News 24 Television
एक वर्षमा ११ जनाले गरे आत्मदाह प्रयास, ९ जनाको मृत्यु

काठमडौं । देशमा चरम निराशा र मानसिक तनावका कारण आत्मदाह र आत्मदाह प्रयासका दुःखद घटनाहरू शृङ्खलाबद्ध रूपमा बढ्न थालेका छन् । 

गत बिहीबार राजधानीको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाहको घटनाले सडकदेखि संसद्सम्म तताएको छ । 

यो घटना सेलाउन नपाउँदै काठमाडौंकै बुद्धनगरका अश्विन राउतले आत्मदाह गरे । यस्तै सर्लाहीमा पनि अर्का एक जनाले आत्मदाहको प्रयास गरेका छन्।आखिर किन नागरिकहरू यस्तो आत्मघाती र पीडादायी निर्णय लिन बाध्य भइरहेका छन् नागरिक ? 

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहधानी विभाग अगाडि एउटा यस्तो घटना घट्यो,जसले सिंगो मानवता र कानुनी राज्यको उपहास गरेको छ।काठमाडौं महानगरपालिकाका नगर प्रहरीले आफ्नो बाइकमा ह्विल लक लगाइदिएपछि सुरु भएको विवादकै कारण गणेश नेपालीले आत्मदाहको बाटो रोजे । 

शरीरको ५५ प्रतिशत भाग जलेका नेपालीले अन्ततः शुक्रबार बिहान वीर अस्पतालको बर्न वार्डमा अन्तिम श्वास फेरे।उनले मृत्युलाई जित्न सकेनन्,तर राज्य संयन्त्रको निर्ममतामाथि एउटा ठूलो प्रश्नचिन्ह खडा गरेर गए।

घटनालगत्तै बिहीबार रातिबाट नेपाल सरकारले उनको उपचारको जिम्मा लियो।गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री सचिवालयले विशेष चासो देखाउँदै उनलाई दिल्लीको एम्स अस्पताल लैजाने तयारी समेत ग¥यो । 

एयर एम्बुलेन्सको व्यवस्थासहित सबै चाँजोपाँजो मिलायो। तर थप उपचारका लागि कतै लगिएन । प्रश्न उठ्छ– आखिर एउटा युवालाई आत्मदाहको यो भयानक मोडसम्म पु¥याउने परिस्थिति किन बन्यो ? 

भन्नेमा थुप्रै प्रश्नहरु उठेका छन् । घटनापछि सरकारले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । 

समितिको प्रतिवेदनमा केही ठोस कुरा बाहिर आउला

गणेश नेपालीको मृत्यु राज्यको कदमसँग जोडिएर ज्यान गुमाउने पहिलो घटना भने होइन ।गत वैशाखमा सरकारले सुकुम्बासी बस्ती खाली गर्न दुई दिनको मात्र म्याद दिएपछि दुई जनाले ज्यान गुमाएका थिए।थापाथली सुकुम्बासी बस्तीका १७ वर्षीय रविन तामाङ घर भत्किने पीरले मानसिक रूपमा आहत भई घरकै शौचालयमा झुन्डिएका थिए ।

त्यसैगरी बल्खु सुकुम्बासी बस्तीमा डोजर चलिरहेकै दिन ६१ वर्षीय इन्द्रबहादुर राई आफ्नो घर भत्किएको दृश्य सहन नसकी आफू अब नबाँच्ने बताएको केही समयमा बागमती नदीमा मृत फेला परेका थिए।

यहाँ स्मरणीय के छ भने, हाल प्रधानमन्त्री रहेका बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा नै सडक पेटीमा साना व्यापार गरी जीविकोपार्जन गर्ने नागरिकहरू महानगरको अभियानबाट लखेटिएका थिए।२०७९ माघमा इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले संघीय संसद भवनअगाडि आत्मदाह गरी ज्यान गुमाउँदा तत्कालीन मेयर शाहले त्यसलाई राज्यको चरम असफलता भनी व्याख्या गरेका थिए । संयोगवश,त्यो घटना र गणेश नेपालीको घटना दुवै काठमाडौं महानगरपालिकाकै क्षेत्राधिकारभित्र परेका छन् ।

यता गणेशको घटना सेलाउन नपाउँदै सर्लाहीका विवेक मण्डलले आत्मदाह प्रयास गरे। मण्डललाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।उनको अवस्था पनि चिन्ताजनक छ ।८५ प्रतिशत शरीरको भाग जलेका मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।एमएस्सी पढाई पूरा गरेका मण्डल एक बर्ष अगाडि कलेजबाट जागिर छुटयो ।

उनी बेरोजगार बनेपछि आर्थिक अभावले उनमा मानसिक समस्या सुरु भएको थियो । यता शनिबार बिहानै काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउत नाम गरेका व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरे ।

राउतको शरीर ५० प्रतिशत शरिर जलेको थियो ।वीर अस्पतालमा उपचार भईरहेको अवस्था उनको दिउसो मृत्यु भयो ।प्रहरीका अनुसार राउत केही समयदेखि स्वास्थ्य समस्यामा रहेका थिए । 

आत्मदाह प्रयास ११ जना, मृत्यु ९ जना 

आत्मदाह र आत्मदाह प्रयासका घटना आफैंमा संवेदनशील छन्। चालु आर्थिक वर्षको असार २७ गतेसम्म मात्रै देशभर ११ जनाले आत्मदाह र आत्मदाह प्रयास गरेको तथ्याङ्क छ ।प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामा संलग्नमध्ये नौ जनाको मृत्यु भइसकेको छ ।तीन जना भने अहिले उपचाररत छन्।रौतहटमा एक महिला र एक पुरुष, काठमाडौंका चार घटनामध्ये दुईमा महिला र दुई पुरुष, बाँके र रूपन्देहीमा एक÷एक महिला, काभ्रेमा दुई महिला र दाङ र सर्लाहीमा एक÷एक जना पुरुष आत्मदाह प्रयास गरेका छन् । 

तथ्याङ्कअनुसार ११ घटनामध्ये सात घटनामा महिलाले आत्मदाहको प्रयास गरेका छन् भने चार घटनामा पुरुष संलग्न रहेका छन् ।काभ्रे र सर्लाहीमा  भएको घटनाबाहेक अन्य सबै घटनामा संलग्न व्यक्तिको मृत्यु भएको प्रहरी विवरणमा उल्लेख छ।प्रहरीको यो तथ्याङ्क विश्लेषण गर्दा व्यक्ति किन आत्मदाह जस्तो पीडादायी घटनामा तत्पर रहन्छ भन्ने प्रश्न सिर्जना भएको छ ।

गणेश नेपाली, रविन तामाङ र इन्द्रबहादुर राई र विवेक मण्डल,चार फरक परिस्थिति,तर एउटै प्रश्न छाडेर गएका छन।राज्यको नियम कार्यान्वयन र नागरिकको सम्मानबीचको सन्तुलन कहाँ छ ?

सरकारले उपचार खर्च बेहोरेर तात्कालिक संवेदनशीलता देखाए पनि, नीतिगत तहमा,पार्किङ जरिवाना प्रणाली,डोजर अभियानको मानवीय प्रोटोकल, र सुकुम्बासी पुनस्र्थापना योजना लगायतमा ठोस सुधार नआएसम्म यस्ता घटना दोहोरिने जोखिम टरेको छैन।गरिब, असहाय र तल्लो तहका नागरिकले महसुस गर्ने सरकार कहिले बन्छ ? जनजनले प्रश्न गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update