काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आईतबारबाट चितवनमा शुरु भएको छ । चितवनको भरतपुरमा भव्यरुपमा सुभारम्भ भएको महाधिवेशनमा देशभारका हजाराँै प्रतिनिधिसहित ठूलो संख्यामा कार्यकर्ता उपस्थित भए । रास्वपाले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका लागि अन्य दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालगायत दलका नेतृत्वलाई विशिष्ट अथितिको रुपमा निमन्त्रणा गरेको थियो । यद्यपि धेरैजसो दलको नेतृत्व रास्वपाको महाधिवेशनमा सहभागी भएपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सामेल भएनन् ।
हर्क साम्पाङद्वारा महाधिवेशन बहिस्कार !
नयाँ दल भएर पनि श्रम संस्कृति पार्टीले भने रास्वपाको महाधिवेशन बहिस्कार गरेको छ । सबैजसो दलका नेतृत्वहरु आँफै सहभागी नभएपनि आफ्ना प्रतिनिधि पठाएर महाधिवेशनमा उपस्थिति दर्शाएका छन् । तर नयाँ दल भएर पनि श्रम संस्कृति पार्टीले भने कुनै पनि प्रतिनिधि नपठाएर रास्वपाको महाधिवेशन बहिस्कार गरेको देखिन्छ । श्रम संस्कृति पार्टीले यअसघि रवि लामिछानेले भारतबोट फर्किए लगत्तै बोलाएको सर्वदलिय बैठक पनि बहिस्कार गरेको थियो । बालेन शाहले संसदमा बोलेको सीमा सम्बन्धी विवादित अभिव्यक्ति नसच्याएको भन्दै हर्क रास्वपामाथि रोष प्रकट गरिरहेका छन् । यस्तैमा उनले यसअघि नै महाधिवेशनको सम्बन्धमा निम्तो आएपनि अभिव्यक्ति नसच्याएको भन्दै सो निम्तो अस्वीकार गरेको प्रष्ट पारेका थिए ।
महाधिवेशनमा को–को सामेल भए ?
रास्वपाले सुभकामना मन्तव्यका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतृत्वलाई बोलाएकोमा नेपाली काँग्रेसको तर्फबाट गगन थापा आँफै सुभकामना दिन चितवन पुगेका छन् । उनले आईतबार बिहानै सामाजिक संजालमार्फतसमेत रविलाई सम्बोधन नै गरेर रास्वपाको महाधिवशेन सफल होस् भनेर शुभकामना दिएका थिए । सुरुमा चितवन नजाने मनस्थिति बनाएका गगनले अन्तिम चरणमा निर्णय बदलेका थिए । प्रमुख प्रतिपक्षी दलको नेता भएकै कारण पनि गगन चितवन पुग्नुलाई सकारात्मक लिइएको छ । रास्वपा र काँग्रेसबीचको भावी सहकार्यलाई सहज बनाउनसक्ने विश्लेषण हुन थालेका छन् । अर्कोतर्फ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि रास्वपाको महाधिवेशनका लागि चितवन पुगेका छन् ।
उता एमालेका तर्फबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र नेकपाका तर्फबाट वर्षमान पुन चितवन पुगे । यस्तै प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेका मधेशी दलका नेताहरु सीके राउत र उपेन्द्र यादव पनि महाधिवेशनका लागि चितवन पुगे ।
रवि–गगन सम्बन्ध सुधारको बाटो खुल्दै !
रास्वपाको यो महाधिवेशनले विगत लामो समयदेखि चिसिएको रवि–गगन सम्बन्ध सुधारको बाटो पनि खोलेको छ । विगतमा सहकारी ठगी प्रकरणको मुद्धाकै कारण रास्वपा सभापति रविसँग काँग्रेससभापति गगन थापाको सम्बन्ध चिसिएको थियो । तर रविको निमन्त्रणालाई स्वीकारेर गगन आज चितवन पुग्नुलाई दुई नेताको सम्बन्ध सुधारको बाटोमा जानसक्ने व्याख्या गर्न थालिएको छ । गगनले चितवन जानुअघि नै फेसबुकमा स्टाटस लेखेरै रविको संगठन निर्माण र नेतृत्व कौशलताको प्रशंसा गरेका थिए । यसपछि पार्टीको महाधिवेशनमै सहभागी भएर गगनले रास्वपाप्रति देखाएको राजनीतिक संस्कारले दुई नेताबीचको सम्बन्ध भविष्यमा सुमुधुर भएर जाने अनुमान गर्न थालिएको छ ।
