काठमाडौँ । सत्तारुढ दल रास्वपाले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तैयारी तीव्र पारेको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा आयोजना हुँदैछ । जसका लागि रास्वपाले सम्पूर्ण तैयारी गरिरहेको हो । पार्टीको केन्द्रीय समति बैठक समेत शनिबार साँझ भरतपुरमा बस्दै छ । जुन बैठकले पार्टीको विधान पारित गर्ने जनाइएको छ ।
रास्वपाको यो महाधिवेशनले एक सभापति, एक वरिष्ठ नेता, ३ उपसभापतिसहितका पदाधिकारी छान्नेछ । यस्तै रास्वपामा हाल २५ सदस्यीय सचिवालय छ । महाधिवेशनपछि सचिवालय सदस्य संख्या ३३ बनाउने तैयारी भइरहेको छ । त्यस्तैगरी सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्यसहित यसको संख्या ५१ पु¥याइने तयारी पनि गरिरहेको छ । त्यस्तै केन्द्रीय पदाधिकारी १३ बाट १९ र केन्द्रीय समितिको संख्या १२९ बाट (सात प्रदेशसहित) १५८ पु¥याउने तयारी पनि भइरहेका छन् । सभापतिबाट मनोनित बाहेक सबै केनद्रीय सदस्यहरुको चयन समेत यही महाधिवशेनले गर्नेछ । यसका लागि सकेसम्म सर्वसम्मत नभएमा निर्वाचन हुने पक्काजस्तै छ ।
रवि र बालेन सर्वेसर्वा !
आगामी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैगर्दा प्रमुख पद महामन्त्रीमा धेरैको नजर गरेको छ । तर वरिष्ठ नेता र सभापति पदमा भने निर्वाचन हुने देखिँदैन । पार्टीका संस्थापक सभापति रवि लामिछानेल नै पहिलो राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा सभापति चयन हुनेछन् । उता प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहसँग पनि प्रतिस्पर्धा गर्ने कोही हुने छैनन् । रास्वपाको बुधबार बसेको सचिवालय बैठकले नै सभापति र वरिष्ठ पदमा निर्वाचन नहुने संकेत गरेको छ ।
मुख्यतः रास्वपा निर्वाचन अघि मात्रै जोडिएको शक्तिहरुलाई एकीकृत गर्न पनि यो महाधिवेशन महत्वपूर्ण हुनेछ । जुन कारण पनि सभापति रवि लामिछाने पहिलो राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशन भनेर व्याख्या गर्न चाहन्छन् । हालैको पार्टी बैठकले विधानमै समेटेर बालेनलाई वरिष्ठ नेता बनाउँदैछ । बालेन रविपछि दोस्रो तहको नेताको हैसियतमा रहनेछन् ।
उपसभापति र महामन्त्रीमा निर्वाचन !
रास्वपामा सभापतिपछि उपसभापतिको वरियता अघि रहन्छ । यो कारणले उपसभातिलाई पार्टीको भावी सभापतिको रुपमा पनि लिइने गरेको छ । तसर्थ उपसभापतिमा धेरै नेताहरुको नजर परेको छ । अर्कोतर्फ महामन्त्रीले रास्वपाको इन्जिनको रुपमा भूमिका खेल्ने हुनाले पनि यो पदमा धेरेका हानाथाप रहेने पक्का छ । किनकी रास्वपाको विधानमा महामन्त्रीलाई केन्द्रीय कार्यालय सञ्चालन, दैनिक कार्यहरुको व्यवस्थापन, समन्वय, केन्द्रीय समिति, कार्य सम्पादन समितिको बैठक तयारी गर्ने, निर्णय कार्यान्वयन तथा अभिलेखीकरण गर्नेसम्मको अधिकार दिएको छ । यस्तोमा रास्वपाको महामन्त्री बन्न धेरै नेताहरुले आकांक्षा राखिरहेका हुन् । तसर्थ शक्तिशाली पार्टीको महामन्त्री को बन्छ ? भन्ने कौतुहलता बाहिरी रुपमा पनि बढ्दो छ ।
उपसभापतिको दौडमा को–को ?
रास्वपाको विधान अनुसार पार्टीमा ३ उपसभापति रहने व्यवस्था छ । तर हाल स्वर्णिम वाग्ले मात्रै उपसभापति छन् । गत वर्ष विधान परिमार्जन गरेर ३ उपसभापति रहने व्यवस्था बनाइएपछि डीपी अर्याल र स्वर्णिम वाग्ले मात्रै उपसभापति थिए । अर्को एक महिला उपसभापति चयन हुन सकेको थिएन । उपसभापतिमध्येका एक डीपी सभामुख बनिसकेका छन् । यो कारणले आगामी महाधिवशनले एक महिलासहित ३ उपसभापति निर्वाचित गराउने छ । यो पटकको महाधिवेशनमा स्वर्णिम वाग्लेसहित, परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, कानूनमन्त्री सोविता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, प्रधानमन्त्रीको सचिवालय हेरिरहेका असिम साह, समीक्षा बास्कोटा, लिमा अधिकारी, तोसिमा कार्की लगायत नेताहरु उपसभापतिको दौडमा छन् ।
महामन्त्रीमा क–कसको नजर ?
रास्वपामा महत्वपूर्ण पद मानिएको महामन्त्रीका लागि पनि धेरेले दावी गर्ने देखिन्छ । हाल यो पदमा कविन्द्र बुर्लाकोटी र भूपदेव शाह छन् । यी नै दुई पात्र फेरी महामन्त्रीमा दोहोरिने चाहनामा व्यक्ति गरिरहेका छन् । तर उनीहरुका अलावा अन्य नेताहरु पनि महामन्त्री बन्ने तीव्र आकांक्षमा रहेका छन् । जसमा प्रभावशाली नेताहरु विपिन आचार्य, दीपक बोहोरा, मनिषा झा, हरि ढकाल, यज्ञमणी न्यौपाने लगायत नेताहरु महामन्त्रीको आकांक्षा पेश गरिरहेका छन् । यो आधारले महाधिवेशनमा सभापति र वरिष्ठ नेताका लागि निर्वाचन नहुने भएपनि उपसभापति र महामन्त्री पदमा भने तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।
