काठमाडौँ। शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्याउने दुई चर्चित खेल व्यक्तित्वलाई 'SCSMF Sports Award 2026' बाट सम्मानित गरेको छ।
मंगलबार काठमाडौँको कमलादीस्थित होटल रोयल सिंगीमा आयोजित विशेष समारोहमा बरिष्ठ बक्सिङ खेलाडी एवं ओलम्पियन उमेश मास्के र स्टार क्रिकेटर सन्दीप लामिछानेलाई सम्मान गरिएको हो। पुरस्कार स्वरूप दुवै जनालाई जनही रु २,५०,००० (दुई लाख ५० हजार) नगद र कदरपत्र प्रदान गरियो। सन् १९८० र १९८४ को ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका मास्केलाई बक्सिङ खेलको विकास, प्रवर्द्धन र संघको पूर्व नेतृत्वमा रहेर पुर्याएको आजीवन योगदानको कदर गर्दै सम्मानित गरिएको हो।
उता एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा विश्वकै सबैभन्दा छिटो २०० विकेट लिने ऐतिहासिक विश्व कीर्तिमान कायम गरेको तथा नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै लामिछानेलाई पुरस्कृत गरिएको हो। देश बाहिर रहेका सन्दीपको तर्फबाट काठमाडौँ जिल्ला क्रिकेट संघका सचिव किरण श.ज.ब. राणाले पुरस्कार ग्रहण गरेका थिए।
नेपाली खेलकुदका युगपुरुष स्व. शरद चन्द्र शाहाको सम्झनामा स्थापित यस फाउण्डेसनले खेलकुद क्षेत्रमा पुरानो र नयाँ पुस्ताको योगदानलाई कदर गर्ने उद्देश्यले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ। यसअघि पहिलो संस्करणमा बैकुण्ठ मानन्धर र एरिका गुरुङ तथा दोस्रो संस्करणमा राजुकाजी शाक्य र अरुणा शाही सम्मानित भइसकेका छन्।
