News 24 Television
सगरमाथा सफल आरोही सुधिज्ञ पन्त र साईत शर्मा सम्मानित

काठमाडौँ । ६ जेठ २०८३ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सफलतापूर्वक आरोहण गरी राष्ट्रको गौरव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा सुधिज्ञ पन्त र साईत शर्मालाई आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडद्वारा आयोजित विशेष समारोहमा सम्मान गरिएको छ । यही जेठ २५ गते सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष सुशीलकुमार अर्यालज्यूको विशिष्ट आतित्यथामा, संस्थाका कर्मचारी, सामाजिक अगुवा, व्यवसायी, परिवारजन तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा आरोहीलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै उहाँको साहस, समर्पण, दृढ इच्छाशक्ति, अनुशासन र चुनौतीपूर्ण परिस्थितिमा समेत लक्ष्यप्रति अडिग रहने क्षमताको उच्च प्रशंसा गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव र पहिचानसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता सफलताले नेपाली युवापुस्तामा आत्मविश्वास, देशप्रेम र उच्च लक्ष्य हासिल गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मानित आरोही सुधिज्ञ पन्त र साईत शर्माले आफ्नो आरोहण यात्राका अनुभवहरू साझा गर्दै हिमाल आरोहणका क्रममा भोग्नुपरेका चुनौती, जोखिम तथा सफलताका क्षणहरूको चर्चा गर्नुभयो । उहाँले आफ्नो सफलतामा परिवार, सहयोगी संस्था, साथीभाइ तथा सम्पूर्ण नेपालीहरूको शुभेच्छा र समर्थनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएकाले पर्वतीय पर्यटन, साहसिक खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा थप योगदान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै, नेपाली पर्वतारोहीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा यस्ता प्रतिभाहरूलाई प्रोत्साहन र सम्मान गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड गर्नुभयो । साथै, आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले भविष्यमा पनि खेलकुद, पर्यटन, सामाजिक तथा राष्ट्रिय गौरवका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूको सम्मान तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update