काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिपक्षीको घेराबन्दीमा परेका छन्। पार्टीभित्रबाट अमरेश कुमार सिंहमात्रैको खरो प्रश्न सामना गरेका अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेको आरोपमा प्रमाणित गर्न चुनौती दिएपनि प्रतिपक्षीले प्रश्नपछि सार्वजनिक जवाफ खोज्ने भन्दै आक्रामक रुपमा संसदीय प्रक्रिया अघि बढाउन थालेका छन्।
करका दर हेरफेरको आरोप पुष्टी गर्न चुनौती दिइरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रतिपक्षीले प्रश्न गरिरहेका छन्, कसको स्वार्थमा करका दर हेरफेर गर्नुभयो? एमालेले संसदमा राजस्व हिनामीना गरेको आरोप लगाउदै संसदीय छानविनको माग गरिरहेको छ।
उसोतः अर्थमन्त्रीले संसदको मानहानी गरेको भन्दै संसदीय छानविन समितिको माग चर्किएको छ। नेपाली कम्युनिस्ट पार्टीले पनि अर्थमन्त्री वाग्लेले सबैका काण्ड एकाएक थाहा छन, खोल्न नपरोस भन्दै चर्को अभिव्यक्ति दिएकोदेखि विभिन्न विषयमा प्रश्न चर्किन पुगेको देखिन्छ।
बिहीबारको संसद बैठकमा अर्थमन्त्री वाग्लेले आफूलाई प्रश्न गर्नेहरुमाथि आक्रोशित शैलीमा काण्ड थाह भएको र विस्तारै खुल्ने भन्दै धम्की नै दिएका थिए।
यसरी चर्चाचर्की नै अघि बढेपछि संसदीय समितिमा समेत प्रश्न उठाउने, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले जवाफ दिने स्थिति बन्न पुगेको देखिन्छ।
अर्थमन्त्री वाग्लेले करका दर हेरफेर जनताको पक्षमा गरेको दाबी गर्दै आएका छन्। यता, चिनियाँ गाडी वीवाईडी आयातमा देखिएको सक्रियता समेत चर्चामा छ। यस्तोमा सरकारले निर्माण गरेको छानविन समिति चोख्याउने अस्त्र बन्ने गरेको भन्दै प्रतिपक्षी दलहरुले संसदीय छानविन समितिको माग चर्काउन थालेका छन्। सरकारमाथिका प्रश्नमा प्रतिपक्षी संसदमा पेचिलो बन्दै अघि बढ्दा सरकारमाथि राजनीतिक अड्चन भने बढ्न पुगेका हुन्।
