काठमाडौँ । गत प्रतिनिधिसभा निर्वाचनअगाडि केही दबाब र केही महत्वाकांक्षाका बीच पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेका थिए । त्यसअघि नै उज्यालो नेपाल पार्टी दर्ता गराएर राजनीतिमा होमिएका घिसिङ रास्वपामा टिक्न सकेनन् । केही दिनमै उनले रास्वपासँगको एकता भंग गरेर केही अन्य साना दल/समूह साथमा लिई चुनावमा गए । तर चुनावी नतिजा उनको सोचविपरीत आयो, आफै पनि हारे भने उनको दलले एक सिट पनि जित्न सकेन । अहिले घिसिङ सत्तारुढ रास्वपाप्रति रुष्ट देखिन्छन् । शुक्रबार काठमाडौँमा आयोजित उज्यालो नेपालको युवाभेलामा घिसिङले सत्तारुढ रास्वपाले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरे । देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनको दाबी छ ।
विगतका धेरै राजनीतिक आन्दोलन तथा परिवर्तन भए पनि तिनलाई ‘अन्य रङ’को क्रान्तिका रूपमा घिसिङले चित्रण गरेका छन् । अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताउँदै उनले त्यही नै हरित क्रान्ति रहेको दाबी गरे । उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पार्दै उनले पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने बताए । सुशासनलाई केन्द्रविन्दुमा राख्दै जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उनको दाबी छ ।
घिसिङले रास्वपा नेतृत्वको करिब दुईतिहाइ बहुमतको सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको समेत बताए । जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरुले जनताका समस्या सम्बोधन गर्छन् भन्ने विश्वास गर्न नसकिने घिसिङको जिकिर छ । उनले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरुको रहे पनि सरकारले सोही अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखे ।
रास्वपाको सरकारबाट जनतालाई निराश बनाउने गतिविधि कायमै रहेमा आफू प्रतिवादमा उत्रने चेतावनी समेत घिसिङले दिए । मुलुकलाई विकासतर्फ लैजानका लागि नयाँ पार्टीको विकल्प अब पुरानो पार्टी हुन नसक्ने समेत उनको जिकिर छ । नयाँको विकल्प झन् नयाँ हुने दाबी गर्दै उनले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरे । पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै घिसिङले उज्यालो नेपालले सधैँ जनताको माझमा रहेर उनीहरूका समस्या र मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने बताए । साथै, युवाहरूलाई देशको अर्थतन्त्र र लगानी प्रवद्र्धनमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको पनि उनले बताए ।
आगामी स्थानीय तथा प्रादेशसभाको निर्वाचनलाई लक्षित गर्दै घिसिङको पार्टीले संगठन विस्तारको विशेष योजना समेत अघि सारेको छ । घिसिङकाअनुसार पार्टीले प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थिति मजबुत बनाउन ‘उज्यालो अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ । संगठनलाई जरादेखि नै बलियो बनाउँदै आगामी निर्वाचनमार्फत आफ्नो सरकार स्थापित गर्ने लक्ष्य पार्टीले लिएको उनले बताए । अघिल्लो निर्वाचनमा नराम्रो पराजय भोगे पनि आगामी स्थानीय निर्वाचनमा भने जनतामाझ भिज्ने गरी कुलमानले सांगठनिक विस्तार गरिरहेका छन् ।
