News 24 Television
कोशीमा नेविसंघको माग : शिक्षामा २० प्रतिशत बजेट र पेड इन्टर्नसिप

विराटनगर । नेपाल विद्यार्थी संघ कोशी प्रदेश समितिले आगामी आर्थिक वर्ष २०८३\८४ को नीति, कार्यक्रम तथा बजेटमा युवा र विद्यार्थीका मुद्दाहरूलाई प्राथमिकताका साथ समेट्न माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेविसंघ कोशी प्रदेशका अध्यक्ष दोर्ची शेर्पाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विराटनगरमा पुगी ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा गुणस्तरीय, सर्वसुलभ र समावेशी शिक्षा सुनिश्चित गर्नका लागि कोशी प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा विनियोजन गर्न विशेष माग गरिएको छ। 

त्यस्तै, उच्च शिक्षा (स्नातक र स्नातकोत्तर) तहमा अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र रोजगारीको सीप सिकाउने उद्देश्यले प्रदेशका प्रत्येक जिल्लाका सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थानहरूमा पारिश्रमिकसहितको प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्न नेविसंघले जोडदार माग गरेको छ।

मुख्यमन्त्री कार्कीलाई बुझाइएको ध्यानाकर्षण पत्रका मुख्य बुँदाहरू यस प्रकार छन् ।

शिक्षामा लगानी वृद्धि

कुल प्रदेश बजेटको कम्तीमा २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने।

पेड इन्टर्नसिप ।

उच्च शिक्षाका विद्यार्थीका लागि सरकारी कार्यालयहरूमा पारिश्रमिकसहितको कार्यअनुभवको व्यवस्था।

स्टार्टअप र उद्यमशीलता

डिजिटल युग अनुरूप सूचना प्रविधि, नवप्रवर्तन र युवा स्वरोजगारका लागि विशेष नीति तथा कार्यक्रम।

दिवा खाजा कार्यक्रम विस्तार

हाल कक्षा ५ सम्म रहेको दिवा खाजालाई आधारभूत तह ९कक्षा ८० सम्म पुर्‍याउनुपर्ने, महँगी अनुसार रकम वृद्धि र गुणस्तर अनुगमन गर्नुपर्ने।

विपद् पूर्वतयारी

मनसुनजन्य बाढीपहिरोबाट शैक्षिक क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि विद्यालयस्तरमै सचेतना र उद्धार संयन्त्रको सुदृढीकरण।

यातायात भाडा छुट 

विद्यार्थीहरूले पाउने ४५ प्रतिशत यातायात भाडा छुटको व्यवस्थालाई कडाइका साथ स्वतःस्फूर्त कार्यान्वयन गराउनुपर्ने।

अतिरिक्त क्रियाकलाप 

विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद, कला र साहित्य सम्बन्धी अतिरिक्त क्रियाकलापलाई अनिवार्य गर्न कानुनी व्यवस्था र बजेटको प्रबन्ध।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री हिक्मत कार्कीले विद्यार्थी संगठनले उठाएका मागहरू जायज र समयसान्दर्भिक रहेको बताउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्न सकारात्मक पहल गर्ने आश्वासन दिएका छन् । 

उक्त ध्यानाकर्षण पत्रको बोधार्थ नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको कार्यालयलाई समेत दिइएको नेविसंघ कोशी प्रदेशले जनाएको छ।

12-1781080892.jpg
 

12-1781080892.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update