News 24 Television
गृहमन्त्रीको बदलियो कार्यशैली, धरपकड छाडेर अनुमगनतर्फ !

काठमाडौँ । दोस्रो पटक गृहमन्त्री बनेका सुधन गुरुङले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गरेका छन् । सुधनले अघिल्लो पटक गृहमन्त्री हुँदा हाइप्रोफाइल पक्राउ र उनीरुमाथि अनुसन्धानको विषयलाई प्राथमिकता दिएका थिए । तर यो पटक उनले हाइप्रोफाइल पक्राउ भन्दा पनि सरकारी जग्गाको फिर्ती, प्राशासनिक चुस्तता र सीमामा हुने अवैध गतिविधिको नियन्त्रणलाई बढी प्राथमिकता दिएका छन् । 

गृहमन्त्री सुधन असार २० गते अकस्मात विराटनगर विमानस्थल पुगेका थिए । पूर्वसूचनाविदै एक्कासी विराटनगर पुगेका उनले सुरुमा जिल्ला प्रशासन कार्यालयसहित केही सुरक्षा निकायकै कार्यालयको निरीक्षण गरे, भने त्यसपछि उनी कोशी प्रदेशका विभिन्न सीमा नाकाहरुको अवलोकनमा पुगेका छन् ।  यसक्रममा जोगबनीसहितका सीमानाकामा पुगेका उनले तस्करी, लागुऔषध र चोरी पैठारीको नियन्त्रणका गर्न सुरक्षा निकायलाई निर्देशन छन् । यति मात्रै होइन, गृहमन्त्री गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्नसमेत निर्देशन दिएका छन् । आइतबार अनुगमनकै क्रममा कोशी अस्पताल पुगेका सुधनले अस्पतालको जग्गा कब्जा गरेर सञ्चालन भइरहेका संघसंस्था र पसललाई सात दिनभित्र खाली गर्न अल्टिमेटमसमेत दिएका हुन् ।

यसअघि अघिल्लो साता पनि सुधन पूर्वजानकारीविनै मधेश प्रदेशका विभिन्न सीमा क्षेत्रमा पुगेका थिए । चितवनमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सामेल भएर उतैबाट मधेश पुगेका उनले बारा, पर्साका सीमा नाकाहरूको निरीक्षण गरे । सो क्रममा उनले सीमा नाका र त्यस ठाउँहरूबाट हुने अवैध भन्सार छली तथा तस्करीबारे स्थानीयसँग जानकारी लिएर काठमाडौं फर्किएका थिए । यी केही तत्थ्यले पनि सुधन अघिल्लो पटक भन्दा फरक रणनीतिमा अघि बढेको देखिन्छ । 

पहिलो चरणमा को–को पक्राउ परेका थिए ? 

पहिलो चरणमा सुधनले गृहमन्त्री भएकै दिनदेखि हाइप्रोफाइल नेताहरुलाई तार्गेटमा राखेर नियन्त्रण अभियान चलाएका थिए । सो बेला उनले पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्री तथा पूर्व सांसदहरुलाई नै पक्राउ गरे । मुख्यतः उनले जेनजी आन्दोलनमा दमन गरेको प्रतिवेदनको आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरे। यस्तै सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का, बालश्रम शोषणको आरोपमा नेकपा एमालेकी नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा, जेनजी आन्दोलनकै प्रकरणमा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी 
(सीडीओ) छवि रिजाल, सम्पत्ति सुद्धिकरण मुद्धामा व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पनि पक्राउ परे । तर यी पक्राउ परेका सबैजसो हाइ प्रोफाइल पर्याप्त प्रमाण र दावी नपुगेको भन्दै अदालतको आदेशमै छुटेका छन् । 

दोस्रो चरणमा विष्णु र कर्मा छिरिङ मात्रै ? 

दोस्रो चरणमा पनि गृहमन्त्रीले हाइप्रोफाइलमाथि एक्सन शो गर्न चाहेका थिए । तर यो पटक उनको जालमा हाइप्रोफाइल विष्णु पौडले र कर्मा छिरिङ शेर्पा मात्रै परेका छन्। पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले सम्पत्ति सुद्धिकराण्को मुद्धामा पक्राउ गरेको छ । उनलाई प्रहरीले असार ८ गते पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला पक्राउ गरेको थियो । उनकोे शेयर र सम्पत्ति शंकास्पद देखिएको भन्दै अनुसन्धानका लागि पक्राउ परेका उनी अझै हिरासतमै छन् । उता अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ पनि ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसूरमा पक्राउ परेका छन्  । दोस्रो चरणमा गृहमन्त्री बन्दा सुधनले नारायणहिटी दरबारहत्या काण्ड र निर्मला पन्तको हत्या प्रकरणमा पनि अनुसन्धान गर्ने घोषणा गरेका छन् । यद्यपि यी दुवै घटनाको अनुसन्धानका लागि अझैसम्म औपचारिक कदम थालिएको छैन ।

किन रोकियो हाइप्रोफाइल पक्राउ मिसन ?

वर्तमान सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणा देउवालाई पनि पक्राउ गर्ने प्रयास गर्दै आएको छ । तर अदालतको आदेशका कारण उनीहरु पक्राउ पर्न भने सकेनन् । हाल विदेशमा रहेका शेरबहादुर र आरजुलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएपनि इन्टरपोलले उनीहरुलाई पक्राउ गर्न सहयोग गरेन । यहीबीचमा देउवाले सर्वोच्चमा दिएको निवेदनमा आदेश जारी गर्दै सर्वोच्च अदालतले उनीहरुलाई पक्राउ नगर्न भन्यो । उता अघिल्लो पटक पक्राउ परेका अन्य अभियुक्तहरुलाई पनि अदालतले सामान्य शर्तमेै रिहा गर्न आदेश दिएपछि अन्य प्रकरणको मुद्धामा सरकारको दावी कमजोर हुने देखिँदा गृहमन्त्री गुरुङ भने फेरि धरपकडतर्फ केन्द्रीत हुन चाहेका छैनन् । 

 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update