इलाम । नेपाली चिया उद्योग संकटमा परेको भन्दै सरकारले समाधानको पहल नगरेकोप्रति व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । वर्सेनि भारततर्फबाट नेपाली चिया रोक्ने काम भइरहेको भन्दै उद्योगीहरुले नेपाली चिया उद्योग नै बन्द गर्नेे चेतावनी दिएका छन् ।
भारततर्फ नेपाली चिया निकासीमा अवरोध हुँदा पनि सरकारले समाधानका लागि पहल नगरेको भन्दै इलामका चिया उद्योगीहरूले उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । विभिन्न निकायमा समस्या राख्दा सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।
किसानलाई चिया खरिदको भुक्तानी गर्न नसक्ने अवस्था आएको भन्दै उद्योगीहरूले आगामी असार १ गतेदेखि चिया उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
भारतीय चिया बोर्डको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चियाको निर्यात प्रभावित भएको उद्योगीहरूको भनाइ छ ।
सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एशोसिएसन नेपालका अनुसार गुणस्तर परीक्षणमा ढिलाइ र अपारदर्शी नतिजाले समस्या बढाएको छ । भारतमा करिब २ लाख किलो चिया रोकिएको तथा नेपालमा ७–१० लाख किलोभन्दा बढी तयारी चिया थन्किएको व्यवसायी बताउँछन् ।
परीक्षणका लागि पठाइएका चियाको नमुना रिपोर्ट महिनौंसम्म नआउने तथा गुणस्तरहीन ठहरिएमा गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था रहेको उद्योगीहरू बताउँछन् । यसले नृेपाली चिया उद्योगी समस्यामा पर्दै आएका छन् ।
निर्यात अवरुद्ध हुँदा उद्योगीहरूले किसानलाई हरियो चियापत्तीको भुक्तानी दिनसमेत नसक्ने अवस्था सिर्जना भएको छ । यसले किसान, व्यवसायी र उद्योगी सबैलाई प्रत्यक्ष असर परेको छ ।
दोहोरो प्रतिवन्ध लगाएको भन्दै सरकारले बिभिन्न बहानामा दुख दिने गरेको उद्योगीहरुको भनाई छ । नेपालबाट भारतले हरियो पत्ति चिया पनि लैजाने गरेको छ । तयारी चिया रोक्ने तर हरियो चिया सरासर लैजाने गरेको व्यवसायीको भनाइ छ ।
समस्या समाधानमा सम्बन्धित निकायबाट प्रभावकारी पहल नभएको भन्दै उद्योगीहरूले २०८३ असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।
उनीहरूले सबै पक्षसँग सहयोग, समन्वय र पहलको आग्रह गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
