काठमाडौँ । रास्वपाले पाएको अभूतपूर्व जनादेशसँगै नागरिकमा आशा र उत्साह व्याप्त थियो । तर बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको तीन महिनामै उक्त आशामा तुषारापात हुनुका साथै नागरिकस्तरमा निराशा र असन्तुष्टि चुलिन थालेको छ । सुकुम्बासीलाई अमानवीय तरीकाले उठिवास लगाउँदा होस् या जनताका आधारभूत आवश्यकता विषयमा कर लगाउँदा होस्, उद्योगी–व्यवसायीमाथि धरपकड हुँदा होस् या अव्यावहारिक ट्राफिक जरिवानाको विषयमा होस्, सरकारप्रति नागरिक असन्तुष्टि चुलिँदो छ । यसैको पछिल्लो उदाहरहण बनेको छ– पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रकरण । उपचारकै क्रममा उनको मृत्यु भएपछि सरकारप्रति आक्रोशित युवाहरु सडकमा उत्रिएका छन् । उता सदनमा सबैजसो विपक्षी दलका सांसदहरुले सरकारको संवेदनहीनताबारे प्रश्न उठाउँदै आक्रोश व्यक्त गरेका छन् ।
गत भदौको जेनजी आन्दोलनमा समेत सहभागी रहेका गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि ट्राफिक जरिवानाको विवादमा आत्मदाह गरे । जेनजी अगुवा रक्षा बमका अनुसार उनी तिनै आन्दोलनकारी हुन्, जो आफू बाँच्नलायक देश होस् भनेर भदौ २३ गते सडकमा ओर्लिएका थिए । आज त्यही संघर्षका कारण सत्तामा पुगेकाहरुले जनताका समस्या बिर्सिएको बमको आरोप छ । उनी भन्छिन्– ‘तिमीहरूलाई याद रहोस्, यो देश १,००० रुपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको देश हो । ‘देश बनाउँछु’ भन्दै आएकाहरूले सुरुमा त देश बुझ्नुपर्ने देखियो ।’ रक्षा बमले ३५ वर्षको भारी पुराना दललाई बोकाउने रास्वपा समर्थक र बालेनका फ्यानबोईहरूले बालेनलाई ३ वर्षको भारी बोकाउन अब तयार हुनुपर्ने बताएकी छन् । गणेशजस्ताले आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै कारक रहेको उनको ठहर छ ।
संसदमा सांसदहरुले यस विषयलाई गम्भीरतापूर्वक उठाएका छन् । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बालेन्द्र सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरु अर्थात् सम्भ्रान्त वर्गको पक्षमा केन्द्रित रहेको आरोप लगाए । राज्यको यस्तो गरिबमारा निर्णयका कारण आज गणेश नेपाली र उनीहरुजस्ता गरिब नागरिकले मर्नुपर्ने अवस्था आएको उनको जिकिर छ । गरिब, दुःखी र निमुखा नागरिकलाई सरकार आवश्यक भए पनि सरकारले उक्त व्यवहार देखाउन नसकेको उनको दाबी छ ।
नेकपाका राष्ट्रियसभा सांसद नरबहादुर बिष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको र गरिब, दीन–दुःखीका लागि राक्षसजस्तो डरलाग्दो देखिएको आरोप लगाए । सरकारले सुकुम्बासी, दलित, मधेशी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको भन्दै उनले राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको सरकार अहिले राक्षसी बनेको बताए ।
श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले नागरिक जनजीवनसँग जोडिएका संवेदनशील विषयमा सरकार ढुंगाजस्तै मौन भएको भन्दै आलोचना गरिन् । प्रमुख प्रतिपक्ष दल काँग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरिन् ।
सडकमा ओर्लिएका युवाहरुले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको, अव्यवस्थित पार्किङ प्रणाली र चर्को जरिवानाले नागरिकलाई आतंकित पारेको भन्दै आक्रोश पोखे । घटनाका बखत महानगरका कर्मचारीहरू उपस्थित भएर पनि बचाउन पहल नगरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । नागरिक जीवनको रक्षा गर्न सरकार गम्भीर नहुने हो भने आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गरी १० हजार रुपैयाँ जरिवाना तिराएपछि असन्तुष्ट बनेका नेपालीले आत्मदाहको बाटो रोजेका थिए । यसअघि थापाथली र बल्खु लगायत क्षेत्रमा जबरजस्ती सुकुम्बासी बस्तीमा डोजर चलाउँदा समेत दुई जना सुकुम्बासीले आत्महत्या गरेका थिए । कानून पालनाका नाममा राज्यले न्युनतम मानवीय संवेदना बिर्सँदा नागरिकमा निराशा र आक्रोश बढ्दै गएको देखिन्छ ।
