गण्डकी । फेदीखोला गाउँपालिकाको पहिलो ‘मौरी तथा मह मेला’ले मह उत्पादन, कृषि प्रवद्र्धन र अर्थतन्त्रलाई जोड्दै मौरीपालन व्यवसायको विकास, बजार विस्तार र कृषक आत्मनिर्भरताको सन्देश दिएको छ । मेलामा किसानहरुले अनुभव आदानप्रदानदेखि बजार विस्तारका लागि नेटवर्क विस्तारसम्मको अवसर पाएका छन् ।
स्थानीय महको प्रयोग, स्वास्थ्य, कृषि प्रवद्र्धन र आर्थिक आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले स्याङ्गजाको फेदीखोला गाउँपालिकामा पहिलो पटक ‘मौरी तथा मह मेला’ आयोजना गरिएको छ । मेलाले मौरीपालन व्यवसायको विकास, उत्पादन तथा बजार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कृषकबीच अनुभव आदान–प्रदान, प्रविधि हस्तान्तरण र बजार पहुँच विस्तारका साथै मौरीपालनमार्फत छिट्टै आयआर्जन गरी आर्थिक स्वावलम्बन बढाउन मेला उपयोगी हुने विश्वास गरिएको छ ।
मह स्वास्थ्यका लागि लाभदायक भएकाले यसको उत्पादन र माग उच्च छ । नेपाली महले अन्तर्राष्ट्रिय बजारसमेत पाएको छ । मौरीपालनबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय कृषकहरूको आकर्षण यसतर्फ बढ्दो छ ।
मौरीपालनमा सीप र इच्छाशक्ति आवश्यक भएकाले कृषकलाई व्यावसायिक बनाउन तालिम, गोष्ठी, अन्तक्र्रिया र मेला आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बताउँछन् ।
मेलाले स्थानीय उत्पादनको बजारीकरण, कृषक आत्मनिर्भरता, कृषि प्रवद्र्धन र प्रविधि जानकारीमार्फत कृषि उत्पादनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
