News 24 Television
सभामुखको भूमिकामा फेरि प्रश्न, सत्ता पक्ष र प्रतिपक्षबीच लफडा !

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अनेक पटक लफडा हुँदै आएका छन् । विशेषगरी फागुन २१ पछि बस्दै आएका बैठकहरूमा कुनै न कुनै विषयलाई लिएर सधैं विवाद सृजना हुने गरेको छ । र, यो विवादको केन्द्रमा प्रायः सभामुख डी.पी. अर्याल स्वयं पर्ने गरेका छन् । यसअघि सदनमा उठेको बाँदर नियन्त्रणको विषयदेखि लिएर सांसदहरूले प्रयोग गर्ने शब्दका कारण सत्तापक्ष र प्रतिपक्षबीच बारम्बार नोकझोक चल्दै आएको छ । जेठ १८ गते सत्तापक्षले संसदीय नियमावली बलजफ्ती पारित गराएको भन्दै प्रतिपक्षले सभामुखको भूमिकासन्दर्भमा संसदमै ठूलै लफडा मच्चाएका थिए ।

त्यसबेला सभामुखले सत्तापक्षप्रति स्पष्ट पक्षधरता देखाएको भन्दै विपक्षी दलहरू आक्रोशित बनेका थिए । त्यो दृश्य असोभनीय र संसदको मर्यादाबाहिरको थिया । त्यसयता पनि बजेट र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विषयलाई लिएर सदनमा अनेकन् लफडा मच्चिएका छन् । यस्तोमा हरेक पटक सभामुखको क्षमता, नियत र व्यवहारमाथि प्रश्न उठ्ने गरेको छ । यस्ते लफडाको निरन्तरता बुधबार पनि भएको छ । जहाँ सत्तापक्षर प्रतिपक्ष मात्रै होइन, सभामुख र विपक्षी सांसदहरुको नोकझोक लामै समय चलेको थियो जुन विवादका कारण संसद बैठक नै १५ मिनेट स्थागित गर्नुपर्ने स्थिति आयो । 

बुधबारको बैठकमा किन भयो लफडा ? 

विगतका विवादमा सभामुखले एकपक्षीय ढङ्गले सदन चलाएको र प्रधानमन्त्रीलाई रुलिङ गर्न नसकेको आरोप लागिरहेकै बेला बुधबारको बैठक पनि सोही कारण केही समय प्रभावित बन्न बन्न पुगेको हो । बैठकमा बोल्ने समय पाएका नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखलाई सुरुमै प्रश्न गरे– ‘सभामुख महोदय, कान सुन्नुहुन्छ कि हुन्न ?’

सांसद राईको यो प्रश्नपछि आक्रोशित बनेका सभामुख डी.पी. अर्यालले सभाको मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई बोल्न रोके र माइक काटिदिए । 

यसपछि सभामुखले अर्का सांसद परशुराम तामाङलाई बोल्ने समय दिए । तर, ३ पटकसम्म नाम बोलाउँदा पनि सांसद तामाङ बोलेनन् । उता, एमाले सांसद राजेन्द्र राई भने सभामुखको निर्देशन अटेर गर्दै संसदमै उभिरहे । सभामुखले भने राजेन्द्र राईको अभिव्यक्तिले सभामुखको मानमर्दन भएको कुरा दोहो¥याइरहे ।

विपक्षीको अभिव्यक्तिमा सत्ता पक्षको प्रतिवाद

यस्तोमा सभामुखले बोल्न नदिए पनि एमाले सांसदहरूले उठेर निरन्तर प्रतिवाद गरिरहे । त्यसैबीच, सत्तारुढ दल रास्वपाकी सांसद टीका संग्रौलाले भने प्रतिनिधि सभा नियमावली स्मरण गराउँदै प्रतिपक्षी सांसदहरूको व्यवहारप्रति गम्भीर आपत्ति जनाइन् । उनले कहिले संसदलाई ’लास’ को संज्ञा दिने त कहिले सभामुखलाई नै ’कान सुन्नुहुन्छ कि हुन्न’ भन्दै मानमर्दन गर्ने काम भइरहेको भन्दै टिप्पणी गरिन्।

आफ्नो पूरा अभिव्यक्ति दिन नपाउँदै माइक काटिएका एमाले सांसद राजेन्द्र राईले अभिव्यक्ति सच्याउने सर्तमा पुनः बोल्ने समय त पाए, तर उनले आफ्नो आक्रोश रोक्न सकेनन् । उनले यो तरिकाले पूरा कार्यकाल संसद चलाउन नसक्ने भन्दै सभामुखको क्षमतामाथि प्रश्न उठाए । 

विवादको मुख्य जड सभामुख नै ? 

सांसद र सभामुखबीचको यो तीखो सवाल–जवाफपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरियो । बैठक पुनः सुचारु भएपछि फेरि राजेन्द्र राईलाई नै बोल्ने समय पाएका थिए ।  जहाँ उनले प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण र बाँदर नियन्त्रणबारे उठाइएको प्रश्नको जवाफ सरकारले किन नदिएको भन्दै प्रश्न प्रश्न गरेका थिए । कान सुन्नु हुन्छ कि नाई भनेर सुरु गरिएको उनको आशाय पनि यही विषयसँग सम्बन्धित देखिन्छ । 

मुख्यतः एमालेले गत जेठ महिनामा प्रधानमन्त्रीले संसद बैठकमै ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रियता र सार्वभौमिकतामाथिको गम्भीर प्रश्न भएको भनेर सदनबाटै यसको जवाफ माग गर्दै आएको छ । तर प्रतिपक्षको माग हुँदाहुँदै पनि सभामुखले सदनमा प्रधानमन्त्रीलाई रुलिङ गर्न सकेका छैनन् । अर्कोतर्फ संसद नियमावली अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था छ । तर, सभामुखले यो कार्यक्रमको व्यवस्थापन पनि गर्न सकिरहेका छैनन् । 

संसद नियमावलीमै व्यवस्था भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर र सांसदहरूले उठाएका गम्भीर सवालमा सभामुख गम्भीर हुन नसक्दा नै संसद पटक–पटक लफडा र विवादको अखडा बन्ने गरेको देखिन्छ ।
 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update