News 24 Television
बालेनको डिसिजन : अर्बौको पूर्वाधार बल्ल प्रयोगमा

कैलाली । मन्त्रिपरिषद्को निर्णयसँगै कैलालीको गेटा अस्पताल अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनेको छ । यससँगै चिकित्सा शिक्षा अध्यापनको बाटो खुलेको छ भने लामो समयदेखि प्रयोगविहीन रहेका अर्बौँ रुपैयाँका पूर्वाधार उपयोगमा आउने अपेक्षा बढेको छ ।
 
कैलालीको गेटा अस्पताल अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनेको छ । मन्त्रिपरिषद्ले अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएपछि चिकित्सा शिक्षा अध्यापनको औपचारिक बाटो खुलेको छ । 

२०७१ सालदेखि करिब ७ अर्ब रुपैयाँको लागतमा ६ सय शैय्याको अस्पताल, शैक्षिक भवन, छात्रावासलगायत ४२ वटा संरचना निर्माण भए पनि नीतिगत जटिलताका कारण अधिकांश पूर्वाधार प्रयोगविहीन थिए । २०८० कात्तिक १ गतेदेखि ५० शैय्याको अस्पताल सञ्चालनमा आए पनि अहिले पनि अधिकांश संरचना उपयोग हुन सकेका छैनन् । 

स्थानीयवासीले ढिलै भए पनि अस्पताल विश्वविद्यालय मातहत ल्याउने सरकारको निर्णयलाई स्वागत गरेका छन् । सरकारले आगामी आर्थिक वर्षका लागि विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिसकेको छ । यससँगै आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित चिकित्सा शिक्षा सुरु हुने अपेक्षा गरिएको छ । यद्यपि शैक्षिक भवन, छात्रावास र अन्य पूर्वाधारको पूर्ण सञ्चालन अझै बाँकी छ । 

कैलाली–५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले गेटा परियोजना सरकारको प्राथमिकतामा रहेको बताउँदै यसले सुदूरपश्चिमको स्वास्थ्य र शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । 

यसअघि नै ओपिडी भवनमा शिक्षण अस्पतालको नामाकरण गरिए पनि मन्त्रिपरिषद्को निर्णयसँगै त्यसले कानुनी मान्यता पाएको छ । लामो समयदेखि अलपत्र रहेका अर्बौँ रुपैयाँका सरकारी पूर्वाधारको सदुपयोग हुने र सुदूरपश्चिममा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको विकासमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update