काठमाडौं । फिफा विश्वकप सन् २०२६ आउन अब २ दिन मात्रै बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाको संयूक्त आयोजनामा जुन ११ बाट विश्वकप सुरु हुँदैछ । विश्वकप खेल्ने ४८ राष्ट्रले अन्तिम तयारी गरिरहेका छन् । आज भने विश्वकप खेल्ने युवा स्टार खेलाडी बारे चर्चा गर्दैछन ।
२०२६ को फिफा विश्वकप विभिन्न कारणले विशेष आकर्षणको केन्द्र बनिरहेको छ । लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियरको सम्भावित अन्तिम विश्वकपसँगै नयाँ स्टार खेलाडीको उदय मुख्य चासो बनेको छ ।
यी दिग्गजपछि विश्व फुटबलको भविष्य कसले सम्हाल्छ भन्ने खोजीमा यो विश्वकपले उदाउँदा युवा प्रतिभालाई केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ । आज हामी २३ औँ संस्करणको विश्वकप मार्फत् उदाउन सक्ने युवा खेलाडीको चर्चा गर्दैछौँ ।
फिफा विश्वकप सन् २०२६ मा उदाउन सक्ने युवा स्टार खेलाडीहरू
लामिन यमल (स्पेन)
स्पेनका १८ वर्षीय विङ्गर लामिन यमल यो विश्वकपका हट केक हुन् । बार्सिलोनाबाट व्यवसायिक खेल खेल्ने उनी उत्कृष्ट प्रदर्शनका कारण चर्चामा छन् । बढ्दो फ्यान फलोअर र प्रभावशाली खेलले उनीप्रति विश्वास बढेको छ । राष्ट्रिय टोलीबाट २३ खेलमा ६ गोल गरेका यमललाई मेस्सी, रोनाल्डो र नेयमारको उत्तराधिकारीका रूपमा हेरिएको छ ।
एन्ड्रिक (ब्राजिल)
ब्राजिलका १९ वर्षीय स्ट्राइकर एन्ड्रिक विश्वचर्चित क्लब रियल म्याड्रिड हुँदै लियोन पुगेका खेलाडी हुन् । उनी ब्राजिलको विश्वकप टोलीका आक्रमणकारी हतियार बनेका छन् । इजिप्टविरुद्ध २–१ जितमा निर्णायक गोल गरेका एन्ड्रिकले राष्ट्रिय टोलीबाट ४ गोल गरेका छन् ।
गिल्बर्टाे मोरा (मेक्सिको)
१७ वर्षीय मिडफिल्डर गिल्बर्टाे मोरा मेक्सिकोको तर्फबाट विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्नेछन् । आक्रामक मिडफिल्डरको परिचय बनाएका गिल्बर्टाे सन् २००८ अक्टोबर १४ मा जन्मेका हुन् । हाल उनी मेक्सिकन क्लब टिजुआना र मेक्सिकोको राष्ट्रिय टोलीका लागि खेल्ने गर्छन् । ५ अन्तर्राष्ट्रिय खेल खेलका उनले गोल निकाल्न सकेका छैनन् ।
आर्दा गुलेर (टर्की)
टर्कीका २१ वर्षीय आर्दा गुलेर रियल म्याड्रिडका अट्याकिङ मिडफिल्डर हुन् । जादुमयी पास र फ्रि–किकमा माहिर उनले सबैको ध्यान खिचेका छन् । राष्ट्रिय टोलीबाट १३ खेलमा १ गोल गरेका गुलेरले विश्वकपमा आफ्नो प्रतिभा झनै चम्काउने अवसर पाउँदैछन्।
वारेन जारे–एमरी (फ्रान्स)
फ्रान्सका वारेन जारे–एमरी २० बर्षका भए । २० बर्षीय सेन्ट्रल मिडिफिल्डर वारेन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने गरेका छन् । डिफेन्सिभ मिडफिल्डमा दख्खलता राख्ने वारेनलाई आधुनिक विश्व फुटबलमा स्थापित हुने अवसर छ । फ्रान्सको राष्ट्रिय टोलीबाट वारेनले ४ खेल खेलेका छन् ।
विश्वकपमा चम्किन सक्ने अन्य युवा स्टार !
विश्व फुटबलले रोनाल्डो, मेस्सी र नेयमारको युगपछि नयाँ नायक खोजिरहेको छ। २०२६ विश्वकपले त्यही अवसर दिने अनुमान छ। बार्सिलोनाका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी, युभेन्टसका केनान यिल्डिज, ब्राजिलका एन्ड्रिक एस्टेभाओ, जर्मनीका लेनार्ट कार्ल, सेनेगलका इब्राहिम म्बाये, एक्वाडोरका केन्ड्री पाइज, मोरोक्कोका वाउक बुआडी, आइभोरी कोस्टका यान डिओमान्डे, पोर्चुगलका जोआओ नेभ्स र अर्जेन्टिनाका निको पाजजस्ता युवा प्रतिभा चर्चामा छन्।
यी खेलाडीहरूले आ–आफ्नो क्लबमा आक्रमण र मिडफिल्डमा चमक देखाइरहेका छन्। विश्वकपमा उनीहरू नयाँ युगको कथा लेख्ने तयारीमा छन्, जहाँ पुराना लिजेन्डपछि नयाँ पुस्ताले मैदान कब्जा गर्नेछ।
फुटबलको भविष्य उनीहरूको प्रदर्शनमा निर्भर रहनेछ र विश्वले उत्सुकतापूर्वक हेर्नेछ। २०२६ विश्वकप रोमाञ्चक बन्नेछ। नयाँ इतिहास लेखिनेछ ।
