काठमाडौँ । संसदको अनेक लफडा र आफ्नो भारत भ्रमणपछि रास्वपा सभापति रवि लामिछानेले सोमबार सर्वदलिय बैठक बोलाए । सो बैठकमा सभापति रविले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष÷सभापतिसहित एक दलबाट दुई नेताको उपस्थिति माग गरेका थिए । तर यो बैठकलाई नयाँ दल श्रम संस्कृति पार्टीले भने पूरै बहिस्कार गरेको छ । सोमबार बिहान ९ बजे सिंहदरबारमा बसेको बैठकमा श्रम संस्कृति पार्टीका कुनै पनि प्रतिनिधि सहभागी भएनन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको जुन निर्णयले सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेमार्फत बोलावट भएको सर्वदलिय बैठक बहिस्कार गरेको रुपमा अर्थ लागेको छ । किनकी उक्त बैठकमा हर्क स्वयम उपस्थित हुन नसकेपनि अन्य नेता तथा सांसदलाई सामेल गराउन सक्ने अवस्थामा थियो । तर उनले आफ्नो कुनै प्रतिनिधि बैठकमा पठाएनन् । सो कारण पनि उनले बैठक बहिस्कार गरको प्रष्टिन्छ । प्रधानमन्त्री बालेन शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेपछि हर्क साम्पाङ रास्वपासँग रुष्ट छन् । बालेनको सो अभिव्यक्तिपछि बसेका सबै संसद बैठक श्रम संस्कृति पार्टीले अवरोध गर्दै आएको छ भने, प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने हर्कको माग छ ।
गगन र ओलीले पनि पत्याएनन् रविलाई !
रविले आह्वान गरेको बैठकलाई काँग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि महत्व दिएनन् । बैठकका लागि रविले पार्टी सभापति र अध्यक्षको हैसियतमा गगन थापा तथा केपी शर्मा ओलीलाई नै उपस्थित हुन आग्रह गरेका थिए । तर यो बैठकमा गगन र ओली दुवै उपस्थित भएनन् । उनीहरुले पार्टीका तर्फबाट अन्य नेताहरुलाई मात्रै बैठकमा पठाएका छन् । बैठकमा काँग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा एमालेबाट प्रमुख सचेतक ऐन महर सहभागी भएका थिए ।
नेकपा र राप्रपाको नेतृत्व तह नै सहभागी
सर्वदलिय बैठकलाई प्रतिपक्षी दलहरु नेकपा र राप्रपाले भने प्राथमिकता दिएका छन् । यो बैठकमा नेकपाका तर्फबाट सहसंयोजक माधव नेपाल सहभागी भए । संयोजक प्रचण्ड अस्वस्थ भएको अवस्थमा माधव नेपाल सहभागी हुनुलाई नेतृत्व तहकै उपस्थिति भन्न सकिन्छ । उनीसँगै सांसद वर्षमान पुन पनि बैठकमा सहभागी भए । उता राप्रपाबाट पनि रविको आह्वानलाई मनन् गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन आँफै सहभागी भएका छन् ।
बैठकमा के भए ?
रवि लामिछानेले भारत भ्रमण र संसद अवरुद्ध भइरहेको बेला बोलाएको बैठकमा मुख्यत दुई विषयमा छलफल केन्द्रीत भएको देखिन्छ । जसमा रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे जानकारी दिएका थिए भने, अर्कोतर्फ सरकारको कामकारवाहीमा दलहरुको सुझाव मागिएको थियो । रविको भारत भ्रमण ब्रिफिङमा दलहरुले विदेश मामिलामा गम्भीर हुन र सरकारको काम कारवाहीको सम्बन्धमा केही परिपक्वा भएर प्रस्तुत हुन सुझाव दिएका छन् ।
तर जेहोस्, बैठकमा जेजस्ता विषयमाथि छलफल भएपनि सत्तारुढ दल रास्वपाले थालेको सर्वदलिय बैठकको सुरुवातलाई सकारात्मक रुपमा हेरिएको छ । यस्ता बैठकले सरकारको कामकारवाही तथा विदेश मामिलाप्रति राज्यले अबलम्बन गर्ने नीतिलाई एकरुपता दिनमा सघाउ पुर्याउँछ । यदी यस्ता बैठक निरन्तर भइरहे दलिय द्वन्द्व हट्दै सदन र सरकार पनि सकारात्मक ढंगले अघि बढ्ने निश्चितता रहनेछ ।
रास्वपाको यो कदमलाई विपक्षी दलका केही नेताले पनि सकारात्मक रुपमा लिएका छन् । आगामी दिनमा पनि सत्ता पक्षले आफू ठूलो दल हुनुको अहमतालाई त्यागेर सबै दलको सुझाव मनन् गर्दै लोकतान्त्रिक अभ्यासको सुरुवात गर्नु उत्तम हुनेछ ।
