News 24 Television
इलाममा कृषि क्रान्तिः किसानलाई लक्षित नयाँ मार्गदर्शन पुस्तक सार्वजनिक

इलाम । इलामको रोङ गाउँपालिकाले किसानलाई कृषि पेशामा रहिरहन नयाँ कार्यक्रम सुरु गरेको छ । कार्यविधि नै बनाएर देशमा नै पहिलो पटक गुरु किसान छनौट गरिएको हो । गुरु किसान तथा कृषि पेशामा आवद्ध किसानका समस्या समाधान तथा सो पेशामा आत्मानिर्भर बन्न  किसान मार्गदर्शन पुस्तक लोकार्पण गरिएको छ । 

इलामको रोङ गाउँपालिकाले राष्ट्रिय कृषक दिवसको अवसरमा “किसान मार्गदर्शन पुस्तक” लोकार्पण गरेको छ । आधुनिक, व्यावसायिक र वैज्ञानिक कृषि प्रणालीबारे जानकारी दिने उद्देश्यले प्रकाशित पुस्तकमा कृषि उत्पादन, बाली व्यवस्थापन, पशुपालन, रोग–कीरा नियन्त्रण, कृषि प्रविधि तथा बजार व्यवस्थापनका विषय समेटिएका छन् । 

सफल किसानका अनुभव, भविष्यका लागि आवश्यक सतर्कता र कार्यविधिअनुसार छनोट गरिएका १२१ गुरु किसानबारे पनि पुस्तकमा उल्लेख गरिएको छ ।

कृषकलाई आवश्यक ज्ञान, सीप र प्रविधिसँग जोड्न पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । देशमा पहिलो पटक कार्यविधि तयार पारी गुरु किसान छनौट गरिएको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास)को भनाई छ ।

कृषि क्षेत्रको विकास र कृषकको आयस्तर वृद्धि गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् । कार्यक्रममा जनप्रतिनिधि, कृषि प्राविधिक, कृषक र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए ।

सहभागीहरूले पुस्तकलाई कृषकका लागि उपयोगी सन्दर्भ सामग्री हुने बताएका छन् । रोङ गाउँपालिकाले कृषकलाई कृषि जानकारी सहज रूपमा उपलब्ध गराई उत्पादनशीलता बढाउने उद्देश्यले पुस्तक प्रकाशन गरेको जनाएको छ । 

राष्ट्रिय कृषक दिवसका अवसरमा गरिएको लोकार्पणलाई कृषक सशक्तीकरणतर्फको महत्वपूर्ण कदम मानिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update