News 24 Television
निर्वाचनको तयारीमा ठूला दलहरु, संगठन सुधारदेखि मिसन जागरणसम्म

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले संगठन विस्तार, सदस्यता नविकरण अभियान, महाधिवेशन र जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाएका छन् । सत्ता र प्रतिपक्ष दुवैले आगामी निर्वाचनमा स्थानीय तहमा आफ्नो प्रभाव बलियो बनाउने रणनीतिसहित तयारी थालेका छन् । 

स्थानीय तहको निर्वाचन आउन अब एक वर्ष पनि छैन । स्थानीय तह निर्वाचन ऐनले आगामी २०८४ जेठभित्रै स्थानीय  तहको निर्वाचन गर्नैपर्ने बाध्यता औल्याएको छ । किनकी आगामी बैशाखमा स्थानीय तहमा निर्वाचित पदाधिकारीको पदावधि सकिँदैछ । 

यस्तोमा निर्वाचन आयोगले पनि निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा दलहरुसँग छलफल थालिसकेका छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार स्थानीय तहको निर्वाचन गाउँ सभा र नगरसभाको कार्याकाल सकिन २ महिना अघि नै हुनुपर्ने उल्लेख छ । 

यो  आधारले पनि आगामी फागुनदेखि जेठसम्ममा स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने हुन्छ । निर्वाचन आयोगले सरकारलाई समेत स्थानीय र प्रदेशसभा दुवैको निर्वाचन एकै चरणमा गर्दा मितव्ययीता हुने सुझाव दिँदै आएको छ । यस्तोमा दलहरु भने घोषित अघोषित रुपमा निर्वाचनको तैयारी थालेका छन् । 

कुन दलको कस्तो तैयारी ? 

१ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा : पहिलो महाधिवेशनको चटारो

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अहिले पार्टीको पहिलो महाधिवेशनमा जुटिरहेको छ । रास्वपाले यही असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको हो । 

रास्वपाको वडा, पालिका र जिल्ला अधिवेशन यसअघि नै सकिसकेको छ भने, हाल रास्वपाको प्रदेश अधिवेशन जारी छ । यसरी रास्वपाले सबै तहको महाधिवेशन गरिरहनुलाई स्थानीय तहको पूर्वतैयारी सरह लिन सकिन्छ । किनकी स्थानीय, जिल्ला र प्रदेश तहको महाधिवेशनले नै आगामी निर्वाचनमा कार्यकर्ता परिचालन तथा टिकक वितराणको कार्य गर्नेछ । 

यसअघिको स्थानीय तहको निर्वाचनमा रास्वपा स्थापना नै नभएको अवस्था थियो । तर हाल सत्ता नेतृत्वमै रहेको रास्वपाले स्थानीय र प्रदेश तहमा पनि आफूलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने योजनाको साथ निर्वाचन तैयारीलाई तीव्रता दिइरहेको हो । 

२. नेपाली काँगेसः संगठन सुदृढीकरण र नयाँ सदस्यता अभियान

गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पनि आगामी निर्वाचनलाई नै लक्षित गर्दै पार्टी एक ढिक्का पार्ने रणनीति अपनाइरहेको छ । गत फागुन २१ को निर्वाचन अघि विशेष महाधिवेशन गरेर गगन नेतृत्वमा आएकाले निर्वाचन नतिजा राम्रो आउन सकेन । तर अब भने गगन स्वयम पनि निर्वाचनमा पार्टीलाई एकीकृत पारेर अघि बढ्ने निश्कर्षमा पुगेका छन ।

काँग्रेसले हालै क्रियाशील सदस्यता अध्यावधी तथा नयाँ सदस्याको लागि आह्वान गरेको थियो । यसका अलावा विशेष महाधिवशेनपछि विच्किएका नेताहरुलाई समते एकजुट बनाएर अघि बढ्ने गगनको प्रयास जारी छ । साथै उनी काँग्रेसको नेतृत्व रहेको स्थानीय तहलाई समेत सक्रिय र जनमुखी बनाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिँदै आएका छन् । 

नेपाली काँग्रेस अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको पार्टी हो । यो निर्वाचनमा कुल ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा काँग्रेसले १३ हजार ७७३ सिटमा जित निकालेको थियो । तर सो बेला तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनमा निर्वाचन जितेपनि यो पटक भने कुनै पनि दलसँग गठबन्धन हुने संभावना छैन । जुन कारण पनि आफ्नो शाख जोगाउन काँग्रेसले थप मेहनत गर्नुपर्नेछ । 

३. नेकपा एमालेः ’मिसन जागरण’ र ६ ’ज’ को सिद्धान्त

गत फागुन २१ को प्रतिनिधिसमा निर्वाचनमा नरम्रोसँग पराजय भोगेको नेकपा एमालेले त हाल स्थानीय तह र प्रदेशको निर्वाचनलाई नै लक्षित गरेर ‘मिसन जागरण अभियान’ थालेको छ । यसअघि एमाले अध्यक्ष केपी शार्म ओलीले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै अगामी स्थानीय तहको निर्वाचनको नतिजा सुधार्न केन्द्रीय पदाधिकारी बाहेक सबै केन्द्रीय सदस्यहरुलाई पालिका केन्द्रीत जिम्मेवारीमा पठाएका थिए । 

यस्तैमा एमालेले जनता सँग सम्बन्ध सुधार्न भन्दै मिसन जागरण अभियान थालेको हो । पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा आम जनता एमालेसँग टाढिएको अध्यक्ष ओलीको निश्कर्ष छ । यस्तैमा एमालेले जनतासँग पार्टीको सम्बन्ध सुमुधुर पार्न भन्दै,

–    जनतामा जाऔँ
–    जनताका कुरा सुनौँ
–    जनप्रिय बनौँ 
–    जनसंगठन परिचालन गरौँ 
–    जबजलाई आत्मसात गरौँ 
–    जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहका प्रतिष्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ

लगायत ६ ‘ज’को सिद्धान्त अपनाउने भएको छ । यो अभियानमा जोडिएका नेताहरुको जिम्मेवारी आगामी स्थानीय तहको निर्वाचनसम्म नै रहने जनाइएको छ । एमाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीृकत समाजवादीको गठबन्धन हुँदा पनि दोस्रो ठूलो दल बन्न सफल भएको थियो । तर यो पटकको निर्वाचनमा एमालेलाई अपेक्षित मत प्राप्त गर्न कठिनाइ हुने पक्का छ । जुन कारण पनि एमालेले आफ्नो पक्कड कायम गर्न विभन्न उपाय रचिरहेको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update