इलाम । सूर्योदय अर्थोडक्स टि–प्रोड्युसर्स एशोसिएसन नेपालको आह्वानमा चिया उद्योग बन्द गरेर आन्दोलनमा होमिएका ब्यवसायीको समर्थनमा विहीबारदेखि देशभरका ९९ वटा चिया उद्योगले काम ठप्प पारेका छन् । भारतले नेपाली चियामा अवरोध गरेपछि त्यसको विरोधस्वरुप देशभरका ९९ वटा चिया उद्योग बन्द भएका हुन् ।
गत असार १ गतेबाट सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एशोसिएसनमा आवद्ध ५३ वटा चिया उद्योग बन्द भएका थिए । असार ४ गते अर्थात विहीबारबाट इलाम र झापाका थप ३० उद्योग एवम् टि एलायन्स नेपालमा आवद्ध, इलाम सहित पाँचथर, भोजपुर र कास्की जिल्लामा सञ्चालित १६ चिया उद्योग समेत बन्द भएको ब्यवसायीको भनाई छ ।
भारतको बाटो भएर तेस्रो मुलुक समेत निर्यात भइरहेको नेपाली चिया भारतीय टि बोर्डकै बिभिन्न बहानामा संकटमा परेको भन्दै बिहिवारदेखि ९९ वटा चिया उद्योग बन्द भएका हुन् । नेपाली चिया निकासीमा अवरोध गर्दा सरकारले कुनै पहल कदमी अगाडी नबढाएको भन्दै चिया उद्योगी आन्दोलनरत छन् ।
सबै पक्षसमक्ष हार गुहार माग्दा पनि कसैले नसुनेको र आफ्ना माग सुनुवाइ नभएको भन्दै भएको नेपाली चिया उद्योगीहरुले तत्काल समस्याको समाधान खोज्न आग्रह समेत गर्दै आएका छन् । एक गतेबाट आन्दोलनरत चिया उद्योगीहरुले ¥याली सहित कोणसभा एवम् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आन्दोलन गरिरहेका छन् । विहीबार जिल्ला प्रशासन कार्यालय इलाममार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युरका कारण नेपाली चियाको निर्यात प्रभावित भएको उद्योगीहरुको भनाई छ । तर तयारी चिया रोकिएको भएपनि हरियो चिया भने भारततर्फ निकासी भइरहेको छ । नेपाल–भारत सीमा इलामको पशुपतीनगरबाट हरियो पत्ति वर्षाैदेखी निर्यात भइरहेको र भारतले गुणस्तर हेरेर नेपाली हरियो चियालाई बाहिरी मुलुक निर्यात गरिरहेको छ । तर तयारी चिया मात्र भारतले रोकेको उद्योगीहरुको भनाई छ ।
हाल नेपाली चिया उद्योगीले तयार पारेको भारततर्फ निर्यात गरिएको करिब २ लाख किलोग्राम तयारी चिया भारतीय गोदाममा रोकिएको र नेपालका उद्योगहरूमा ७ देखी १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएको बताइएको छ । यो विषय संसदमा समेत उठेको छ । विपक्षी दलका सांसदहरुले सरकारले चिया उद्योगीको समस्या समाधानमा सरकार गम्भिर नबनेको आरोप लगाएका छन् ।
यता, तत्काल चिया क्षेत्रको समस्य समाधान नहुने हो भने चिया किसान सहित यसमा आवद्ध ६० हजारभन्दा बढि मजदुर र उद्योगी झनै मारमा पर्ने देखिन्छ । यसका लागि सरकारले भारतसँग संवादका साथै तेस्रो मूलुकमा समेत चिया निर्यातका लागि विकल्प खोज्नु पर्छ भने चियाँको गुणस्तर मापनका लागि देशभित्रै प्राविधिक तयारी समेत गरिनुपर्छ ।
