बालबालिकाहरू जलवायु समाधानको सक्रिय योगदानकर्ताका रूपमा उभिनु निकै प्रेरणादायी रहेको बताएका छन्। एकीकृत योजना र सामूहिक सहकार्यको बलमा बालबालिका आफैँले हरित भविष्यका लागि नेतृत्व लिएको देख्दा संस्था गौरवान्वित भएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update